मध्य भोटेकोशी जलविद्युत कम्पनीको साधारण शेयर स्थगित


मध्य भोटेकोशी जलविद्युत कम्पनीले वैशाख २१ गते मंगलबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई निष्कासन गरेको साधारण शेयर स्थगित भएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण सिन्धुपाल्चोक जिल्लामा वैशाख २३ गतेदेखि वैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गरिए पछि शेयर निष्काशन स्थगित गरिएको हो । निषेधाज्ञाका कारण आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई आईपीओ भर्न असहज हुने भएकाले आईपीओ स्थगित गरिएको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

कम्पनीले पहिलो चरणमा १०० रुपैंया अंकित मूल्यको दरमा ६० लाख कित्ता शेयर आयोजना प्रभावितका लागि निष्काशन सुरु गरेको थियो । सिन्धुपालचोकका आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि निष्काशन सुरु गरिएको शेयर स्थगित गरिएको हो ।

कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको थियो ।

कुल निष्काशनमा आउने शेयरमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं.५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुमा बाँडफाँड गरिने जनाइएको छ ।

यसैगरी बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्ता सिन्धुपाल्चोक जिल्लाको अन्य गाउँपालिकामा तथा नगर क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्टाइएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।