राजनीतिक अस्थिरता र बन्द हड्तालले कोरोनाले थलिएको पर्यटन क्षेत्र थप जोखिममा

0
Shares

पोखरा पर्यटन परिषद्ले कोभिड–१९ का कारण सङ्कटको अवस्था भोगिरहेको पर्यटन क्षेत्रमा फेरि बन्द हड्तालजस्ता गतिविधि नगर्न सम्बन्धित सबैमा आग्रह गरेको छ।

परिषद्ले कोभिड–१९ का कारण मुलुकले ठूलो आर्थिक क्षति भोगिरहेको वर्तमान अवस्थामा फेरी राजनीतिक अस्थिरता र बन्द हड्तालजस्ता गतिविधिले थप जोखिम पार्ने हुँदा आन्दोलनको विकल्प खोजेर व्यवसायी मैत्री वातावरण सिर्जना गर्ने राजनीतिक दललाई आग्रह गरिएको हो।

परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “बन्द हडतालका कारण प्रत्येक क्षेत्रका उद्यमी व्यवसायी र विषेशगरी दैनिक ज्यालादारीमा गुजारा चलाउने सर्वसाधारणलाई सबैभन्दा बढी असर परेको छ । त्यसैले बन्द हडताल चक्काजामलगायतका गतिविधि रोक्न परिषद् हार्दिक अपिल गर्दछ ।”

विज्ञप्तिमा राजनीतिक दलहरुले देशको अर्थतन्त्र र सहज जीवनयापनमा भूमिका खेल्दै नागरिकमैत्री, व्यवसायीमैत्री वातावरण सिर्जना गरेर अर्थतन्त्रमा सकारात्मक भूमिका खेल्नुपर्नेमा कोभिड–१९ को महामारीकाबीच विभिन्न खाले आन्दोलन, बन्द हडतालले सम्पूर्ण सर्वसाधारण एवं व्यवसायीलाई थप निराश बनाउँदै लगेको उल्लेख छ।

कोभिड–१९ का बीच पनि चलायमान बन्दै गएको पर्यटन क्षेत्र बन्द हडताल र विभिन्न आन्दोलनले थप नकारात्मक सन्देश जाने भएकाले यस विषयमा राजनीतिक दललाई गम्भीर रुपमा सोच्नसमेत आग्रह गरिएको छ।

यसैबीच परिषद्ले विदेशी पर्यटकलाई सात दिनबाट बढाएर १० दिन क्वारेन्टिनमा राख्ने नियमको पनि विरोध गरेको छ । पटकपटक हुने बन्द हडताल र अव्यवहारिक नीति नियमले खर्बौको लगानी गरेका व्यवसायीमा निराशा छाएको जनाउँदै परिषद्ले सहज र सरल वातावरणको लागि सरकारसँग आग्रह गरेको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।