अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापार विवाद चर्काउँदै विभिन्न क्यानाडाली वस्तुको आयातमा प्रतिबन्ध तथा उच्च शुल्क लगाउने निर्णय गरेका छन । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी निर्भरता घटाउँदा लागत बढ्ने भए पनि दीर्घकालीन लाभ त्यसको पीडाभन्दा बढी हुने बताए।
ट्रम्पको कार्यकारी आदेशअनुसार गद्दा, मोटरबोट र गल्फ कार्टलगायत क्यानाडाली उत्पादनमा सेप्टेम्बर १५ देखि ५० प्रतिशत अतिरिक्त शुल्क लाग्नेछ । मादक पेय पदार्थ तथा केही दुग्ध उत्पादनको आयातमा सेप्टेम्बर २९ देखि प्रतिबन्ध लगाइनेछ ।
वासिङ्टनले अगस्ट २२ मा क्यानाडाली वस्तुमा शुल्क लगाएपछि ओटावाले अमेरिकी आयातमा २७ अर्ब ६० करोड क्यानाडाली डलर बराबरको प्रतिशोधात्मक शुल्क लगाएको थियो । त्यसको प्रतिक्रियामा ट्रम्पले क्यानाडाली कम्पनीलाई अमेरिकी सरकारी ठेक्काबाट वञ्चित गर्ने चेतावनीसमेत दिएका छन ।
यसअघि उनले क्यानाडाली विमान निर्माता बोम्बार्डियरको बिक्री रोक्ने प्रयास गर्ने चेतावनी दिएका थिए । त्यसप्रति कान्सासका रिपब्लिकन सिनेटर रोजर मार्सल र जेरी मोरानले अमेरिकी रोजगारी जोगाउन ह्वाइट हाउसमा चासो राखेको बताए छ ।
प्रधानमन्त्री कार्नीले व्यापार विवाद बढाउने पक्षमा आफू नरहेको बताउँदै कामदार, कम्पनी र समुदायको सुरक्षाका लागि क्यानाडाले शुल्क लगाउनुपरेको उल्लेख गरे । अगस्ट २१ मा वासिङ्टनमा वार्ता विफल भएपछि दुई देशबीच व्यापार वार्ता पुनः सुरु भएको छैन ।
अमेरिकासँग क्यानाडाको आर्थिक निर्भरता उच्च छ । क्यानाडाको करिब ६० प्रतिशत आयात अमेरिकाबाट आउँछ भने करिब ७० प्रतिशत निर्यात अमेरिकी बजारमा जाने गरेको छ । अमेरिकी शुल्कको असर कम गर्न क्यानाडा सरकारले व्यवसायी र कामदारका लागि सात अर्ब ५० करोड क्यानाडाली डलरको सहायता प्याकेज सार्वजनिक गरेको छ ।





प्रतिक्रिया