काठमाडौँ । भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाडा अटो शो २०२६ मा नयाँ सवारी साधन खरिद गर्न चाहने ग्राहको लागि बैंक तथा वित्तीय संस्थाले परिमार्जित अटो लोन अफर ल्याएका छन् ।
प्रदर्शनीमा सहभागी दर्जन बैंक तथा वित्तीय संस्थाले सवारी खरिदकर्तालाई कर्जा सुविधा, ब्याजदर तथा अन्य बैंकिङ सेवा उपलब्ध गराइरहेका छन् ।
सिद्धार्थ बैंकले नाडा अटो शोमा ५.९६ प्रतिशतको व्याजदरमा सवारी कर्जा उपलब्ध गराउनेछ । बैंकले ४.९६ प्रतिशतको आधार दरमा १ प्रतिशत प्रिमियम थप गरि ०.५ प्रतिशत सेवा शुल्क लिएर कर्जा दिनेछ । कागजात पुरा भएको एक साता भित्रमा कर्जा उपलब्ध गराउने जनाएको बैंकले ७ वर्ष अवधिका लागि कर्जा उपलब्ध गराउनेछ ।
त्यसैगरि माछापुच्छ्रे बैंकले ८ वर्ष अवधिका लागि ५.४५ प्रतिशतको व्याजदरमा कर्जा उपलब्ध गराउनेछ । बैंकले ४.९५ प्रतिशतको आधार दरमा ०.५ प्रतिशत प्रिमियम थप गरी कर्जा उपलब्ध गराएको हो । बैंकले एक पटक ०.५ प्रतिशत सेवा शुल्क पनि लिनेछ ।
भिडियोमा हेर्नुहोस् व्याजदरको विबरण, कुन बैंकको कति ?
त्यसैगरी लक्ष्मी सनराइज बैंकले ७ वर्षका लागि ४.९९ प्रतिशतको आधार दरमा ०.५ प्रतिशत प्रिमियम थप गरी ५.४९ प्रतिशतको व्याजदरमा कर्जा दिनेछ । फिक्सतर्फ बैंकले विद्युतीय सवारीमा ६.९९ र इन्धन सवारीमा ७.४९ प्रतिशतको स्थिर व्याजदरमा कर्जा दिने जनाएको छ । बैंकका अनुसार सबै कर्जाको अवधि ७ वर्षको हुनेछ भने सेवाशुल्क ०.५ प्रतिशत लाग्नेछ ।
त्यस्तै, प्रभु बैंकले नाडा अटो शोमा आधार दर ४.९४ प्रतिशतमा ०.५० प्रतिशत वार्षिक प्रिमियम थप गरि ५.४४ प्रतिशतको व्याजदरमा ७ वर्षका लागि सवारी कर्जा दिनेछ ।
कुमारी बैंकले भने १० वर्ष अवधिका लागि ५.२१ प्रतिशत व्याजदरमा कर्जा दिने जनाएको छ । बैंकका अनुसार ४.९ प्रतिशतको आधार दरमा ०.३१ प्रतिशत प्रिमियम थप गरी कर्जा दिनेछ । अर्कातिर बैंकले ६.४९ प्रतिशतको स्थिर व्याजदरमा ५ वर्ष अवधिका लागि कर्जा दिने जनाएको छ ।
नबिल बैंकले ४.४२ प्रतिशतको आधार दरमा ०.७५ प्रतिशत प्रिमियम थप गरि ५.१७ प्रतिशत व्याजदरमा कर्जा दिने जनाएको छ । ७ वर्ष अवधिको उक्त कर्जाको अवधि ७ वर्षको हुने बैंकले जनाएको छ ।
एनआईसी एयिशा बैंकले भने ५.९९ प्रतिशतको स्थिर व्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ ।
यस्तै, ग्लोबल आइएमई बैंकले आफ्नो ‘ग्लोबल अटो लोन’ योजनाअन्तर्गत ग्राहकलाई वार्षिक ५.१७ प्रतिशत ब्याजदरमै अटो लोन उपलब्ध गराइरहेको छ । ४.६७ प्रतिशतको आधार दरमा ०.५ प्रतिशत प्रिमियम थप गरि बैंकले ७ वर्षका लागि ऋण उपलब्ध गराएको हो । बैंकले ५.९९ प्रतिशतदेखि ७.९९ प्रतिशतसम्मको स्थिर व्याजदरमा ३ देखि ७ वर्षका लागि कर्जा दिनेछ ।
महालक्ष्मी विकास बैंकले ५.६४ प्रतिशतको आधार दरमा ०.८५ प्रतिशत प्रिमियम थप गरि ६.४९ प्रतिशत व्याजदर सवारी कर्जा उपलब्ध गराउनेछ । ०.७५ प्रतिशत सेवा शुल्क लाग्ने पनि बैंकले जनाएको छ ।
त्यसैगरी, मुक्तिनाथ विकास बैंकले प्रिमियम नलिने घोषणा सहित आधार दर ५.१७ प्रतिशतमा नै कर्जा उपलब्ध गराउने जनाएको छ । कागजात पुरा भएको २४ घण्टामा कर्जा उपलब्ध गराउने बैंकको भनाई छ । नाडा अटो शो लक्षित ब्याजदर योजना भदौ मसान्तसम्म देशभरका १७६ वटै शाखामा उपलब्ध हुने बैंकले जनाएको छ ।
नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र गोर्खाज फाइनान्सले पनि प्रलर्शनीस्थलबाट सेवा दिँदै आइरहेका छन् । नाडा प्रदर्शनीमा सहभागि १३ बैंकहरुले स्टलबाट नै अटो लोनको प्रक्रिया, आवश्यक कागजात तथा कर्जासम्बन्धी परामर्श दिइरहेका छन् । विद्युतीय सवारीसाधनको बढ्दो आकर्षणसँगै बैंकहरूको अटो फाइनान्सिङ सुविधाले ग्राहकलाई सजिलो हुने बैंकहरूको विश्वास छ ।
नाडा अटो शो २०२६ भदौ ९ देखि १४ गते सम्म भृकुटीमण्डपमा सञ्चालन भइरहेको छ । प्रदर्शनीमा २०० भन्दा बढी स्टल छन् । त्यसमध्ये २३ वटा प्यासेन्जर कार, १७ वटा लाइट कमर्सियल भेहिकल, १३ वटा दुईपांग्रे ब्रान्ड सहित बैंक वित्तीय संस्था समेत प्रदर्शनीमा सहभागि छन् ।





प्रतिक्रिया