बिशाल बजारको शेयरमूल्यमा सकारात्मक सर्किट, खरीद माग उच्च-बिक्रीकर्ता शुन्य

0
Shares

बिशाल बजार कम्पनी लिमिटेडको शेयर मूल्यमा बिहीबार सकारात्मक सर्किट लागेको छ ।

कम्पनीले त्रैमासिक, वार्षिक, तथा अर्धवार्षिक वित्तीय विवरण उपलब्ध नगराएपछि नेप्सेले माघ १८ गते रोक्का गरेको शेयर कारोबार करिब तीन महिनापछि बैशाख ८ बुधबार देखि लागू हुनेगरी फुकुवा गरेको थियो।

तीन महीनापछि दोस्रो बजारमा शेयर कारोबारमा खुलेको कम्पनीको बिहीबार कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३ हजार १६८ पुगेको हो । माघ १८ गते रोक्का हुँदा २ हजार ८८० रुपैयाँ कम्पनीको शेयर बिहीबार प्रि ओपनिङ्ग सेसनमा नै ५ प्रतिशतले बढेर ३ हजार २४ रुपैयाँमा पहिलो कारोबार खुला भएको थियो । कारोबारको केही मिनेटमा नै कम्पनीको मूल्य २८८ रुपैयाँ बढेर ३ हजार १६८ रुपैयाँ पुगेको हो ।

कारोबारको दुई घण्टा अवधिमा कम्पनीको शेयर खरीदका लागि सर्किट मूल्य ३ हजार १६८ रुपैयाँमा ४०९ वटा अर्डर मार्फत ४४ हजार ६८ कित्ता शेयरको माग राखिएको छ । कम्पनीको बिक्रेता छैनन् भने क्रेता उच्च छन् ।

कुनै पनि वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरु उपलब्ध नगराएका कारण नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले गत माघ १८ गतेदेखि उक्त कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो ।

कम्पनीले आव २०७३/७४ देखि ०७६/७७ सम्मको लेखापरिक्षण हुन बाँकी र आव २०७७/७८ को पुस मसान्तसम्मको वित्तीय विवरणहरु र अन्य अपरिष्किृत त्रैमासिक तथा अर्धवार्षिक वित्तीय विवरणहरु नेप्सेको कम्पनी लगइनबाट नेप्सेको वेबसाइटमा लगानीकर्ता र सरोकारवाला निकायहरुले अध्ययन गर्न सक्ने गरी अपलोड गरेपछि शेयर कारोबारफुकुवा भएको थियो ।

धितोपत्र बजारमा सूचीकृत कम्पनीहरुमध्ये वर्षौदेखि लागानीकर्तालाई लाभांश नबाँडेपनि शेयर कारोबारीहरुले कम्पनीको शेयरमूल्य उच्च रुपमा बढाउँदै कारोबार गर्ने गरेका छन् ।

बिशाल बजार कम्पनी बाहेक सिन्धु विकास बैंक, महिला लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, ज्योति लाइफ इन्स्योरेन्स, र एनसीसी बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।