काठमाडौँ । सुनको मूल्य ऐतिहासिक उचाइमा पुगे पनि नेपालमा सुन आयात बढ्दै गएको छ । आयात बढेपनि मूल्यवृद्धिका कारण कारोबार भने घटिरहेको सुन व्यवसायीहरूले बताउँदै आइरहेका छन् ।
परम्परागत लगानीका लागि तुलनात्मक रुपमा सुरक्षित मानिने सुनप्रति उपभोक्ताको आकर्षण बढेसँगै चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा १८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको भित्रिएको छ ।
भन्सार विभागका अनुसार, पुस मसान्तसम्ममा १८ अर्ब ८३ करोड ३६ लाख रुपैयाँ बराबरको एक हजार ५३ किलोग्राम सुन भित्रिएको छ, जुन परिमाणका आधारमा गत आवको यसै अवधिको तुलनामा ८० प्रतिशत बढी हो ।
गत आवको पुससम्ममा ६ अर्ब ७१ करोड ६ लाख रुपैयाँ बराबरको ५८६ केजी सुन आयात भएको थियो । सरकारले चालु आवको पहिलो ६ महिनामा सुन आयातबाट १ अर्ब ८८ करोड ३३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
पुसमा नै भित्रियो १५० केजी
पुस महिनामा मात्र ३ अर्ब ११ करोड २५ लाख रुपैयाँ बराबरको १५० केजी सुन भित्रिएको छ । जबकी गत मंसिरमा एक केजी मात्र सुन आयात भएको थियो । त्यसैगरी, कात्तिकमा ३०१ केजी, असोजमा ४०० केजी, भदौमा १०१ केजी र साउनमा १०० केजी सुन आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।
असोजको अन्तिम साता नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा वृद्धि गरेर २५ केजी पुर्याएको थियो । सो आधारमा पछिल्लो ६ महिनामध्ये सबैभन्दा धेरै सुन भित्रिएको महिना नै असोज हो ।
सुनको मूल्य अधिक बढ्दा पनि माग भने नघटेको नेपाल राष्ट्र बैंकका सूचना अधिकारी सुमन न्यौपानेले बताए । गत आर्थिक वर्षमा भन्दा चालु आर्थिक वर्षमा सुनको आयात बढेको हो ।
‘चालु आवको अघिल्लो ४ महिनामा सुन आयात उच्च मात्रामा भएको थियो । जसकारण मंसिर महिनामा अगाडि आयात भएको सुनले नै बजारको माग धान्न सक्ने अवस्था थियो । त्यसैले मंसिर महिनामा आयात नगरिएको हो,’ सूचना अधिकारी न्यौपानेले भने ।
उनका अनुसार, बढी सुन आयात हुँदा पनि उपभोक्ताको माग नहुँदा बैंकमा नै स्टकमा रहन्छ । त्यसकारण मंसिर महिना सुनको माग बढी हुने समय भएकाले अगाडीदेखि नै सुन आयात तीव्र रुपमा बढेको थियो । मंसिर महिनामा अगाडीको सुनले नै बजारको माग धानेको थियो । अब माघ र फागुन महिना पनि विहेको सिजन हुँदा सुनको माग बढी हुन्छ । त्यसैले पुस महिनामा सुनको आयात बढेको हो ।
‘सुनको मूल्य अधिक वृद्धि भएपनि नेपाली बजारमा सुनको माग ठप्प भने हुँदैन, केही मात्रा कम हुने हो । विवाहका लागि १० तोलाको ठाउँमा ६/७ तोला त किनिहाल्छन् । यसो हुँदा मूल्य बढ्दा माग नै नहुँने भन्ने हुँदैन ।’ उनले भने ।
सुनको आयात तीव्र देखिए पनि व्यापार भने घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइली बताउँछन् । उनका अनुसार गत वर्षको तुलनामा चालु आवको पुससम्ममा परिमाणका आधारमा सुनको आयात बढी देखिए पनि व्यापार भने घटेको छ ।
सुन आयातको कोटा बढाइएकाले आयात बढेपनि उपभोक्ताहरुको माग घटेको उनले बताए । गत असोजमा केन्द्रीय बैंकद्वारा सुन आयातको कोटा बढाएको छ । यसअघि दैनिक २० किलो सुन आयातको अनुमति पाएका वाणिज्य बैंकहरुले अहिले २५ किलो सुन आयात गर्न पाउँछन् । विश्व बजारमा सुनको मूल्य र माग बढ्दै जाँदा राष्ट्र बैंकले पनि कोटा बढाएको हो ।

सुन आयातको अधिकार वाणिज्य बैंकहरुले पाएका छन् । तर बजारमा माग नहुँदा यसअघि बैंकहरुले सुन आयात नगरेको महासंघका अध्यक्ष रसाइली बताउँछन् । नेपालमा सुन आपूर्ति आयात तथा बिक्री वितरणसम्बन्धी व्यवस्था नेपाल राष्ट्र बैंकले मिलाउँदै आएको छ । सुनको बजार मूल्य निर्धारण भने महासंघमा रहेको मूल्य निर्धारण समितिले गर्ने गरेको छ । बैंकहरुले निर्यातकर्तालाई सुनका गर–गहना निर्यात गर्न प्राप्त अग्रिम भुक्तानी प्रमाणपत्रको आधारमा सुन उपलब्ध गराउने उनको भनाई छ ।
व्यवसायीहरुको माग अनुसार केन्द्रीय बैंकले तोकेको कोटामा सुन आयात गर्ने गरिएका राष्ट्रिय वाणिज्य बैंकका कार्यकारी अधिकृत (सिईओ) देवेन्द्ररमण खनाल बताउँछन् । उनका अनुसार, हरेक वाणिज्य बैंकहरुलाई छुट्टा छुट्टै समयमा सुन आयातको कोटा निर्धारण गरिएको हुन्छ ।
‘नेपालमा सुनको माग सिजन अनुसार बढ्ने घट्ने हुन्छ । विवाहको सिजनमा केही बढी आयात हुन्छ भने अन्य समयमा कम आयात हुने गर्छ । जस कारण कुनै महिना कम आयात हुने र कहिले बढी आयात हुन्छ,’ उनले भने, ‘एकैनाशमा सुन आयात गर्दा उपभोक्ताको माग नहुँदा बैंकमा नै स्टकमा रहन्छ । त्यसैले बजारको माग अनुसार सुन आयात हुने गर्छ ।’
सुनको मूल्य महँगिएसँगै बजारमा सुनको माग घटेको ओम सिद्धकाली ज्वलर्सका प्रकाश श्रेष्ठ बताउँछन् । ‘विवाहको सिजनमा केही मात्रामा व्यापार हुन्छ, अन्य समयमा त व्यापार ठप्प नै हुन्छ,’ उनले भने, ‘मंसिर महिना धेरै व्यापार हुने सिजन हो तर यस वर्ष महँगीले कम व्यापार भयो ।’
उनले ५ तोला सुन बनाउछु भन्ने ग्राहकले पनि ३ तोला मात्र बनाएको बताए । उनका अनुसार, माघ र फागुमा बिहेको सिजन भएकाले केही मात्रामा अडर आएको छ । तर गत वर्षको तुलना एकदमै कम मात्रामा माग भएको छ । उनले भने,‘सुनको मूल्य यसरी बढिरहेको छ की अब नेपालीहरुले सुन बनाउनै नसक्ने भइसके ।’
निरन्तर सुनको मूल्य बढ्दै जाँदा नेपाली बजारमा सुनको कारोबार सन्तोषजनक नरहेको व्यवसायी राजकुमार बराइली बताउँछन् । मुख्य सिजनमा नै सुनको मूल्य आकाशिँदा आफ्नो व्यवसाय नै धरापमा परेको उनको भनाइ छ ।
उनी भन्छन्,‘उपभोक्तासँग पैसा नहुनु तथा मूल्य बढ्नुले धेरै किन्नेहरूले पनि थोरै किन्ने गरेका छन् । पछिल्लो समय सुनको मूल्य आकाशिएपछि नयाँ सुन किन्नेभन्दा पुरानो सुनबाट नयाँ गहना बनाउनेहरु बढी छन् । नेपालीहरुको आम्दानीले सुन किन्ने प्रवृत्ति कम हुँदै गएको हो ।’
एक वर्षमा ८८ प्रतिशतले बढ्यो सुनको भाउ
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, सुन २४ सयले बढ्दा चाँदीमा २९० रुपैयाँको बढोत्तरी
पछिल्ला एक वर्षमा सुनको मूल्य ८८.३७ प्रतिशतले बढेको छ । गत माघ ९ गते प्रतितोला १ लाख ६० हजारमा कारोबार भएको थियो भने हाल माघ ९ गते ३ लाख १ हजार ४०० रुपैयाँ कायम भएको छ । जुन ऐतिहासिक विन्दु हो ।
एक वर्षको अन्तरालमा १ लाख ४१ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकले जनाएको छ ।
अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुन्छ । जब अन्तर्राष्ट्रिय कमोडिटी बजारमा सुनको माग र आपूर्ति बढी प्रभावित हुन्छ, मूल्यमा पनि प्रभावित हुन्छ ।
अन्तर्राष्ट्रिय बजारको आधारमा नेपालमा पनि सुनको मूल्य निर्धारण गर्ने गरिन्छ । अन्तराष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि सुनको मूल्य बढेको हो ।
अमेरिकी केन्द्रीय बैंकको ब्याजदर घटबढ हुने कारणले पनि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उत्तरचढाब बढिरहेको छ । जस कारण नेपालमा पनि सुनको मूल्यले उच्च मूल्यको नयाँ कीर्तिमान बनाइरहेको जानकारहरुको भनाइ छ ।
विश्वभर आर्थिक गतिविधिमा सुस्तता देखिएकाले औद्योगिक तथा अन्य उत्पादन क्षेत्रतर्फ लगानी जान सकेन, सो लगानी पनि सुनमै हुन थालेपछि मागसँगै मूल्य बढेको हो ।












प्रतिक्रिया