नेपाल राष्ट्र बैंकले उचित बैंकिङ्ग सेवा उपलब्ध नगराउने बैंक तथा वित्तीय संस्था विरुद्ध उजुरी गर्न सकिने नयाँ वेव पोर्टल संचालनमा ल्याएको छ ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था र विभिन्न प्रकारका संस्था, एजेण्ट, भुक्तानी सेवा सञ्चालक, भुक्तानी सेवा प्रदायकसँग सेवा लिदाँ कुनै गुनासो भए अनलाइनबाटै नेपाल राष्ट्र बैंकलाई जानकारी गराउन सक्ने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले वित्तीय ग्राहक संरक्षणका लागि सञ्चालनमा ल्याएको वेव पोर्टलमार्फत् राष्ट्र बैंकमा गुनासो गर्न पाइने भएको हो ।
‘नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र/अनुमति प्राप्त गरि वित्तीय मध्यस्थता सेवा प्रदान गरिरहेका बैंक तथा वित्तीय संस्था र विभिन्न प्रकारका संस्था÷एजेन्टले ग्राहकसँग निष्पक्ष, विश्वसनीय, र पारदर्शी ढंगबाट बैंकिङ क्षेत्रको व्यवसायिक मूल्य र मान्यता एवं नीति निर्देशनको अधीनमा रही ग्राहकको हितलाई प्राथमिकतामा राखी वित्तीय मध्यस्थता सेवा प्रदान गर्ने/गराउने कार्यको सुनिश्चितता गरी वित्तीय ग्राहकको हित संरक्षण गर्न यस पोर्टल निर्माण गरिएको छ,’ राष्ट्र बैंकले भनेको छ ।
पछिल्लो समय डिजिटल भुक्तानी प्रचलनमा आएपछि ग्राहकहरुका गुनासोहरु समेत बढी रहेका छन् । विशेषगरी एसएमएस बैकिङ्ग, एटिएम सेवा तथा बैंकहरुले उपलब्ध गराएका अनलाइन सेवाहरुमा गुनासा बढेको थिए ।
वित्तीय ग्राहकलाई वित्तीय सेवा प्रदायकबाट हुने असहयोग, ढिलासुस्ती, बेवास्ता, पक्षपात, गैरजिम्मेबारी, लापरवाही, झुठो, गलत सूचना संप्रेषण, अपारदर्शी कारोवार जस्ता नकारात्मक व्यवहारलाई न्युनीकरण गर्न गुनासो पोर्टल बनाइएको राष्ट्र बैंकको भनाई छ ।
बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने सेवाको बारेमा गुनासो दर्ता गर्नको लागि http://gunaso.nrb.org.np पोर्टलमा गएर गुनासो दर्ता गर्नुपर्छ । यसरी गुनसो दर्ता गरेपछि गुनासो दर्ता भएको जानकारी र दर्ता नं. इमेल मार्फत प्राप्त हुनेछ ।
गुनासो दर्ता नम्बरको सहयोगले पेश गरिएको गुनासोको स्थिति थाहा पाउन सकिने र दर्ता भएको गुनासोको अन्तिम निर्णय इमेल मार्फत जानकारी गराउने व्यवस्था राष्ट्र बैंकले मिलाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया