काठमाडौँ । २ महिनादेखि नेतृत्वबिहीन बनेको नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ अध्यक्ष पाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्ष पदमा डा. गोपाल प्रसाद भट्टलाई नियुक्त गरेको हो ।
यसअघिका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले वैशाख ४ गते पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।
वैशाखको पहिलो साता नै अध्यक्ष रिक्त भएपछि सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको संयोजकत्वमा अध्यक्ष सिफारिस समिति गठन गरेको थियो । अर्थसचिव घनश्याम उपाध्याय सदस्य र पूर्वबैंकर भुवन दाहाल विज्ञ सदस्य रहेको उक्त समितिले १५ जेठमा अध्यक्षका लागि आवेदन खुलायो ।
जसमा ४७ जना प्रत्याशीले आवेदन दिए । आफ्नो नातेदारभित्रबाट पनि अध्यक्ष प्रत्याशीमा आवेदन परेपछि स्वार्थ बाझिने भन्दै संयोजक भट्टले छनोट समिति संयोजकबाट राजीनामा दिए । त्यसपछि सरकारले राष्ट्रिय योजना आयोगका सदस्य सञ्जय आचार्यलाई संयोजक नियुक्त गर्यो । उक्त समितिले नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्री र गोपाल भट्टलाई ‘सर्टलिस्ट’ गरी ८ जेठमा सरकारलाई नाम सिफारिस गर्यो । सोही बमोजिम सरकारले भट्टलाई अध्यक्ष नियुक्त गरेको हो ।
आन्तरिक विवाद र बजारको दबाबविच बोर्डको कमान्ड समाल्न पुगेका भट्टको कार्यकाल २०८५ मंसिर ९ गतेसम्म रहनेछ ।
यस अवधिमा उनले स्वार्थको टकराव भइरहने पुँजी बजारको व्यावहारिक कमान्ड समाल्नु पर्ने छ । उनले लामो समयदेखि थुनिएर रहेका फाइलहरू खोलेर परिणाममुखी काम गरेर देखाउनुपर्ने दबाब छ ।
नेपाली सेयर बजारमा बेला बेला कतिपय सूचिकृत कम्पनीका प्रबन्धक, ठूला लगानीकर्ता र स्वयम् नियामक निकायका उच्च अधिकारीहरूको मिलेमतोमा सूचना चुहाएर सर्वसाधारणलाई फसाउने खेल भइरहन्छ ।
डा. भट्टले बजारका यस्ता ‘कालो धब्बा’ हरूलाई सफा गर्नुपर्ने चुनौती छ । सेबोनको गुमेको साख र संस्थागत सुशासन फर्काउनु नै उनको पहिलो चुनौती बनेको छ ।
यता, राजनीतिक दाउपेच, व्यापारिक स्वार्थ र अदालतको ढोकासम्म पुगेका नयाँ स्टक एक्सचेन्ज र कमोडिटी बजारको लाइसेन्स वितरण प्रक्रिया विगत लामो समयदेखि विवादको केन्द्रमा छ ।
नयाँ स्टक एक्सचेन्ज आवश्यक छ कि छैन भन्ने प्राविधिक बहस एकातिर छ भने अर्कोतिर यसमा जोडिएको खर्बौँको स्वार्थ समूहलाई सन्तुलनमा राख्नुपर्ने चुनौती छ । डा. भट्टले यो प्रक्रियालाई पूर्ण पारदर्शी र विवादरहित ढंगले अगाडि बढाउन सक्छन् कि सक्दैनन् भन्ने पनि अहिलेको मुख्य चुनौती नै हो ।
ब्रोकरहरूको क्षमता अभिवृद्धि गर्ने, उनीहरूका प्राविधिक समस्या समाधान गर्ने र कमिसन संरचनालाई लगानीकर्तामैत्री बनाउने सवालमा बजारलाई प्रविधिमैत्री र सुरक्षित बनाउँदै ब्रोकरहरूलाई उत्तरदायी बनाउनु डा. भट्टको अर्को महत्वपूर्ण कार्यभार हो ।
अहिले दर्जनौँ कम्पनीहरू आईपीओ निष्कासनको पर्खाइमा पाइपलाइनमा थन्किएका छन् । यता, बोर्ड लामो समय नेतृत्व विहीन हुँदा प्रिमियममा सेयर निष्कासन गर्ने, हकप्रद जारी गर्ने र नयाँ कम्पनी बजारमा भित्रिने प्रक्रिया प्रायः ठप्प नै रहेको थियो । अब नयाँ अध्यक्ष भट्टले त्यो प्रक्रिया कसरी बढाउलान् त्यो पनि चासोको विषय बनिरेहको छ ।
कमजोर वित्तीय अवस्था भएका हाइड्रोपावर र अन्य क्षेत्रका कम्पनीहरूलाई प्रिमियममा आईपीओ दिने प्रवृत्तिलाई उनले कसरी नियन्त्रण गर्छन् त्यो पनि हेर्न बाँकी छ ।
७० लाखभन्दा बढी डिम्याट खातावाला आम लगानीकर्ताको भरोसा जितेर पुँजी बजारलाई देशको अर्थतन्त्रको वास्तविक ऐना बनाउन डा. भट्ट सफल होलान् वा परिस्थितिको चक्रव्यूहमा रूमल्लिनेछन् ? यो त उनले आगामी दिनमा लिने नीति र चाल्ने कदमले नै प्रष्ट पार्नेछ ।
अध्यक्ष भट्टको पृष्ठभूमी
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–५ हसनपुरमा २२ मे १९६८ मा जन्मिएका उनको स्थायी ठेगाना काठमाडौंको टोखा नगरपालिका–७ आदर्श कोलोनी टोखा रोड हो । उनी अहिले सोही ठाउँमा बसोबास गर्दै आएका छन् ।
उनी अर्थशास्त्री तथा नीतिगत विशेषज्ञ हुन् । उनीसँग नेपाल राष्ट्र बैंकमा करिब ३० वर्ष काम गरेको अनुभव छ । उनले कार्यकारी निर्देशक (विशेष श्रेणी अधिकारी) तहमा रहेर विभिन्न विभागहरूको नेतृत्व गरेका छन् । ती विभागहरूमा अनुसन्धान विभाग, बैंक सुपरिवेक्षण विभाग, सार्वजनिक ऋण व्यवस्थापन विभाग, वित्तीय व्यवस्थापन विभाग, मानव स्रोत व्यवस्थापन विभाग, वित्त कम्पनी सुपरिवेक्षण विभाग, काठमाडौं बैंकिङ कार्यालय तथा जनकपुर क्षेत्रीय कार्यालय समावेश छन् ।
उनले सार्वजनिक ऋण व्यवस्थापन क्षेत्रमा ऋण रणनीति सुदृढीकरण, खुला बजार सञ्चालन उपकरणको विकास तथा तरलता व्यवस्थापन प्रणाली विस्तारमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। मानव स्रोत व्यवस्थापन तथा बैंक सुपरिवेक्षणमा पनि उनले महत्वपूर्ण भूमिका खेलेका छन् ।
उनको शैक्षिक योग्यतामा त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा वित्तीय व्यवस्थापनसम्बन्धी विद्यावारिधि (२००९), व्यवस्थापनमा स्नातकोत्तर (१९९३), व्यवस्थापनमा स्नातक (१९८९), प्रवीणता प्रमाणपत्र तह (१९८७) र विद्यालय तहको अन्तिम परीक्षा (१९८४) उत्तीर्ण गरेका छन् ।
उनको बोर्डस्तरीय अनुभवमा सन् २०२० देखि २०२२ सम्म सानिमा क्यापिटल लिमिटेडमा स्वतन्त्र सञ्चालक तथा सन् २०२२ अप्रिलदेखि २०२६ अप्रिलसम्म नेपाल एसबिआई बैंक लिमिटेडमा स्वतन्त्र सञ्चालकका रूपमा पनि काम गरिसकेका छन् ।
उनले एशियाली विकास बैंकको सहयोगमा अर्थ मन्त्रालयअन्तर्गत पुँजी बजार तथा पूर्वाधार विकास परियोजना, नेपाल राष्ट्र बैंकको वित्तीय क्षेत्र सुधार कार्यक्रम, उपभोक्ता मूल्य सूचकाङ्क विकास परियोजनाको नेतृत्व, उद्योगको समस्याग्रस्त अवस्थाको पहिचानसम्बन्धी सरकारी समितिमा विज्ञ सदस्य, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा ऋण रणनीति परामर्शदाता तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा परामर्शदाताका रूपमा काम गरेका छन् ।
शिक्षण क्षेत्रमा उनले २५ वर्षभन्दा बढी समय त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभाग, शंकरदेव क्याम्पस, नेपाल कमर्स क्याम्पस, एपेक्स कलेज, प्रेसिडेन्सियल बिजनेस स्कुल, ब्रिटिश कलेज, एस अफ म्यानेजमेन्ट तथा किङ्स कलेजलगायत संस्थामा अध्यापन गरेका छन् । उनले वित्तीय व्युत्पन्न उपकरण, लगानी विश्लेषण, मौद्रिक नीति तथा केन्द्रीय बैंकिङ, कर्पोरेट वित्त, अन्तर्राष्ट्रिय वित्तीय व्यवस्थापन तथा जोखिम व्यवस्थापन विषय पढाएका छन्।
उनका सामाजिक तथा पेशागत आबद्धतामा नेपाल पीएचडी एसोसिएसनको आजीवन सदस्य, नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य, धनगढी जेसीजको पूर्व महासचिव तथा ध्यान, समाधि र स्मरणसँग सम्बन्धित संस्थामा नेतृत्वदायी आध्यात्मिक मार्गदर्शकका रूपमा संलग्नता रहेको छ ।










प्रतिक्रिया