एटीएमबाट १०० रुपैयाँ दरका नोट वितरण गर्न राष्ट्र बैंकको निर्देशन, बैंकहरु भन्छन् – तत्काल सम्भव छैन

AI GENERATED IMAGE

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्न निर्देशन दिएको करिब दुई साता पुग्न लागेको छ । उक्त निर्देशन कार्यान्वयन गर्न बैंकहरू अहिले आवश्यक प्राविधिक तयारीमा जुटेका छन् ।

तर दशैंअघि नै सबै एटीएमबाट १०० रुपैयाँका नोट निकाल्न सकिने अवस्था भने अझै निश्चित भइसकेको छैन ।

राष्ट्र बैंकले आगामी बडादशैंलाई लक्षित गर्दै एटीएमबाट १०० रुपैयाँका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन गत भदो २९ गते बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो । बैंकले चाडपर्वका बेला साना दरका नोट साट्न बैंकका काउन्टरमा सर्वसाधारणको भीड बढ्ने भएकाले त्यसलाई कम गर्ने उद्देश्यले यस्तो व्यवस्था गर्न लागेको हो ।

हाल अधिकांश बैंक तथा वित्तीय संस्थाका एटीएमबाट मुख्य रूपमा ५०० र १ हजार रुपैयाँ दरका नोट वितरण हुँदै आएका छन् । अब १०० रुपैयाँको नोटसमेत एटीएमबाट उपलब्ध गराउने व्यवस्था भएमा सर्वसाधारणलाई आवश्यकताअनुसार सानो रकम निकाल्न सहज हुनेछ ।

तर राष्ट्र बैंकको निर्देशन आए पनि सबै एटीएममा तत्कालै १०० रुपैयाँका नोट राख्न सकिने अवस्था नरहेको बैंक अधिकारीहरू बताउँछन् । एटीएमको मोडल, क्यासेटको क्षमता, सफ्टवेयर तथा बैंकको स्विच प्रणालीअनुसार आवश्यक प्राविधिक परिवर्तन गर्नुपर्ने भएकाले कार्यान्वयन बैंकपिच्छे फरक हुन सक्ने देखिएको छ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) का सूचना अधिकारी राजेश शर्माका अनुसार एटीएमबाट १०० रुपैयाँका नोट वितरण गर्नु असम्भव विषय भने होइन । एटीएममा विभिन्न दरका नोट राख्न छुट्टाछुट्टै क्यासेट हुने भएकाले आवश्यक क्यासेट थपेर १०० रुपैयाँका नोट वितरण गर्न सकिने उनले बताए । “असम्भव भन्ने छैन । एटीएममा फरक–फरक क्यासेट हुन्छन् ।

अहिले ५०० र १ हजार रुपैयाँका नोट राख्ने गरिएको छ । आवश्यक परे १०० रुपैयाँका लागि छुट्टै क्यासेट राखेर वितरण गर्न सकिन्छ,” शर्माले भने ।

तर सबै एटीएमको प्रविधि एउटै नभएकाले केही मेसिनमा यस्तो सुविधा तत्काल लागू गर्न समस्या आउन सक्ने उनले बताए । विशेषगरी पुराना एटीएममा १०० रुपैयाँका नोट राख्न आवश्यक पर्ने क्यासेट थप गर्न नमिल्ने वा पुरानो सफ्टवेयरले त्यसलाई सपोर्ट नगर्ने अवस्था हुन सक्ने उनको भनाइ छ ।

“सबै कुरा एकैपटक कम्प्याटिबल हुन्छ भन्ने हुँदैन । कतिपय पुराना एटीएममा त्यस्तो क्यासेट राख्न नमिल्न सक्छ । नयाँ एटीएममा भने यस्तो विकल्प हुने सम्भावना बढी हुन्छ,” शर्माले भने । एटीएमको प्राविधिक क्षमताले साथ दिएमा आवश्यक अपग्रेड गरेर १०० रुपैयाँका नोट वितरण गर्न सकिने शर्माको भनाइ छ ।

राष्ट्र बैंकको निर्देशनपछि बैंकहरूले आफ्ना एटीएमको प्राविधिक अवस्था हेरेर कुन मेसिनमा १०० रुपैयाँका नोट राख्न सकिन्छ भन्ने अध्ययन गरिरहेको बताएका छन् । “आवश्यकता परे भेन्डरसँग कुरा गरेर केही न केही समाधान निकाल्न सकिन्छ । सबै एटीएममा एकैपटक गर्न नसकिए पनि गर्न सकिने एटीएममा यस्तो व्यवस्था मिलाउन सकिन्छ,” उनले भने ।

उनका अनुसार नयाँ पुस्ताका एटीएममा विभिन्न दरका नोट राखेर वितरण गर्ने विकल्प हुने भएकाले त्यस्ता मेसिनमा १०० रुपैयाँको नोट थप गर्न तुलनात्मक रूपमा सहज हुन सक्छ । शर्माका अनुसार बजारमा साना दरका नोटको आवश्यकता रहेकाले एटीएमबाटै १०० रुपैयाँका नोट उपलब्ध गराउन सकिएमा सर्वसाधारणलाई सहज हुनेछ । “खुत्रा पनि चाहियो । हजार रुपैयाँभन्दा कम निकाल्न नपाउने भन्ने हुँदैन । १०० रुपैयाँका नोट प्रयोगमा आएपछि त्यसले सहज बनाउँछ,” उनले भने । विगतमा पनि इन्भेष्टमेन्ट बैंकले यस्तो अभ्यास गरिसकेको उनले बताए ।

यस्तै, ग्लोबल आइएमई बैंकका डिसिईओ सुमन अधिकारीका अनुसार एटीएमबाट १०० रुपैयाँका नोट वितरण गर्ने विषयमा प्राविधिक काम गरिरहेको छ । उनका अनुसार १०० रुपैयाँका नोट राख्न एटीएमको कन्फिगरेसनमा परिवर्तन गर्नुपर्ने हुन्छ । त्यससँगै बैंकको स्विच प्रणालीमा समेत केही परिवर्तन गर्नुपर्ने हुन सक्छ । “हामी यसमा काम गरिरहेका छौँ । प्राविधिक रूपमा हेरिरहेका छौँ,” अधिकारीले भने । राष्ट्र बैंकले एटीएममा १०० रुपैयाँका नोट राख्न निर्देशन दिएपछि त्यसअनुसार तयारी गरिरहेको उनले बताए । “राख्न त राख्नुपर्छ । राष्ट्र बैंकले राख भनेको छ । त्यसअनुसार हामी काम गरिरहेका छौं,” उनले भने ।

दशैंअघि सुविधा सुरु होला ?

बैंकरहरूका अनुसार प्राविधिक रूपमा सम्भव हुने मेसिनमा सुविधा सुरु गर्ने प्रयास भइरहेको छ । “हामी ट्राइ गरिरहेका छौँ । सम्भव हुन्छ होला । जति मेसिनमा सम्भव हुन्छ, त्यहाँ गर्ने भन्नेमा लागिरहेका छौं,” अधिकारीले भने । यसको अर्थ दशैंअघि नै बैंकका सबै एटीएममा १०० रुपैयाँका नोट उपलब्ध हुने सम्भावना भने नरहेको उनको भनाई छ । कुन एटीएममा यस्तो सुविधा लागू गर्न सकिन्छ भन्ने कुरा मेसिनको प्राविधिक क्षमता र आवश्यक प्रणालीगत परिवर्तनमा निर्भर हुनेछ ।

बैंकरहरूका अनुसार हाल अधिकांश एटीएम ५०० र १ हजार रुपैयाँका नोट वितरण गर्ने गरी कन्फिगर गरिएका छन् । १०० रुपैयाँको नोट थपिएपछि एटीएममा तीनवटै दरका नोट राख्ने कि दुईवटा दरका नोट मात्रै राख्ने भन्ने विषय प्राविधिक रूपमा हेर्नुपर्ने हुन्छ । एटीएममा नोट राख्ने क्यासेटको संख्या सीमित हुने भएकाले सबै मेसिनमा १००, ५०० र १ हजार रुपैयाँका नोट एकैपटक राख्न सम्भव हुन नसक्ने उनीहरूको भनाई छ ।

“अहिले ५०० र १ हजार रुपैयाँका नोट राख्ने गरी कन्फिगर गरिएको छ । १०० रुपैयाँको नोट पनि राखेपछि तीनवटा हुनुपर्ने हुन्छ । अथवा १०० र ५०० मात्रै वा १ हजार मात्रै राख्ने कि भन्ने विषय पनि प्राविधिक रूपमा हेर्नुपर्ने हुन्छ,” अधिकारीले भने ।

राष्ट्र बैंकको निर्देशन कार्यान्वयन भए पनि सबै एटीएममा एकैपटक १०० रुपैयाँका नोट उपलब्ध हुने अवस्था नरहेको बैंक अधिकारीहरूको भनाइ छ । पुराना एटीएममा क्यासेट थप गर्न नमिल्ने, सफ्टवेयरले नयाँ कन्फिगरेसन सपोर्ट नगर्ने वा बैंकको स्विच प्रणालीमा आवश्यक परिवर्तन गर्नुपर्ने अवस्था आएमा थप समय लाग्न सक्ने बैंकरहरूको भनाई छ ।

यसकारण दशैंअघि प्राविधिक रूपमा सम्भव भएका एटीएममा १०० रुपैयाँका नोट राख्ने र क्रमशः अन्य मेसिनमा पनि सुविधा विस्तार गर्ने तयारी बैंकहरूको देखिन्छ ।

प्रकाशित मिति: ११ आश्विन २०८३, आइतबार  ०७ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।