भारतले नेपाललाई गत वर्षको भन्दा १ अर्ब बढी अनुदान उपलब्ध गराउने


काठमाडौँ । भारतले नेपाललाई उपलब्ध गराउने अनुदानको दायरा बढाएको छ । भारतले आइतबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०२६-२७ को केन्द्रीय बजेटमा नेपाललाई दिने विकास सहायता बढाएको हो ।

यो वर्ष भारतले नेपाललाई ८ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । जुन गत वर्षको भन्दाम १ अर्ब रुपैयाँले बढी हो । आर्थिक वर्ष २०२३-२४ मा भारतले ६ अर्ब ५७ करोड अनुदान उपलबध गराएको थियो ।
त्यसैगरी आर्थिक वर्ष २०२४-२५ मा ७ अर्ब भारु अनुदान दिएको थियो । आर्थिक वर्ष २०२५‍–२६ मा पनि ७ अर्ब भारु नै विनियोजन गरेको थियो ।

त्यसैगरी भारतले बाढी व्यवस्थापन तथा सीमा क्षेत्रमा रहेको रकम मध्ये कोशी र गण्डक परियोजनाको मर्मत तथा बाढी नियन्त्रण कार्यमा खर्च हुने भारतीय बजेटमा उल्लेख छ । त्यसका लागि भारतले ७ अर्ब ९७ करोड भारु विनियोजन गरेको छ ।

भारतले सबैभन्दा धेरै भुटानलाई अनुदान दिएको छ । आगामी आर्थिक वर्षको भारतीय संघीय बजेटका अनुसार भुटानलाई उसले २२ अर्ब ८८ करोड भारु अनुदान दिने घोषणा गरेको छ । त्यसपछि माल्दिभ्सलाई ५ अर्ब ५० करोड, श्रीलंकालाई ४ अर्ब र अफगानिस्तानलाई एक अर्ब ५० करोड भारु विनियोजन गरेको हो ।

यसैगरी, मौरिससलाई दिइने सहयोग ५ अर्ब ५० करोड रुपैयाँ पुगेको छ भने मंगोलियाका लागि अनुदान २५ करोड रुपैयाँ पुगेको छ । यस्तै, भारतले माल्दिभ्सका लागि ५५० करोड भारतीय रुपैयाँ अनुदान दिने भएको छ भने म्यानमारमा ३०० करोड भारतीय रुपैयाँमा अनुदान दिने भएको छ ।

भारतको विदेश मन्त्रालयको समग्र बजेट भने यस वर्ष २२ हजार ११८.९७ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको २० हजार ५१६.६१ करोड रुपैयाँभन्दा केही बढी हो ।

 

प्रकाशित मिति: १९ माघ २०८२, सोमबार  १२ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।