काठमाडौँ । नेपालमा पछिल्लो समय डिजिटल भुक्तानी प्रणालीमार्फत् हुने कारोबारमा वृद्धि हुँदै गएको पाइएको छ । ठूला डिपार्टमेन्ट स्टोरदेखि साना पसलमा पनि क्युआर स्क्यानको सुविधा उपलब्ध हुँदै गएपछि यसबाट हुने कारोबारमा उल्लेख्य वृद्धि भएको छ ।
पछिल्लो समय सहरी क्षेत्रमा मात्रै नभई ग्रामीण क्षेत्रमा रहेका चिया पसलदेखि अन्य पसलमा पनि डिजिटल कारोबार तथा भुक्तानी हुन थालेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणअनुसार कनेक्ट आइपिएस, फास्टर पेमेन्ट, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट र क्युआर कोडजस्ता भुक्तानीका माध्यमबाट हुने कारोबार रकममा वृद्धि हुँदै गरेको देखिन्छ ।
यी विभिन्न माध्यमहरुमध्ये मोबाइल बैंकिङ मार्फत सबैभन्दा बढी कारोबार भएको छ । गत आर्थिक वर्ष मोबाइल बैंकिङ मार्फत ६६ खर्ब ३६ अर्ब ८४ कारेड रुपैयाँ बराबरको कारोबार भएको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा २५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष ५० खर्ब १८ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । बैंक तथा वित्तीय संस्थाहरुले डिजिटल कारोबारलाई प्राथमिकताका साथ अगाडि बढाएपछि मोबाइल बैंकिङमा उल्लेख्य वृद्धि भएको हो ।
त्यस्तै, बैंकको तथ्यांकअनुसार पछिल्लो समय क्युआरकोड अर्थात् ‘क्विक रेस्पोन्स पेमेन्ट’ सेवा र मोबाइल वालेटमा पनि सर्वसाधारणको मुख्य आकर्षण बन्दै आइरहेको छ । पछिल्लो एक वर्षको अवधिमा क्यूआरबाट हुने भुक्तानी पनि ४० प्रतिशतले बढेको छ । अघिल्लो वर्ष क्यूआरबाट ९ खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँबराबरको कारोबार भएकोमा गत वर्ष बढेर १५ खर्ब ९६ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।
वालेटबाट हुने कारोबारमा पनि उल्लेख्य वृद्धि आएको छ । पछिल्लो १ वर्षको तथ्यांक हेर्ने हो भने पनि विभिन्न वालेटबाट हुने कारोबार करिब १४ प्रतिशतले बढेको छ । गत वर्ष वालेटबाट ५ खर्ब ८८ अर्ब १७ करोड रुपैयाँबराबरको कारोबार भएको छ । अघिल्लो वर्ष वालेटबाट ५ खर्ब ६ अर्ब ३१ करोड रुपैयाँबराबरको कारोबार भएको छ ।
त्यस्तै, इन्टरनेट बैंकिङको प्रयोग पनि बढिरहेको छ । अघिल्लो वर्षसम्म इन्टरनेट बैंकिङबाट २ खर्ब ३३ अर्ब ८० करोड रुपैयाँबराबरको कारोबार भएकोमा गत वर्ष १६ प्रतिशतले बढेर २ खर्ब ७८ अर्ब ५४ करोड रुपैयाँबराबरको कारोबार भएको छ ।
फास्टर पेमेन्टमार्फत हुने कारोबार एक वर्षमा १७ प्रतिशतले बढेर ६३ खर्ब ६२ अर्ब ३९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो वर्ष ५२ खर्ब ४१ अर्ब ७० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । कनेक्ट आइपिएसबाट गत वर्ष ३४ खर्ब ६५ अर्ब ४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जुन अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष २९ खर्ब ११ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
पछिल्लो समय डिजिटल कारोबारको हरेक क्षेत्रको काममा राहत पुर्याएकोे छ । सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिस्ट्रेसन तथा सेवा शुल्कजस्ता विभिन्न क्षेत्रका शुल्कहरू भुक्तानी गर्न डिजिटल बैंकिङ कारोबारले निकै सहजता प्रदान गरेको छ ।
त्यस्तै, विद्युत् सेवा, खानेपानी सेवा, बीमा प्रिमियम, दूरसञ्चार सेवा, सामाजिक सुरक्षा भत्तालगायतको रकमको भुक्तानी गर्न सकिन्छ ।
शिक्षण संस्था विद्यालय÷कलेज, स्वास्थ्य संस्था, हवाई सेवा, यातायात सेवा र होटल तथा रेष्टुरेन्ट सेवा कारोबारको भुक्तानी गर्नुपर्ने बिलको रकम भुक्तानी गर्न र धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्राप्त धितोपत्र दलालहरूसँग धितोपत्रहरूको कारोबार गरेबापत सेवाग्राही ग्राहकबाट प्रति भुक्तानी कारोबार गर्न सकिन्छ ।
बढ्दो स्मार्टफोनको विस्तार र इन्टरनेटको पहुँचसँगै हरेक मानिसमा नगदरहित कारोबारले ठूलो गति समातेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेल बताउँछन् ।
बजारमा तरकारी खाद्यान्न वा अन्य सामान किन्नदेखि लिएर गाडी सवार गर्दासम्म नोट बोक्नु पर्दैन । सञ्चारका बिल खानेपानी बिल विद्युतीय महसुल इन्टरनेट वा टेलिभिजनका बिलहरुपनी सजिलै डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिन्छ यसो हुँदा डिजिटल कारोबारको व्यापक रुपमा प्रयोग बढेको उनको भनाई छ ।
‘सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूले पनि डिजिटल कारोबारको लागि बढवा दिइरहेका छन् ।’ उनले भने, ‘त्यसको मुख्य कारण सेवाग्राहीहरुलाई डिजिटल साक्षर बनाई बैंकमा हुने भिड र लाइनलाई कम गर्नु हो साथै ग्राहकहरुले छिटो र छरितो बैंकिङ सेवाको पहुँच पाउन भन्ने हो ।’





प्रतिक्रिया