नेपालको तेस्रो व्यापारिक साझेदार मुलुक अर्जेन्टिना : अर्बौँको सामान आयात हुँदा निर्यात लाखमा सीमित


काठमाडौँ । मुलुकको वैदेशिक व्यापारमा तेस्रो स्थानमा अर्जेन्टिना रहेको छ । मुलुकले अर्जेन्टिनासँगको व्यापारमा अर्बौँको वस्तु तथा सामान आयात गर्दा निर्यात भने ज्यादै कम अर्थात् लाखमा सीमित रहेको भन्सार विभागको तथ्यांकले देखाएको हो ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा अर्जेन्टिनाबाट ८७ अर्ब ४८ करोड २३ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान आयात हुँदा निर्यात भने २६ लाख ९३ हजार रुपैयाँ बराबरको मात्र भएको छ ।

गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधीमा अर्जेन्टिनाबाट ५७ अर्ब ७० करोड ३२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो भने ३० लाख २७ हजार रुपैयाँको निर्यात भएको थियो । नेपालका प्रमुख व्यापारिक मुलुक भारत र चीन हुन् ।

के के आयात हुन्छ अर्जेन्टिनाबाट ?

नेपालमा अर्जेन्टिनाबाट विशेषगरी सोयाबिन तेलको कच्चा पदार्थ, सूर्यमुखी तेलको कच्चा पदार्थ, मकै, तिल, सीमि, वाइन, चना लगायतका विभिन्न सामानहरु आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख गरिएको छ । विभागको तथ्यांक अनुसार विशेषगरी कच्चा तेलको आयातले अर्जेन्टिनासँगको व्यापारिक सम्बन्ध बढाएको हो ।

चालु आर्थिक वर्षको ९ महिनामा अर्जेन्टिनाबाट सोयाबिन तेलको कच्चा पदार्थ मात्र ७६ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ बराबरको ४७ करोड ४० लाख लिटर आयात भएको छ । जुन अघिल्लो आवको तुलनामा १३ करोड ८३ लाख लिटर बढी हो । अघिल्लो वर्ष सोयाबिनको कच्चा पदार्थ ५० अर्ब ९८ करोड ९६ लाख रुपैयाँ बराबरको ३३ करोड ५७ लाख लिटर आयात भएको थियो ।

त्यसैगरी, ९ महिनाको अवधीमा १० अर्ब ८१ करोड ८ लाख रुपैयाँ बराबरको ६ करोड ९३ लाख लिटर कच्चा सूर्यमुखी तेल आयात भएको छ । ७ करोड ६३ लाख रुपैयाँ बराबरको ७ लाख ७८ हजार किलोग्राम मकै आयात भएको तथ्यांकमा उल्लेख गरिएको छ ।

त्यस्तै, २ करोड ६३ लाख रुपैयाँ बराबरको १ लाख ७१ हजार किलोग्राम तिल आयात भएको छ भने ३ करोड ४० लाख रुपैयाँको सीमि र २६ लाख रुपैयाँ बराबरको विभिन्न ब्राण्डका वाइन आयात भएको विभागको तथ्यांकले प्रष्ट पारेको छ ।

निर्यात के-के हुन्छ ?

नेपालबाट अर्जेन्टिनातर्फ वाद्यवाधनमा साधनहरु, कार्पेट, औषधी, भुजियाँ लगायतका सामानहरु निर्यात हुने गर्छ । चालु आवको ९ महिनाको अवधीमा सबैभन्दा धेरै वाद्यवाधनका साधनहरु निर्यात भएको छ । ९ महिनामा २२ लाख ८३ हजार रुपैयाँ बराबरको एक हजार २५६ वटा वाद्यवाधनका साधनहरु निर्यात भएको छ ।

त्यसैगरी, ४ लाख ५ हजार रुपैयाँ बराबरको ३१ वर्गमिटर कार्पेट, २ हजार रुपैयाँको औषधी र २ हजार रुपैयाँ बराबरको भुजीयाँ निर्यात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

नेपाल र अर्जेन्टिनाबीचको वैदेशिक व्यापार स्पष्ट रुपमा असन्तुलन देखिएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका सूचना अधिकारी कृष्णराज बजगाईँले बताएका छन् । दुवै मुलुकबीच व्यापारिक सम्बन्ध भए पनि त्यो सम्बन्ध मुख्यतः एकतर्फी र आयात केन्द्रित रहेको उनको भनाई छ ।

‘पछिल्ला वर्षहरूको तथ्यांकले नेपालले अर्जेन्टिनाबाट ठूलो परिमाणमा वस्तु आयात गरिरहेको देखाएको छ, तर त्यसको तुलनामा निर्यात ज्यादै न्यून छ,’ उनले भने, ‘यसले नेपाल–अर्जेन्टिना व्यापारलाई व्यापारिक सम्बन्धभन्दा पनि आयातमुखी सम्बन्धको रूपमा विस्तार गरेको छ ।’

उनका अनुसार अर्जेन्टिनाबाट नेपालमा आउने वस्तुहरूको संरचना हेर्दा यो व्यापार मुख्यतयाः अत्यावश्यक उपभोग्य वस्तुमा केन्द्रित छ । नेपालले अर्जेन्टिनाबाट ठूलो मात्रामा कच्चा सोयाबिन÷सूर्यमुखी तेल आयात गर्ने गरेको र कुल आयातको झण्डै सम्पूर्ण हिस्सा यसैले ओगटेको छ ।

अर्जेन्टिनाबाट आयात गरी प्रशोधन गरेर भारत निर्यात गर्ने हुँदा निर्यातको हिस्सा ठूलो देखिएकोे उनको भनाई छ ।

नेपालले अर्जेन्टिनाबाट अत्यावश्यक वस्तुहरूमा निर्भरता बढाइरहेकोले आफ्नो निर्यात क्षमता विस्तार गर्नुपर्ने सूचना अधिकारी बजगाईँको भनाई छ ।

नीति, पूर्वाधार र बजार रणनीतिमा सुधार ल्याउन सकियो भने अहिलेको एकतर्फी व्यापार सम्बन्धलाई दीर्घकालीन रूपमा सन्तुलित व्यापार बनाउने सम्भावना रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार  ०६ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।