काठमाडौँ । पछिल्लो दुई महिनायता नेपाली बजारमा चामलको मूल्य उल्लेख्य रूपमा बढेको छ । उद्योगदेखि खुद्रा बजारसम्म सबै प्रकारका चामलको मूल्य वृद्धि भएको व्यवसायीहरुले बताएका छन् ।
व्यवसायीका अनुसार २५ किलोको एक बोरा चामलको मूल्य ३०० देखि ४०० रुपैयाँसम्म वृद्धि भएको छ भने आगामी दशैंसम्म मूल्य अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
भारतमा धानको न्यूनतम समर्थन मूल्य (एमएसपी) वृद्धि, धान उत्पादनमा आएको कमी, बंगलादेशतर्फ बढेको निर्यात तथा मौसमी प्रभावका कारण भारतीय बजारमै चामल महँगिएको व्यवसायीहरुले बताएका छन् ।
भारत विश्वकै सबैभन्दा ठूलो चामल निर्यात गर्ने देश हो । भारतको केन्द्रीय मन्त्रिपरिषद्ले आगामी वर्ष २०२६/२७ मा कृषि बाली धान लगायत १४ उत्पादनको न्यूनतम समर्थन मूल्य बढाउने निर्णय गरेसँगै धानको भाउ औपचारिक रूपमै बढेको हो ।
किसानलाई राहत दिने उद्देश्यले भारतले समर्थन मूल्य बढाएको हो ।नेपाल चामल आयातमा भारतमै निर्भर भएकाले त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको नेपाल चामल, तेल तथा दाल उद्योग संघका पूर्व अध्यक्ष सुवोध कुमार गुप्ताले बताएका छन् ।
‘भारतमा यतिखेर धान चामलको मूल्य बढेको छ, आयात हुने धान–चामल भारतबाट नै आउने गर्छ,’ उनले भने, ‘भारतमा नै मूल्य बढेपछि नेपाली बजारमा स्वाभाविक रूपमा प्रभाव पर्छ ।’ मौसमी कारणले यसपटक भारतमै धानको उत्पादन एकदमै घटेको छ, जसले गर्दा धान र चामलको मूल्य बढेको उनको भनाई छ ।
उनका अनुसार, भारतमा मूल्य बढेसँगै दुई महिनाअघि १८÷१९ सय रुपैयाँ पर्ने २५ केजीको बोरा जिरा मसिनो चामल अहिले बढेर २३÷२४ रुपैयाँसम्म पुगेको छ । यसैगरी, सोना मन्सुली चामलको मूल्य बोरामा १ हजार ३५० रुपैयाँबाट बढेर १ हजार ६०० रुपैयाँ पुगेको उनले बताए ।
त्यस्तै, धेरै आयात हुने २० किलो लङ ग्रेन (बासमती) चामलको मूल्य अहिले ३ हजार ४०० रुपैयाँबाट बढेर ३ हजार ५०० रुपैयाँसम्म पुगेको छ भने १ हजार १२५ रुपैयाँ पर्ने चामलको मूल्य बढेर १ हजार २५० रुपैयाँ पुगेको छ ।
नेपालमा स्वदेशी धानको उत्पादनले मात्र बजारको माग धान्न नसक्ने भएकाले भारतीय मूल्यमै भर पर्नुपर्ने अवस्था रहेको छ । बजारको चलन नै भारतीय दरभाउमा निर्भर रहेको उद्योगी गुप्ताको भनाई छ ।
भारतमा नै धान चामलको मूल्यवृद्धि र अभाव रहेका कारण दशैंसम्म नेपालमा चामलको मूल्य अझै बढ्ने प्रक्षेपण उद्योगी तथा व्यवसायीको छ । पछिल्लो समय चामलको मूल्य उल्लेख्य बढेको शान्तिनगरका किराना व्यापारी राजकुमार श्रेष्ठ बताउँछन् ।
‘अन्य खाद्यान्नको मूल्यमा पनि वृद्धि भएको छ ।’ उनले भने, ‘चामलमा भने धेरै नै बढेको छ, एक बोरामा नै २÷३ रुपैयाँले बढेको छ ।’
उनका अनुसार, हरेक वर्ष अहिलेदेखि दशैँसम्म उपभोग्य वस्तुको मूल्य बढ्ने गरेको छ । यो वर्ष झनै अहिलेदेखि नै उच्च बढेको छ, पछि झनै बढ्ने उनको भनाई छ ।
लगातार हरेक सामानको भाउ बढ्दा सर्वसाधारणलाई दैनिक गुजारा चलाउनै धौ–धौ पर्न थालेको छ । मूल्यवृद्धिको प्रत्यक्ष असर खुद्रा व्यापार र उपभोक्ताको भान्सामा परेको छ ।
एक महिनाअघि प्रतिबोरा १९ सय रुपैयाँमा किनेको जिरा मसिनो चामल अहिले २३ सयमा रुपैयाँ बढी तिर्नुपरेको शान्तिनगर बसोबास गर्दै आएकी प्रमिला बताउँछीन् ।
‘चुनाव अघिदेखि दैनिक उपभोग्य वस्तुको मूल्य उल्लेख्य बढीरहेको छ ।’ उनले भनिन्, ‘व्यापारीहरुले कहिले चुनावको प्रभाव त कहिले मध्यपूर्वको तनाव र इन्धनको मूल्यका कारण बढेको भन्छन् ।’
यसरी दैनिक उपभोग्य सामानको मूल्य वृद्धिले घर व्यवहार चनाउन नै धौ धौ परेको उनले बताइन् ।
कृषि मन्त्रालयको तथ्यांक अनुसार नेपाल धान–चामलमा करिब ८५ प्रतिशत आत्मनिर्भर रहेको छ । नेपालमा वर्षेनी अर्बौको धान चामल भारतबाट नै आयात हुने गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन–जेठ) सम्ममा मुलुकमा करिब ३८ करोड रुपैयाँ बराबरको धान चामल आयात भएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन–जेठ) मा ३७ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ बराबरको ७१ करोड १५ लाख २० हजार किलोग्राम धान चामल आयात भएको छ । यता मुलुकमा खेतीयोग्य क्षेत्रफल भने वर्षेनी घट्दै गएको छ ।










प्रतिक्रिया