काठमाडौँ । अमेरिका र भारतबीच भएको नयाँ व्यापार सम्झौताले भारतको निर्यातसँगै अर्थतन्त्रमा पनि उत्साह जगाएको छ । नेपालको वैदेशिक व्यापारमा भारतको हिस्सा करिब ६५ प्रतिशत रहेको छ । नेपालले सबैभन्दा बढी निर्यात गर्ने मुलुकको शीर्षस्थानमा भारत रहेको छ भने दोस्रोस्थानमा अमेरिका रहेको छ ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालले कूल १ खर्ब ४२ अर्ब १ करोड ८० लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख गरिएको छ । यो निर्यातमा भारतको हिस्सा ५७ प्रतिशत अर्थात १ खर्ब १५ अर्ब ७३ करोड रुपैयाँ रहेको छ । यस्तै यो अवधिमा नेपालले ९ अर्ब ७६ करोड ३ लाख रुपैयाँको सामग्री अमेरिका निर्यात गरेको छ ।
नेपालबाट १ करोड ३१ लाख ६२ हजार रुपैयाँको चीज, १९ लाख ८३ हजार रुपैयाँको मासु, ११ लाख ३१ हजार रुपैयाँको माछा तथा ८९ लाख ९ हजार रुपैयाँ बराबरको मह निर्यात भन्सार विभागको तथ्यांकमा उल्लेख छ । यस्तो अवस्थामा भारत र अमेरिकाबीच भएको यो व्यापार सम्झौताको असर नेपालमा पनि पर्ने जानकारहरूको भनाई छ ।
सम्झौतामा के छ ?
शुक्रबार सार्वजनिक गरिएको यो नयाँ सम्झौताको फ्रेमवर्क (खाका) अनुसार अमेरिकाले भारतीय सामानमा लगाउँदै आएको ५० प्रतिशतको भन्सार शुल्क (ट्यारिफ) लाई उल्लेख्य रूपमा घटाएर १८ प्रतिशतमा झारेको छ । यसका साथै, रुसबाट तेल खरिद गरेको भन्दै अमेरिकाले भारतमाथि लगाएको २५ प्रतिशत अतिरिक्त कर पनि हटाइएको छ । साथै भारतले निर्यात गर्ने माछाजन्य वस्तु र चीज लगायतमा पनि भन्सार छुटको सहमति भएको छ ।
यो सम्झौताले भारतका लागि अमेरिकी बजारमा सामान पठाउन निकै सस्तो र सजिलो भएको भारत सरकारको भनाई छ । भारतका वाणिज्य मन्त्री पीयूष गोयलका अनुसार यसले भारतीय निर्यातकर्ताहरूका लागि झण्डै ३० ट्रिलियन डलर बराबरको विशाल अमेरिकी बजारको ढोका खोलिदिएको छ । बदलामा भारतले पनि अमेरिकाबाट आउने औद्योगिक सामानहरूमा भन्सार दर घटाउने सहमति गरेको छ । सन् २०२५ फेब्रुअरी १३ देखि लागु हुने गरि गरिएको यो सम्झौताले भविष्यमा अझै ठूलो र विस्तृत व्यापार सम्झौताको बाटो खोल्ने भारतीय पक्षको भनाई छ ।
नेपाललाई हुने फाइदाः डलरको भाउ र महँगीमा राहत
यो सम्झौताबाट नेपाललाई हुने सबैभन्दा ठूलो फाइदा भनेको मुद्रासँग जोडिएको जानकारहरु बताउँछन् । नेपाली रुपैयाँ र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर (पेगिङ) रहेको छ । अर्थात्, भारतीय रुपैयाँ बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो हुन्छ र भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुन्छ ।
अर्थविद् एवम् राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाका अनुसार, अमेरिकाले कर घटाएपछि भारतमा विदेशी लगानी बढ्ने र भारतीय मुद्रा बलियो हुने सम्भावना छ । यदि भारतीय रुपैयाँ बलियो भयो भने डलरको तुलनामा नेपाली रुपैयाँको मूल्य पनि बढ्छ । यसले गर्दा नेपालमा डलरको भाउ घट्नेछ र विदेशबाट सामान आयात गर्दा तिर्नुपर्ने लागत कम हुनेछ । यसले बजारमा महँगी नियन्त्रण गर्न केही हदसम्म सहयोग पुग्न सक्ने अनुमान गरिएको छ ।
नेपाललाई हुने घाटाः निर्यात व्यापारमा ठूलो चुनौती
डलरको मूल्य घटेर केही राहत मिले पनि नेपालको निर्यात व्यापारमा भने यसले ठूलो धक्का पु¥याउन सक्ने विज्ञहरूको चिन्ता छ । व्यापार अर्थविज्ञ पोषराज पाण्डेको भनाई विगतमा अमेरिकाले भारतीय सामानमा ५० प्रतिशत कर लगाउँदा नेपाली सामानहरू (जसमा कर कम थियो) ले अमेरिकी बजारमा प्रतिस्पर्धा गर्न सकेका थिए । तर अब भारतले पनि सस्तो दरमा सामान पठाउन पाउने भएपछि नेपाली सामानहरूले भारतीय सामानसँग प्रतिस्पर्धा गर्न कठिन हुने उनको भनाई छ ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य भन्छन्, “नेपालमा सामान उत्पादन गर्दा लाग्ने खर्च (उत्पादन लागत) पहिले नै निकै बढी छ । हामीले कच्चा पदार्थ चीनबाट ल्याउनुपर्छ र यहाँको श्रम लागत पनि भारतको तुलनामा महँगो छ ।” पहिले भारतलाई ५० प्रतिशत कर लाग्दा नेपाललाई १० प्रतिशत कर भएको कारण मात्र नेपाली उत्पादनले अमेरिकामा बजार पाउने गरेको उनले बताए । भारतको पनि कर घटेर १८ प्रतिशतमा आएपछि विदेशी ग्राहकले नेपाली सामानभन्दा सस्तो र गुणस्तरीय भारतीय सामान नै रोज्ने खतरा बढेको उनको भनाई छ । यसले गर्दा नेपालका उद्योगहरू संकटमा पर्न सक्ने र बेरोजगारी बढ्न सक्ने सम्भावना रहेको विज्ञहरु बताउँछन् ।
इन्धनको मूल्यमा के होला ?
भारतले अहिले रुससँग तेल खरिद गरिरहेको छ । अमेरिकासँग भएको सम्झौता अनुसार भारतले अब अमेरिका र भेनेजुएलाबाट सस्तोमा तेल खरिद गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल टुथ सोसलमा उल्लेख गरेका छन् । यसले भारतको इन्धन लागत पनि घटाउँछ, तर नेपाली उपभोक्तालाई यसको सिधा फाइदा पुग्ने देखिँदैन ।
नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुर भारतले आफूले सस्तोमा तेल किने पनि नेपाललाई बेच्दा अन्तर्राष्ट्रिय बजारको प्रचलित मूल्यकै आधारमा बिक्री गर्ने बताउँछन् । त्यसैले भारतको यो सम्झौताले मात्रै नेपालमा पेट्रोल र डिजेलको मूल्य घट्ने निश्चित नभएको उनको भनाई छ ।
भारत र अमेरिकाबीचको यो व्यापारिक निकटताले भारतलाई ठूलो आर्थिक लाभ दिने भएपनि नेपाललाई भने कुनै फाइदा नहुने जानकारहरू बताउँछन् । नेपालका लागि भने यो सम्झौताले मुद्रा बलियो हुँदा केही राहत मिले पनि निर्यात व्यापारमा ठूलो चुनौती खडा गरेको विज्ञहरुको भनाई छ ।
नेपालले अब अरू देशका सम्झौताको भर पर्नु भन्दा आफ्नै आन्तरिक उत्पादन क्षमता बढाउनु पर्नेमा अर्थविद् थापाको जोड छ । सरकारले निर्यात हुने सामानमा विशेष सहुलियत दिने, उत्पादन लागत घटाउने र कुटनीतिक माध्यमबाट नयाँ बजार खोज्ने काम गर्न नसकेमा छिमेकी देशले पाएको यो व्यापारिक अवसर नेपालका लागि भने घाटाको कारण बन्न सक्ने उनको भनाई छ । नेपालको फाइदाको लागि दूरदर्शी आर्थिक नीति ल्याउन सक्ने नेतृत्व आवश्यक रहेकोमा थापाले जोड दिएका छन् ।












प्रतिक्रिया