देश चुनावमा होमिएपछि नेप्से सूचकमा फेरि नयाँ रेकर्ड, ११ अर्ब ६९ करोडको कारोबार

0
Shares

राजनैतिक अन्योलताका बीच साताको पहिलो कारोबार दिन आइतबार सुरुवातमा नेप्से ऋणात्मक भएपनि देश चुनावी माहोलमा होमिएपछि पुनः नयाँ रेकर्ड कायम गर्दै बन्द भएको छ ।

आइतबार भएको कारोबार रकमका आधारमा पनि दोस्रो ठूलो हो ।

आइतबार नेप्से ३२.८१ अंकले बढेर २८२० बिन्दुमा बन्द भएको छ । यसअघि जेठ ४ गते नेप्से २ हजार ७९३.९० बिन्दुमा पुगेर अल टाई हाइको रेकर्ड कायम भएकोमा आइतबार उक्त रेकर्ड तोडिएको हो ।

यसअघि नेप्से सूचकमा रेकर्ड कायम भएको भोलिपल्ट जेठ ५ गते बुधबार शेयर बजारमा ११ अर्ब ९५ करोड रुपैयाँको शेयर कारोबार हुँदै सबैभन्दा ठूलो कारोबारको रकेर्ड कायमै छ ।

शुक्रबार राति प्रतिनिधिसभा विघटनपश्चात अल्पकालीन लगानीकर्ताहरुमा बजार के होला भन्ने कौतुहलता रहेकोमा आइतबार प्रि-ओपनिङ्गमा नै बजार घटेपछि सुरुमा प्यानिक सेल देखिएको थियो । तर चुनावी प्रभाव आंकलन गरेका लगानीकर्ताको प्रवेशसँगै बजारले सकारात्मक मोड लिएको थियो । सरकारबाट आगामी कार्तिक २६ र मंसिर ३ गते चुनावको मिति तोकिएको छ । 

११ अर्ब ६९ करोडको कारोबार, हालसम्मकै दोस्रो ठूलो

आइतबार २२० कम्पनीको २ करोड ५१ लाख ६३ हजार कित्ता शेयर १ लाख २६ हजार १२४ पटकको कारोबारमा ११ अर्ब ६९ करोड ५० लाख ३४ हजार ७२८ रुपैयामा खरीद बिक्री भएका छन् ।

कारोबारमा आएका १३ समूहमध्ये १० वटा बढेको छ भने ३ वटा घटेको छ । होछल, निर्जीवन बीमा र लघुवित्तको सूचक सामान्य ऋणात्मक रहेको बजारमा विकास बैंकको इन्डेक्स सर्वाधिक ७.५४ प्रतिशत बढेको छ। त्यसैगरी फाइनान्स ६.७६, बैंकिङ्ग १.८० र जलविद्युतको परिसूचक १.६० प्रतिशतले बढ्दा बाँकी सामान्य बढेका छन् ।

नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार

आइतबारको बजारमा पनि नेपाल पुनर्बीमा कम्पनीको शीर्ष कारोबार भएको छ । कम्पनीको ४१ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

यसैगरी नेशनल लाइफको पनि विगत केही दिनयता उच्च कारोबार हुँदै आएको छ । दोस्रो ठूलो कारोबार भएको कम्पनीको ३७ करोड १४ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको हो ।

ज्योति विकास बैंक, मेगाा बैंक, गरिमा विकास बैंक अरुण भ्याली हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्टको २० करोड माथि कारोबार भएको आइतबारको बजारमा निफ्रा, मुक्तिनाथ विकास बैंक र कामना सेवा विकास बैंकको पनि १९ करोडको कारोबार भयो ।

डेढ दर्जन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि

आइतबार डेढ दर्जन कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ । नेप्सेले नयाँ उचाइ कायम गरेसँगै १६ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो । जसमा अधिकांश विकास बैंक, फाइनान्स र जलविद्युत कम्पनीहरु छन् ।

आइतबार कर्णाली डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, युनाइटेड इदीमार्दी एण्ड हाइड्रोपावर, कालिका पावर, बेष्ट फाइनान्स, गुडविल फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, बरुण हाइड्रोपावर, सिनर्जी पावर, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, आइसीएफसी फाइनान्स, सेन्ट्रल फाइनान्स, पोखरा फाइनान्स र समृद्धि फाइनान्सको शेयरमूल्य ९.६९ प्रतिशतभन्दा बढीले बढेको हो ।

मञ्जुश्री फाइनान्स, नारायाणी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, मल्टिपर्पस फाइनान्स, माउन्टेन हाइड्रो नेपाल लिमिटेड, रिलायन्स फाइनान्स र कामना सेवा विकास बैंकको शेयरमा लगानी गरेकाले पनि आइतबारको बजारबाट ८ प्रतिशत बढीले नाफा आर्जन गरेका छन् ।

रुरु जलविद्युतको मूल्य सर्वाधिक घट्यो

नेप्से सूचकले नयाँ रेकर्ड कायम गरेको दिनमा पनि रुरु जलविद्युत परियोजनाको मूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको मूल्य ३ दशमलव ७३ प्रतिशतले घटेर १ हजार ८३ रुपैयाँमा झरेको हो ।

यसैगरी समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ३ दशमलव ६८ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर २ दशमलव ५६, गुराँस लघुवित्त वित्तीय संस्थाको २ दशमलव ३७, आरम्भ चौतारी लघुवित्त २ दशमलव १७, नेपाल इन्भेष्टमेन्ट डिबेन्चर १ दशमलव ९३, सोल्टी होटल १ दशमलव ८३, कालिका लघुवित्त १ दशमलव ६५, यूनिलिभर नेपाल लिमिटेड १ दशमलव ६३, तारागाउँ रिजेन्सी होटल १ दशमलव ५१ र लक्ष्मी लघुवित्त वित्तीय संस्था १ दशमलव ४७ प्रतिशतले घटेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।