इराकको ‘रेसिडेन्सी कार्ड’ भएकाले नेपालबाट श्रम स्वीकृति पाउने


काठमाडौँ । वैदेशिक रोजगारीका लागि इराकमा काम गरेकाले श्रम स्वीकृति पाउने भएका छन् । गत शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले इराकको आधिकारिक भिसा र ‘रेसिडेन्सी कार्ड’ भएका नेपािलीलाई श्रम स्वीकृति दिने भएसँगै ३० हजार हाराहारी नेपालीले श्रम स्वीकृति पाउने भएका हुन् ।

विभिन्न माध्यमबाट इराक गई इराकको आधिकारिक भिसामा काम गरिरहेका र घर बिदामा आएर पुनः जान चाहनेलाई सरकारले श्रम स्वीकृति दिने निर्णय गरेको हो । १० पुसमा बसेको मन्त्रिपरिषद् बैठकले इराकमा रहेका नेपालीलाई अभिलेखीकरणमा ल्याउने निर्णय गरेको थियो । यसका लागि श्रम मन्त्रालयले परराष्ट्र र कानुन मन्त्रालयको सहमति माग गरेको थियो । दुवै मन्त्रालयबाट सहमति प्रदान भएपछि निर्णयका लागि मन्त्रिपरिषद् बैठकमा पेस गरिएको थियो ।

यसअघि इराक नेपाल श्रमिकका लागि वैदेशिक रोजगारीका लागि ‘प्रतिबन्धित’ मुलुकको सूचीमा राखिएका कारण त्यहाँबाट फर्किएका श्रमिकले श्रम स्वीकृति पाउन सकेका थिएनन् ।

इराक द्वन्द्वग्रस्त देश भएकाले रोजगारीमा जान उचित नभएको भन्दै सन् २००४ देखि श्रम स्वीकृति दिन रोकिएको थियो । सन् २००४ मा १२ जना नेपाली श्रमिकको चरमपन्थी समूहबाट भएको बीभत्स हत्यापछि नेपाल सरकारले इराक जान पूर्ण प्रतिबन्ध लगाएको थियो ।

इराकमा रेसिडेन्ट कार्ड पाएकाले मात्र नेपालबाट श्रम स्वीकृति पाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता पीताम्बर घिमिरेले बताए । नेपाल सरकार कानुनमा वैध भएर काम गरेका तर नेपालको कानुनमा अवैध भएकालाई वैध बनाउने काम मात्रै गरेको जानकारी दिए । इराकमा जानका लागि नयाँ श्रम स्वीकृति भने नदिइने उनले बताए ।

इराकमा वैध भएर काम गरेका श्रमिकले श्रम स्वीकृति नपाउँदा नेपाल आउँदा रोजगारी गुम्ने डरले लामो समयदेखि जाउआउ गर्न नै पाएका थिएनन् । यस्तो व्यवस्थाले त्यस्ता श्रमिकलाई सहयोग पुग्ने छ ।

नेपालबाट अवैध रुपमा गएका वा प्रतिबद्ध लगाउनुअघि नै इराक पुगेको नेपाली नागरिकहरु होटल, विमानस्थल, दूतावास, तेल–ग्यास कम्पनी, अस्पताल, सपिङ मल, निर्माण क्षेत्र तथा घरायसी काममा नेपालीहरू कार्यरत छन् । तर, श्रम स्वीकृति नलिइकनै गएका उनीहरु सुरक्षा, बीमा तथा सामाजिक सुरक्षाबाट वञ्चित रहँदै आएका थिए ।

 

प्रकाशित मिति: १४ पुस २०८२, सोमबार  १२ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।