काठमाडौँ । एक सातामा नै खाने तेलको मूल्य ५० रुपैयाँसम्म बढेको छ । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन नजिँकिँदै गर्दा व्यापारीले खाने तेलको मूल्य अप्रत्याशित रूपमा बढाउन थालेका हुन् ।
बजारमा अहिले भटमास र सूर्यमुखी तेलको खुद्रा मूल्य प्रतिलिटर २९० देखि ३०० रुपैयाँसम्म पुगेको छ । त्यसैगरी तोरीको तेल प्रतिलिटर ३८० देखि ४०० रुपैयाँमा बिक्री भइरहेको छ । पछिल्लो एक सातामा मात्रै तेलमा लिटरको ४० देखि ५० रुपैयाँसम्म बढेको व्यापारीहरू बताउँछन् । जसले गर्दा उपभोक्ताको भान्सा पनि महँगिन थालेको छ ।
शान्तिनगरस्थित अञ्जन किराना स्टोरका दिपक खड्काले खानेतेलको मूल्य होलसेलमै प्रतिकार्टुन २/३ सय रुपैयाँसम्म बढेर आएको बताए ।
‘तेलको मूल्य कम्पनीबाटै बढेर आएको छ, किन बढेको भन्ने यकिन कारण भने थाहा भएन,’ उनले भने, ‘हामीलाई होलसेलमा नै महँगो परेपछि खुद्रामा झनै महँगो पर्न जान्छ, चुनाव आउँदै गरेको भएर महँगिएको होकी, हरेक पटक चुनाव नजिकिँदै गर्दा हरेक वस्तुको मूल्य बढ्नु स्वभाविक नै बनेको छ । त्यही नै होला ।’
ठूला व्यापारीले भने कच्चापदार्थको भाउ बढेर आएका कारण मूल्यवृद्धि भएको जवाफ दिने गरेको उनले बताए । काठमाडौँ मीनभवनमा बसोबास गर्दै आएकी एक गृहिणीले एक साताअघि प्रतिलिटर २४० रुपैयाँमा किनेको सूर्यमुखी फुलको तेललाई मंगलबार २९० रुपैयाँ तिरेको बताइन् । ‘एक साताअघि मात्रै यही खानेतेलको मूल्य २४० रुपैयाँ थियो,’ उनले भनिन्, ‘एक सातामै एक लिटर तेलमा ५० रुपैयाँ बढेको, कसरी र के कारणले बढ्यो थाहा छैन ।’
नेपाल खुद्रा व्यापार संघका अनुसार हाल सूर्यमुखी फुलको तेल प्रतिलिटर २४० रुपैयाँ रहेको छ । त्यस्तै, भट्मास तेल प्रतिलिटर २२०, काँचो तोरीको तेल २४० र भुटेको तोरीको तेल ३५० रहेको छ । संघले तोकेको मूल्य र खुद्रा व्यापारीले बेच्ने मूल्यमा आकाश–जमिनको फरक देखिन्छ । अहिले बजारमा व्यापारीले सूर्यमुखि र भटमास तेल एकै मूल्यमा बेचिरहेका छन् । त्यो मूल्य पनि पसलपिच्छे फरक–फरक छ ।
व्यापारीहरूले उद्योगीहरूले अस्वभाविक मूल्यवृद्धि गरेको आरोप लगाएका छन् ।जसले गर्दा आफूहरूले पनि भाउ बढाउनुपरेको उनीहरूको भनाइ छ ।
अन्तर्राष्ट्रिय बजारमा डलर महँगो हुँदा आयात गर्दा बढी खर्च लाग्ने भन्दै नेपालका उद्योगीहरूले यसलाई बहाना बनाएर अस्वाभाविक मूल्यवृद्धि गरेको नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले बताए ।
‘सरकार तथा उद्योगीहरू ६ महिनासम्म पुग्ने कच्चापदार्थ वा तेलको स्टक छ भन्छन्, तर अन्तर्राष्ट्रिय बजारमा आज मूल्य बढ्ने वा डलरको भाउ बढ्ने बित्तिकै वस्तुको मूल्य बढाउँछन् । यो किन बढेको हो अनुगमन निकायको चासो छैन,’ उनले भने ।
सरकारको अनुगमन कमजोर हुँदा उद्योगीहरूले पुरानै स्टक रहेको सामानमा पनि नयाँ मूल्य कायम गरेर बजार पठाउने गरेको र यसको प्रत्यक्ष असर उपभोक्ताको भान्सामा परेको उनको भनाइ छ ।
तुलाधरका अनुसार, पछिल्लो समय तेलको मात्र नभई हरेक उपभोग्य सामानहरुको मूल्य बढेको हुन्छ । उद्योगीहरुले ५/६ महिनालाई पुग्ने स्टक छ भन्दा भन्दै पनि मूल्य भने एक्कासी बढ्ने गर्छ ।
यसरी बजारमा भएको अनियन्त्रित मूल्यवृद्धि रोक्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रभावकारी अनुगमन गर्नुपर्ने उनले बताए ।
हरेक पटक निर्वाचनको मुखमा उपभोग्य वस्तुको मूल्यवृद्धि गर्ने गर्छन् । व्यापारीहरूले अन्तर्राष्ट्रिय बजारलाई बहाना बनाएर नेपाली बजारमा कृत्रिम अभाव सिर्जना गरी मूल्य वृद्धि गर्ने गरेको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाको आरोप छ । ‘नेपालमा नै अर्बौँको तेल प्रशोधन गरेर अन्य मुलुकमा निर्यात हुने गर्छ । तर नेपालमा नै अभाव भएको बाहाना देखाउँछन्,’ उनले भने, ‘उद्योगीहरूले सरकारले तोकेको मापदण्ड समेत पालना गरेका छैनन् ।’
सरकारले कुल उत्पादनको २५ प्रतिशत तेल नेपाली बजारका लागि अनिवार्य छुट्याउनुपर्ने नियम बनाए पनि उद्योगीहरूले त्यसलाई बेवास्ता गरिरहेको उनको भनाइ छ ।












प्रतिक्रिया