बुद्ध रिजेन्सीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त


काठमाडौँ । लुम्बिनीको सिद्धार्थनगरमा सञ्चालनमा रहेको पाँचतारे होटल बुद्ध रिजेन्सी लिमिटेडले सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ ।

आईपीओ निष्कासनसम्बन्धी सम्झौतामा बुद्ध रिजेन्सीका तर्फबाट सञ्चालक सुनिल अग्रवाल र लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले भदौ २५ गते नयाँ बानेश्वरस्थित लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार कम्पनीले निकट भविष्यमा सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्नेछ ।

बुद्ध रिजेन्सी होटल सिद्धार्थनगर (भैरहवा) स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ठीक अगाडि सञ्चालनमा रहेको पाँचतारे लक्जरी होटल हो । होटलले विन्डहम होटल्स एन्ड रिसोर्ट्ससँग साझेदारी गरी ‘रामाडा बाइ विन्डहम’ ब्रान्डअन्तर्गत सेवा दिँदै आएको छ ।

होटलमा १०० भन्दा बढी सुविधायुक्त कोठा रहेका छन् । त्यस्तै, विवाह समारोहका लागि ठूला बैंक्वेट हल तथा कर्पोरेट सम्मेलनका लागि दुईवटा छुट्टै हलको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: २५ भाद्र २०८३, बिहिबार  १७ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।