काठमाडौँ । लगातारको वर्षाका कारण काठमाडौँ उपत्यकामा तरकारीको आपूर्ति प्रभावित हुँदा तरकारीको मूल्य बढ्न थालेको छ । वर्षाका कारण सडक तथा ग्रामीण सडकमा अवरोध, खेतबारीमा उत्पादनमा क्षति र ढुवानीमा कठिनाइ भएपछि बजारमा तरकारीको भाउ महँगिएको हो ।
केही दिनयता बजारमा अधिकांश तरकारीको मूल्य बढेको उपभोक्ताको गुनासो छ । काठमाडौँ उपत्यकामा दैनिक उपभोग हुने ठूलो परिमाणको तरकारी काभ्रे, धादिङ, नुवाकोट, मकवानपुर, चितवनलगायत जिल्लाबाट आयात हुन्छ ।
ती जिल्लाका कतिपय ग्रामीण सडक वर्षाका कारण प्रभावित हुँदा तरकारी बजारसम्म ल्याउन समस्या भइरहेको व्यवसायीहरूको भनाइ छ । सडकमा पहिरो जाने, हिलो हुने तथा यातायात सञ्चालनमा जोखिम बढ्दा नियमित रूपमा हुने आपूर्ति प्रभावित भएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार वर्षाका कारण तरकारी तथा फलफुल आपूर्ति शृङ्खला खलबलिएको छ । कालीमाटी तरकारी बजार विकास समितिको आपूर्ति तथ्यांक हेर्दा बुधबार कालीमाटी बजारमा ६ लाख १३ हजार ५८० किलो तरकारी र ८१ हजार ४७५ किलो फलफूल भित्रिएको थियो । तर, वर्षा निरन्तर हुँदा बिहीबार ५ लाख ५५ हजार ९०४ किलो र फलफूल ७४ हजार १०५ किलोमा सीमित रहेको थियो ।
त्यस्तै, शुक्रबार भने २ लाख २ हजार २ हजार ३६ किलो तरकारी र २५ हजार ४८६ किलोमात्र फलफूल कालीमाटी भित्रिएको थियो भने शनिबार केही सुधार आएर ४ लाख ७७ हजार ७०८ किलो तरकारी र ५३ हजार ४५ किलो फलफूल बजारमा भित्रिएको तथ्यांकमा उल्लेख गरिएको छ । त्यसैगरी आइतबार भने १ लाख ९ हजार ५६ किलो तरकारी र २० हजार २६६ किलो फलफूल भित्रिएको उल्लेख छ ।
आपूर्तिमा आएको यो समस्यासँगै बजारमा विभिन्न तरकारी तथा फलफुलको थोक मूल्यमा गत बुधबारको तुलनामा आइतबार उच्च वृद्धि भएको छ ।
५ दिनको अवधीमा सबैभन्दा बढी गोलभेडामा मूल्यमा वृद्धि भएको छ । गत बुधबार प्रतिकेजी ६५ रुपैयाँमा पाइने ठूलो गोलभेडा आइतबारसम्ममा ६९.२३ प्रतिशतले बढेर प्रतिकेजी ११० रुपैयाँ पुगेको छ । प्रतिकेजी ४७ रुपैयाँ रहेको सानो गोलभेडा ३६ प्रतिशतले बढेर ६५ रुपैयाँ पुगेको हो ।
त्यस्तै, करेलाको मूल्य पनि ६५ रुपैयाँबाट १५ प्रतिशतले बढेर ७५ रुपैयाँ पुगेको छ भने लौका पनि ५५ रुपैयाँबाट बढेर ६५ रुपैयाँ पुगेको छ । परवल १५ प्रतिशतले बढेर ६५ रुपैयाँ पुगेको तथ्यांकमा उल्लेख गरिएको छ ।
प्रतिकेजी १५ रुपैयाँमा पाइने स्कुस २५ प्रतिशतले बढेर १८ रुपैयाँ पुगेको हो । लोकल काक्रो ३५ रुपैयाँबाट ४० रुपैयाँ पुगेको छ भने प्रतिकेजी १२५ रुपैयाँमा पाइने हरियो धनियाँ ४० प्रतिशतले बढेर १७५ रुपैयाँ पुगेको छ । हरियो फर्सी ३५ रुपैयाँबाट ५५ रुपैयाँ पुगेको छ भने लोकल बन्दा ४४ प्रतिशतले बढेर ६५ रुपैयाँ पुगेको हो ।
निरन्तर वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्दा शुक्रबार नेपालका प्रमुख राजमार्गमध्ये केही अवरुद्ध तथा केहीमा यातायात प्रभावित भए । उपत्यकालाई देशका विभिन्न भागसँग जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथमा समेत पहिरोका कारण विभिन्न सडक खण्ड प्रभावित भए । यसले उपत्यकाको आपूर्तिमा प्रभाव पारेको छ । भारी वर्षा, बाढी र पहिरोका कारण बालीमा क्षति पुग्नुका साथै मुख्य सडकमार्ग अवरुद्ध हुँदा उपत्यकामा तरकारीको आपूर्ति प्रभावित हुने गरेको छ ।
वर्षाका कारण नियमित आपूर्ति प्रभावित हुँदा कालीमाटीमा तरकारी आपूर्ति कम भएको कालीमाटी तरकारी बजार समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।
‘प्रमुख चाडपर्व नजिकिँदै गएको छ, यस समयमा तरकारीको माग बढ्छ,’ उनले भने, ‘वर्षाले तरकारी आपूर्ति कम भएको छ, यसले मूल्यमा समेत असर पारेको छ ।’
उनका अनुसार, पछिल्लो समय मूल्यवृद्धि दर नै उच्च रहँदै आएको छ । पछिल्ला केही वर्षयता ढिला मनसुन सुरु हुने गरेको छ । बेमौसमी वर्षाले तरकारी उत्पादनमा ठूलो क्षति पु¥याउने र आपूर्ति शृंखला प्रभावित हुने गरेको छ । गत वर्ष पनि यही समयमा वर्षा हुँदा हिउँदे तरकारीको मूल्यमा समेत असर परेको थियो ।
गत वर्ष मनसुन ढिला हुँदा तरकारी लगाउने समयसमेत प्रभावित भएको थियो । सेप्टेम्बर र अक्टोबरमा भएको वर्षाका कारण तरकारी उत्पादन घट्दा गत हिउँदमा काउलीलगायत मौसमी तरकारीको मूल्य उच्च थियो । यस पटक पनि आपूर्ति प्रभावित भएपछि एक सातामै केही मौसमी तरकारीको थोक मूल्य उल्लेख्य रूपमा बढेको हो ।
अहिले लगातारको वर्षाले उत्पादनदेखि ढुवानीसम्म प्रभावित हुँदा तरकारीको मूल्य बढेको देखिए पनि यसको भार अन्ततः उपभोक्ताको भान्सामै परेको छ । आम उपभोक्ताको भान्सामा दैनिक प्रयोग हुने वस्तुमध्ये तरकारी प्रमुख भएकाले यसको मूल्यमा भएको सामान्य वृद्धिले पनि मासिक खर्च बढाउने गरेको छ ।
त्यस्तै, किसानका लागि पनि लगातारको वर्षा चुनौतीपूर्ण बनेको छ । खेतमा लगाइएको तरकारीमा पानी जम्दा बोट कुहिने, रोग तथा किराको प्रकोप बढ्ने र उत्पादन घट्ने समस्या देखिएको छ । कतिपय स्थानमा खेतबारीमा बाढी पस्दा तयार हुन लागेको तरकारीसमेत नष्ट भएको किसानहरूले बताएका छन् ।









