स्वदेशमै बसेर डलर कमाउँदै नेपाली : ५ महिनामा भित्रियो साढे २७ अर्ब


काठमाडौँ । रोजगारीको लागि विदेशिनुपर्ने बाध्यताका बीच नेपाली दक्ष जनशक्तिले स्वदेशमै बसेर उल्लेख्य विदेशी मुद्रा आर्जन गर्न थालेका छन् ।

नेपालीहरुले विदेशमा परामर्श दिएर र प्राविधिक सेवा दिएर मात्रै ठुलो मात्रामा रकम भित्र्याउन थालेका हुन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा परामर्श दिएर र सुचना प्रविधिबाट मात्रै २७ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी आम्दानी भएको छ ।

परामर्श दिएर मात्रै १८ अर्ब १० करोड आम्दानी

राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा व्यवसायिक तथा व्यवस्थापन परामर्श सेवाबाट मात्रै १८ अर्ब १० करोड ४२ लाख रुपैयाँ नेपाल भित्रिएको छ । गत आर्थिक वर्ष २०८१/८२ को सोहि अवधिमा यस्तो आम्दानी १४ अर्ब ५६ करोड ३० लाख रुपैयाँ रहेको थियो । तथ्यांकमा देखिएको यो वृद्धिले अन्तर्राष्ट्रिय स्तरमा नेपाली विज्ञहरुको माग बढ्दै गएको संंकेत गर्दछ ।

परामर्शसँगै सुचना प्रविधि क्षेत्रबाट हुने आम्दानीमा पनि उल्लेख्य रुपमा सुधार आएको छ । तथ्यांक अनुसार कम्प्युटर सेवा मार्फत नेपालले ८ अर्ब २८ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तै दुरसञ्चार र सुचना सेवा क्षेत्रको आम्दानी १० अर्ब १२ करोड ४२ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा कम्प्युटर सेवा मार्फत हुने आम्दानी ६ अर्ब ६२ करोड रुपैयाँ रहेको थियो भने दुरसञ्चार तथा सुचना सेवा क्षेत्रको आम्दानी ७ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो ।

यस्तै अन्य प्राविधिक तथा व्यवसायीक सेवाबाट ९ अर्ब ५५ करोड रुपैयाँ आम्दानी भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा यस्तो क्षेत्रबाट ७ अर्ब २९ करोड रुपैयाँ आम्दानी भएको थियो । यसरी समग्रमा हेर्दा व्यावसायिक सेवाको कुल आम्दानी २७ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको तुलना अवधिमा यस्तो आय २२ अर्ब ७ करोड रुपैयाँ रहेको थियो । यसरी हेर्दा गत आर्थिक वर्षको भन्दा चालु आर्थिक वर्षमा यी क्षेत्रहरुबाट हुने आयमा २५.५ प्रतिशतले वृद्धि भएको छ ।

राष्ट्र बैंकका अनुसार यो अवधिमा नेपालले सेवा क्षेत्रबाट कुल १ खर्ब २ अर्ब ६० करोड रुपैयाँ आम्दानी गरेको छ । यद्यपि सेवा क्षेत्रको खर्च १ खर्ब ३९ अर्ब १३ करोड रुपैयाँ रहेको छ । जसको कारण नेपालको सेवा खाता अझै ३६ अर्ब ५३ करोड रुपैयाँ घाटामा रहेको छ ।

नेपाली प्रविधि क्षेत्रको छाता संस्था (एनएएस–आईटी)का अनुसार नेपालले मुख्य रूपमा सफ्टवेयर विकास, मोबाइल एप निर्माण, र वैदेशिक कम्पनीहरूका लागि आईटी आउटसोर्सिङ मार्फत ठुलो आम्दानी गरिरहेको छ । यसबाहेक आर्टिफिसियल इन्टेलिजेन्सका लागि डाटा प्रोसेसिङ बिजनेस प्रोसेस आउटसोर्सिङ सफ्टवेयरको गुणस्तर परीक्षण र डिजिटल मार्केटिङ जस्ता क्षेत्रमा नेपाली जनशक्तिको उल्लेख्य सहभागिता रहेको जनाएको छ ।

विश्वव्यापी रुपमा डिजिटल मार्केटको ग्लोबलाइजेसन बढेसँगै मानिसले आफ्नै ठाउँमा बसेर काम गर्ने सक्ने भएर यो बढेको हुन सक्ने नेपाल इन्जीनियर संघका अध्यक्ष इन्द्र प्रसाद आचार्यको भनाई छ । उनका अनुसार यतातिर पनि अवसरहरु वृद्धि भएको छ, जसको सदुपयोग नेपालीहरुले पनि बढाउदै लगेका छन् । उनले भने, “पछिल्लो समय नेपाली परामर्शमा गुणस्तरमा पनि सुधार हुँदै गएको कारण विश्वबजारमा सफलता प्राप्त हुँदै गएको छ । साथै अन्य देशको तुलनामा सस्तो हुनुले पनि बढेको हुन सक्छ ।”

अध्यक्ष आचार्यका अनुसार अहिले आइटी क्षेत्रको माग बढी रहेको छ, साथै सिभिल इन्जीनियरिङको क्षेत्रमा पनि माग बढ्दै गएको छ । यसले विश्व बजारमा नेपालीहरु प्रतिस्पर्धामा आएको प्रमाणित गरेको उनको भनाई छ । यसमा थप सुधार गर्नको लागि सरकारले पनि शिक्षा प्रणाली सुधार गरी सैद्धान्तीक मात्रै नभएर व्यवहारिक ज्ञान दिने शिक्षामा जोड दिनुपर्ने र शिक्षाको गुणस्तर सुधार गर्नुपर्नेमा उनको सुझाव छ । तर सरकारले उच्च क्षेत्रको शिक्षामा लगानी नगरेको र अनुसन्धानको क्षेत्रमा पनि त्यति धेरै काम नसकेको उनको आरोप छ ।

आईटी तथा परामर्शदाताको क्षेत्रमा भएको यो वृद्धिको नेपाली अर्थतन्त्रमा अत्यन्तै सकारात्मक र दूरगामी प्रभाव पर्ने अर्थविद्हरु बताउँछन् । वस्तु निर्यातको तुलनामा सेवा निर्यातमा कच्चा पदार्थ आयात गर्नु नपर्ने हुनाले यसबाट प्राप्त हुने डलरको ठुलो हिस्सा देशकै खुद नाफा बन्ने र यसले राष्ट्रिय आय र विदेशी मुद्रा सञ्चितिमा सिधा टेवा पु¥याउने उनीहरुको बुझाई छ । यो प्रगतिले नेपालमा ब्रेन ड्रेन (बौद्धिक पलायन) को समस्यालाई ब्रेन गेनमा बदल्ने अवसर दिएको र दक्ष युवाहरूले स्वदेशमै बसेर अन्तर्राष्ट्रिय स्तरको पारिश्रमिक पाउने विज्ञहरुको बुझाई छ । अर्थतन्त्रलाई परम्परागत कृषि र रेमिट्यान्सबाट आधुनिक ज्ञानमा आधारित अर्थतन्त्र तर्फ लैजान यसले महत्त्वपूर्ण भूमिका खेल्नेछ । यदि सरकारले व्यावहारिक शिक्षा, अनुसन्धान र डिजिटल पूर्वाधारमा लगानी बढाउने हो भने यो क्षेत्र नेपालको अर्थतन्त्रमा दीर्घकालीन रुपमा ठुलो योेगदान पु¥याउने सरोकारवालाहरुको भनाई छ ।

प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार  १२ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।