संगीत क्षेत्रमा नयाँ प्रतिभाका लागि एपीवानमा अर्को मञ्च, सुरु भो ‘द म्युजिकल मेडिसन शो’

0
Shares

अन्तर्राष्ट्रिय स्तरका फ्रेन्चाइज शोको सफलताबाट ख्याती कमाएको एपीवान एचडी टेलिभिजनले संगीत क्षेत्रमा नयाँ प्रतिभाका लागि अर्को मञ्च दिएको छ । सुगम संगीतको क्षेत्रमा नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यले एपीवान टेलिभिजनमा गत माघ १० गते देखि ‘द म्युजिकल मेडिसिन शो’ सुरु भएको हो ।

चर्चित गायक दीपक वज्राचार्य र उनकी सुपुत्री चेरिसा वज्राचार्यले सञ्चालन गर्ने यो शोमा गायन क्षमता भएपनि विभिन्न कारणले अवसर नपाएका प्रतिभाहरुलाई अवसर दिइने एपीवानले जनाएको छ ।

कार्यक्रमका निर्माता एवं एपिवान टेलिभिजनका निर्देशक सुरेश पौडेलले नेपाल आइडल, वुगी वुगी, लोक स्टार जस्ता प्रतिभामा आधारित मञ्च सफल पारिसकेको टेलिभिजनले ल्याएको द म्युजिकल मेडिसिन शो नवप्रतिभाको साझा डबली बन्ने अपेक्षा राखिएको बताए ।

यो कार्यक्रम सुगम संगीतको क्षेत्रमा महत्वपूर्ण अध्याय हुने उनको विश्वास छ ।

तीन भागमा विभाजन गरेर सञ्चालन गरिने कार्यक्रमको पहिलो खण्डमा नयाँ र पाका पुस्ताबीचको विविधता समेट्ने गरिएको छ भने दोस्रो खण्डमा ‘अभावको प्रभाव’ नामक अवसरबाट बञ्चितहरुलाई नयाँ मञ्चमा ल्याउने प्रयासको प्रस्तुति रहने गर्छ । कार्यक्रमको अन्तिम तथा तेस्रो खण्डमा यसकै नाम अनुसार म्युजिकल मेडिसिन भन्ने सेगमेन्ट समावेश गरिएको छ ।

युवापुस्तामाझ निकै लोकप्रिय गायक दीपक व्रजचार्य र चेरिसाको यो प्रस्तुति सांगेतिक दुनियाँका पुराना र नयाँ पुस्ताबीचको पुल बन्ने अपेक्षा समेत गरिएको छ ।
अन्नपूर्ण मिडिया नेटवर्क तथा एपीवानका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले युवा पुस्तामा रहेको प्रतिभा प्रष्फुटन गराउने एपीवानको मानक उद्देश्य अनुसार नै यो कार्यक्रम ल्याइएको बताए । कार्यक्रम मार्फत सांगेतिक क्षेत्रमा नयाँ आयामको खोजी गर्न टेवा पुग्ने उनको विश्वास छ ।

लोकप्रिय कलाकारसँगको सहकार्यमा सन्चालनमा आएको कार्यक्रमले नेपाली टेलिभिजन क्षेत्रमा नयाँ आयाम विकास गरेको एपीवान टेलिभिजनका कार्यकारी उपाध्यक्ष राजेन्द्र शाक्यले बताए । कार्यक्रम प्रत्येक शनिबार बेलुका ९ बजेदेखि १० बजेसम्म प्रसारण भइरहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।