गण्डकी । नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत कास्कीको पोखरा महानगरपालिकास्थित शिशुवा(खुदीखोला र कालिकास्थान(लामेआहाल(पुँडीटार सडक विस्तार तथा स्तरोन्नितको काम सकिएको छ ।
पोखरा(३० को शिशुवा(खुदीखोला चार दशमलव १४ किमी सडक उद्घाटन भइसकेको छ भने पोखरा(३३ मा पर्ने कालिकास्थान(लामेआहाल(पुँडीटार सडक हस्तान्तरण हुन बाँकी छ । आयोजनाअन्तर्गत पोखरा(२७ तालचोकबाट पोखरा(३१ बेगनास जोड्ने सडक भने निर्माणाधीन अवस्थामा छ ।
चार लेनको उक्त सडक आगामी कात्तिक मसान्तसम्ममा सक्ने गरी अन्तिम पटकलाई म्याद थप गरिएको आयोजनाका स्रोतव्यक्ति इन्जिनियर नवीन गौतमले जानकारी दिए । सङ्घ सरकारको समन्वय तथा विश्व बैंकको आर्थिक सहयोगमा पोखरामा उक्त आयोजना सञ्चालनमा काम भइरहेको उनको भनाइ छ ।
विश्व बैंकको ४८ करोड ९६ लाख ३५ हजार २५४ रुपैयाँ आर्थिक सहयोगमा शिशुवा(खुदीखोला सडक निर्माण भएको हो । नालीसहित १५ मिटरमा दुई लेन सडक, एक दशमलव पाँच मिटर साइकल लेन र दुई दशमलव पाँच मिटर फुटपाथ ट्रयाक रहेको इन्जिनियर गौतमले बताए । आशिष निर्माण सेवाले विसं २०८१ वैशाख २ गते निर्माण सम्झौता गरी निर्धारित समयमै सडकको काम सकेको उनको भनाइ छ ।
कालिकास्थान(लामेआहाल(पुँडीटार सडक निर्माण पनि गत असारमै पूरा भएको उनले बताए । पोखरा भित्रिने वैकल्पिक सडकका रूपमा हेरिएको उक्त सडकको दूरी १२ दशमलव ४४ किमी रहेको छ । साइकल ट्रेक र फुटपाथसहित सडक निर्माण गरिएको इन्जिनियर गौतमले बताए । आशिष निर्माण सेवाले ७७ करोड ६८ लाख रुपैयाँमा ठेक्कामा उक्त सडक बनाएको हो ।
पोखरा(३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले छिटपुटबाहेक सडक निर्माण सकिएको बताए । सडक उद्घाटन भने भइसकेको छैन । सडकको दायाँबायाँ तीन मिटरमा फलफूलका बिरुवा रोप्ने योजना रहेको वडाध्यक्ष अधिकारीले जानकारी दिए । तनहुँको कोत्रे हुँदै बाघमारा भएर पोखरा भित्रिने वैकल्पिक मार्गका रूपमा यो सडकलाई विकास गर्नुपर्ने उनले बताए ।
सडक स्तरोन्नति भएसँगै आवतजावत तथा स्थानीय उत्पादनको बजारीकरणमा पनि महत्वपूर्ण टेवा विश्वास लिइएको छ । साविक भरतपोखरी गाउँ विकास समिति रहेको यस क्षेत्र पोखरा महानगरपालिकामा गाभिए पनि अपेक्षित रूपमा विकास हुन नसकेको वडाध्यक्ष अधिकारीले बताए । महानगरभित्रका ग्रामीण र विकासमा पछाडि पारिएका वडालाई बजेट तथा कार्यक्रममा प्राथमिकता दिन महानगरको नेतृत्वससँग पहल भइरहेको उनको भनाइ छ ।
निर्माणमा ढिलासुस्ती भइरहेको तालचोक(बेगनास सडकलाई थपिएको म्यादभित्र काम सक्न महानगरले ताकेता गरिरहेको महानगरप्रमुख धनराज आचार्यले बताए । उक्त सडकमा देखिएको जग्गाको मापदण्डलगायत विवाद समाधान भइसकेकाले अब निर्माणले गति लिने उनले विश्वास व्यक्त गरे । “सडकको काम पूरा गर्न निर्माण कम्पनीलाई समयसीमा दिएका छौँ । समयमै काम सकिनेमा हामी विश्वस्त छौँ”, प्रमुख आचाार्यले भने ।
विसं २०७९ चैतदेखि निर्माण थालिएको तालचोक(बेगनास सडक निर्माण कम्पनीको ढिलासुस्तीका कारण समयमा बन्न नसकेको हो । तीन दशमलव २८ किमीको उक्त सडकलाई चार लेनमा स्तरोन्नति गर्न ‘स्वच्छन्द(सपना(वर्ल्डवाइड जेबी’ले निर्माण जिम्मा पाएको थियो । ठेक्का सम्झौता भएको एक वर्षपछि बल्ल सडक निर्माण सुरु भएको थियो ।
१ अर्ब ४९ करोडको लागत योजना रहे पनि निर्माण कम्पनीसँग भ्याटसहित ७५ करोड ४८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको इन्जिनियर गौतमले जानकारी दिए । फुटपाथ ट्रयाक, साइकल लेन, सडक बत्ती र पार्किङसहितको नुमना सडक बन्ने उनको भनाइ छ ।
सडक छेउछाउमा बगैँचा, यात्रु प्रतिक्षालयसहित आकर्षक पूर्वाधार बनाइने बताउँदै उनले सडकमा तीन वटा पुल निर्माणाधीन अवस्थामा रहेका जानकारी दिए । अहिले सडक विस्तार, फुटपाथ, कल्भर्ट, नाला र पर्खाल निर्माण भइरहेको छ ।
पृथ्वी राजमार्गसँग जोडिएको उक्त सडक बेगनास, रुपा गाउँपालिका हुँदै लमजुङ जोडिन्छ । महानगरको गौरवको आयोजनाका रूपमा तालचोक(बेगनास सडक विस्तार एवं स्तरोन्नति कार्यलाई अगाडि बढाइएको हो । पोखरा महानगरपालिका र सहरी विकास तथा भवन निर्माण विभागबीच सन् २०२१ मार्चमा परियोजना सम्झौता भई सडक निर्माण सुरु भएको थियो ।






प्रतिक्रिया