ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई विशेष व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन


काठमाडौँ । नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले बैंकिङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्ता वर्गका ग्राहकलाई विशेष काउण्टर तोकेर सेवा प्रदान गर्न भनिएको हो ।

इजाजतप्राप्त संस्थाले एकापसमा सहकार्य गरी प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्गमैत्री बनाउनुपर्ने र त्यस प्रकारका शाखाको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्ने नयाँ व्यवस्था गरिएको छ । 

बैंक तथा वित्तीय संस्थाले ‘एटिएमलाउञ्ज’ भएका स्थानमा ब्रेललिपिका सङ्केत तथा ध्वनि सहयोगसहितका कम्तीमा एक अपाङ्गमैत्री एटिएम राख्नुपर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: ९ जेष्ठ २०८३, शनिबार  १३ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।