पश्चिम नवलपरासीमा व्यावसायिक तरकारी खेतीतर्फ किसानको बढ्दो आकर्षण


पाल्हीनन्दन । पश्चिम नवलपरासीमा व्यावसायिक तरकारी खेतीप्रति किसानको आकर्षण पछिल्ला वर्षहरूमा बढ्दै गएको छ । केही वर्षअघि घरायसी उपभोगका लागि मात्र तरकारी खेती गर्दै आएका किसानहरू अहिले यसलाई आम्दानीको मुख्य स्रोतका रूपमा विकास गर्न थालेका छन् ।

वैदेशिक रोजगारीमा जानुभन्दा स्वदेशमै केही गर्ने उद्देश्यसहित मौसमी तथा बेमौसी तरकारी खेती सुरु गरेको सरावल गाउँपालिका–५ बडहरा निवासी रामद्रश केवटले बताए । सरावल गाउँपालिकाबाट तरकारी खेतीसम्बन्धी आठ दिने तालिम लिएपछि तीन वर्षदेखि व्यावसायिक रूपमा खेती गर्दै आएको केवटको भनाइ छ ।

आफू तरकारी खेतीमा संलग्न भएकै कारण छोरालाई पनि कृषि विषयमा स्नातक अध्ययन गराएको उनले जानकारी दिए । अन्नबालीको तुलनामा तरकारी खेतीबाट बढी आम्दानी लिन सकिने भएकाले काँक्रो, मुला, भन्टा, साग, काउली, खुर्सानीलगायतका तरकारी खेती गर्दै आएको उनले बताए । पाँच कठ्ठा जमिनमा भारतबाट ल्याइएको ‘साहु’ जातको टमाटर खेती गरिएको र घरपरिवारसँगै बसेर वार्षिक करिब छ लाख बराबरको आम्दानी गर्दै आएको केवटले भने ।

पाल्हीनन्दन गाउँपालिका–५ का महेन्द्रप्रसाद गुप्ता विगत २० वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । अन्नबालीको तुलनामा तरकारी खेतीमा आम्दानी बढी हुने भएकाले यसमै संलग्न भएको उनको भनाइ छ । यद्यपि गत वर्ष तरकारीको मूल्य घट्दा करिब डेढ लाखको तरकारी बिक्री गर्दा घाटा बेहोर्नुपरेको गुप्ताले जानकारी दिए ।

त्यसैगरी पाल्हीनन्दन गाउँपालिका–३ निवासी मुकेश हरिजनले रामग्राम नगरपालिका–१७ मा विगत तीन वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । १८ कठ्ठा जमिनमा खेती गरिएको काउलीबाट हालसम्म करिब डेढ लाख रुपैयाँको बिक्री भइसकेको उनले बताए ।

रामग्राम नगरपालिका–१७ पिपरहिया र पाल्हीनन्दन गाउँपालिका–५ गेरमी क्षेत्र कृषि पकेट क्षेत्रका रूपमा विकास गरिएको छ । सरकारले खेतमै विद्युत् पोल गाडेर तार विस्तार गरी कृषि मिटरको व्यवस्था गरेपछि सिँचाइ खर्च सस्तो भएको र थोरै जमिनबाट पनि राम्रो आम्दानी लिन सकिने भएकाले व्यावसायिक तरकारी खेतीप्रति किसान आकर्षित भएको कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीका वरिष्ठ बाली संरक्षण अधिकृत तथा सूचना अधिकारी उमाशङ्कर पौडेलले बताए । जिल्लामा हाल दुई हजार ६०० हेक्टरभन्दा बढी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती भइरहेको छ ।

प्रकाशित मिति: २७ पुस २०८२, आइतबार  १२ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।