आर्थिक वर्ष २०८२।८३ मा निर्जीवन बीमकहरुले बीमालेख जारी गरेर कमाए ५१ अर्ब ९२ करोड २४ लाख रुपैयाँ


काठमाडौँ । निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८२।८३ मा ५१ अर्ब ९२ करोड २४ लाख रुपैयाँ बढीको व्यापार गरेका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरुले ३४ लाख ६७ हजार १६४ वटा बीमालेख जारी गरेर ५१ अर्ब ९२ करोड २४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

अघिल्लो आर्थिक वर्ष २०८१।८२ मा कम्पनीहरुले २८ लाख ६४ हजार ९४५ वटा बीमालेख जारी गरेर ४३ अर्ब ९५ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीहरुको व्यापार १५.१२ प्रतिशतले बढेको छ ।

अघिल्लो आवको भन्दा शिखर इन्स्योरेन्सले १२.३८ प्रतिशत बढी व्यापार वृद्धि गरेको छ । कम्पनीले एक वर्षको अवधिमा ६ अर्ब ५१ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हो । अघिल्लो वर्ष कम्पनीले ५ अर्ब ७९ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स दोस्रो धेरै व्यापार भित्र्याउने कम्पनी बनेको छ । गत आर्थिक वर्षमा कम्पनीले ५ अर्ब ४२ करोड २२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ५ अर्ब २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको कम्पनीको व्यापार ८.४० प्रतिशतले बढेको छ ।

त्यस्तै तेस्रो धेरै व्यापार भित्र्याउनेमा हिमालय एभरेष्ट इन्स्योरेन्स रहेको छ । समीक्षा वर्षमा यो कम्पनीले ५ अर्ब ३७ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ४ अर्ब १० करोड ४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको व्यापार ३१.०६ प्रतिशतले बढेको छ ।

यसैगरी गत आर्थिक वर्षमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ४ अर्ब ५५५ करोड ११ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ४ अर्ब २० करोड ७९ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ३ अर्ब ६५ करोड ५० लाख रुपैयाँ र ओरिएन्टल इन्स्योरेन्सले ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

यसैगरी समीक्षा वर्षमा युनाइटेड अजोड इन्स्योरेन्सको ३ अर्ब ११ करोड ६२ लाख रुपैयाँ, सानिमा जीआईजी इन्स्योरेन्सले ३ अर्ब ८ करोड २० लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले २ अर्ब २१ करोड ६२ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले २ अर्ब २ करोड २८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ५८ करोड ३७ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्सले १ अर्ब २९ करोड ७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

१४ वटा निर्जीवन बीमक र ४ वटा लघु निर्जीवन बीमकले मोटर बीमातर्फ सर्वाधिक १५ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। कुल व्यापारमा मोटर बीमाको हिस्सा २९.८३ प्रतिशत रहेको छ ।

कम्पनीहरुको दोस्रो धेरै व्यापार सम्पत्ति बीमातर्फ देखिएको छ। समीक्षा वर्षमा कम्पनीहरुले सम्पत्ति बीमातर्फ १२ अर्ब २२ करोड ७३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। कुल व्यापारमा सम्पत्ति बीमाको योगदान २३.५५ प्रतिशत रहेको देखिन्छ ।

यसैगरी तेस्रो धेरै व्यापार कम्पनीहरुले इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमामार्फत भित्र्याएका छन्। समीक्षा वर्षमा यो क्षेत्रबाट कम्पनीहरुले १० अर्ब ७ करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

गत आर्थिक वर्षमा कम्पनीहरुले विविध बीमातर्फ ५ अर्ब ३२ करोड ३ लाख रुपैयाँ, सामुद्रिक बीमातर्फ ३ अर्ब १२ करोड २४ लाख रुपैयाँ, हवाई बीमातर्फ २ अर्ब ५६ करोड ५७ लाख रुपैयाँ, कृषि बीमातर्फ १ अर्ब ७८ करोड ९७ लाख रुपैयाँ र लघु बीमातर्फ १ अर्ब ३३ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

प्रकाशित मिति: २१ श्रावण २०८३, बिहिबार  ११ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।