मलेसियामा श्रमिक पठाउने प्रक्रियामा सिन्डिकेट कायम गर्न खोजिएको छैन : श्रम मन्त्रालय


काठमाडौँ । श्रम तथा रोजगार मन्त्रालयले नेपाली श्रमिक पठाउने प्रक्रियामा सिन्डिकेट कायम गर्न खोजिएको भन्ने कुरामा कुनै सत्यता नभएको बताएको छ ।

मन्त्रालयले विज्ञप्ती जारी गर्दै निश्चित वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) लाई फाइदा पुग्ने गरी सिन्डिकेट गराउन खोजिएको भन्नेमा कुनै सत्यता नरहेको जनाएको हो ।

मन्त्रालयले वैदेशिक रोजगार क्षेत्रलाई स्वच्छ, प्रतिस्पर्धी, पारदर्शी र श्रमिकमैत्री बनाउने विषयमा आफू प्रतिबद्ध रहेको जनाएको छ । प्रतिस्पर्धालाई सीमित गरेर केही व्यवसायीको एकाधिकार कायम हुन नदिन मन्त्रालय सधैं सचेत र क्रियाशील रहेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयका अनुसार वैदेशिक रोजगारसम्बन्धी विद्यमान नीति, कानुन र प्रक्रियामा आवश्यक सुधार गर्दै सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने काम भइरहेको छ । यस्तो अवस्थामा मन्त्रालयलाई जोडेर विभिन्न अफवाह र भ्रम फैलाउने कार्य तथ्यमा आधारित नभएको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले हालसम्म यस विषयमा सम्बन्धित गन्तव्य मुलुकबाट पनि कुनै आधिकारिक जानकारी प्राप्त नभएको जनाएको छ । साथै वैदेशिक रोजगारलाई स्वच्छ, नैतिक र प्रतिस्पर्धी बनाउन गन्तव्य मुलुकसँग कूटनीतिक पहल जारी रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: १८ श्रावण २०८३, सोमबार  ११ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।