सिटिजन्स म्युचुअल फण्ड–२ को इकाईधनीलाई रकम भुक्तानी सुरु, औसत वार्षिक १०.४० प्रतिशत प्रतिफल


काठमाडौँ । सिटिजन्स क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको सिटिजन्स म्युचुअल फण्ड–२ ले सात वर्षे अवधि सफलतापूर्वक पूरा गर्दै इकाईधनीलाई फिर्ता गर्नुपर्ने रकम भुक्तानी सुरु गरेको छ। योजनाले आफ्नो सञ्चालन अवधिभर इकाईधनीलाई औसत वार्षिक १०।४० प्रतिशत नगद प्रतिफल प्रदान गर्न सफल भएको कम्पनीले जनाएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको बन्दमुखी सामूहिक लगानी कोष योजना सिटिजन्स म्युचुअल फण्ड–२ को कोष आकार ५६ करोड रुपैयाँ रहेको थियो। २०७६ असार २२ गतेदेखि सञ्चालनमा आएको उक्त योजना २०८३ असार २१ गते सात वर्षे अवधि पूरा गरी परिपक्व भएको हो।

योजनाले सञ्चालन अवधिभर इकाईधनीलाई वार्षिक रूपमा नगद लाभांश वितरण गर्दै औसत वार्षिक १०.४० प्रतिशत प्रतिफल दिन सफल भएको हो। योजना परिपक्व भएसँगै खारेजीसम्बन्धी प्रक्रिया पनि सम्पन्न भएको र इकाईधनीलाई फिर्ता गर्नुपर्ने रकम वितरणको काम सुरु भइसकेको कम्पनीले जनाएको छ।

नेपाली धितोपत्र बजारमा विभिन्न समयमा देखिएका उतारचढाव, बजार मूल्यमा आएको गिरावट तथा चुनौतीपूर्ण लगानी वातावरणका बाबजुद योजनाले निरन्तर प्रतिफल वितरण गर्न सफल हुनुलाई कम्पनीले आफ्नो व्यावसायिक लगानी व्यवस्थापन क्षमताको उपलब्धिका रूपमा लिएको छ।

यसअघि परिपक्व भएको सिटिजन्स म्युचुअल फण्ड–१ मार्फत पनि कम्पनीले इकाईधनीलाई औसत वार्षिक १२ प्रतिशत प्रतिफल प्रदान गरेको थियो।

सिटिजन्स क्यापिटलले सामूहिक लगानी कोष व्यवस्थापनमार्फत लगानीकर्तालाई प्रतिफल प्रदान गर्नुका साथै व्यवस्थित र दीर्घकालीन लगानी संस्कृतिको विकासमा योगदान पुर्‍याउँदै आएको जनाएको छ। हाल कम्पनीले सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, सिटिजन्स सदाबहार योजना र सिटिजन्स सन्तुलित योजनासहित विभिन्न सामूहिक लगानी कोष योजना व्यवस्थापन गरिरहेको छ।

यसैक्रममा कम्पनीले नयाँ बन्दमुखी सामूहिक लगानी कोष योजना ‘सिटिजन्स सुपर ५०’ सञ्चालनमा ल्याउने तयारी गरेको छ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त उक्त योजनाको इकाई निष्कासन २०८३ मंसिर २ गतेदेखि सुरु हुने तय भएको छ।

१० वर्षे अवधि रहेको सिटिजन्स सुपर ५० को प्रारम्भिक आकार एक अर्ब रुपैयाँ रहेको छ। माग तथा आवेदनको अवस्थाअनुसार योजनाको आकार अधिकतम एक अर्ब २५ करोड रुपैयाँसम्म कायम गर्न सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ। योजनामा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताले इकाई खरिदका लागि आवेदन दिन सक्नेछन्।

सिटिजन्स क्यापिटलले आफ्नो सामूहिक लगानी कोष व्यवस्थापन क्षमता तथा सेवाको गुणस्तरका लागि इक्रा नेपाल लिमिटेडबाट ‘एएमसी क्वालिटी थ्री प्लस’ रेटिङ प्राप्त गरेको छ। विगतका योजनाको व्यवस्थापनबाट प्राप्त अनुभव, संस्थागत क्षमता र व्यावसायिक दक्षताको उपयोग गर्दै सिटिजन्स सुपर ५० को लगानी व्यवस्थापनलाई व्यवस्थित, अनुशासित र व्यावसायिक बनाउने कम्पनीको लक्ष्य रहेको छ।

नयाँ योजनामार्फत दीर्घकालीन लगानीको अवसर उपलब्ध गराउनुका साथै पुँजी बजारमा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताको सहभागिता विस्तार हुने अपेक्षा कम्पनीले गरेको छ।

सिटिजन्स क्यापिटल लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा सविर बादे श्रेष्ठ रहेका छन्। कम्पनीले संस्थागत सुशासन, लगानीकर्ता हित संरक्षण तथा पुँजी बजारको विकासलाई प्राथमिकतामा राख्दै आफ्ना सेवा विस्तार गर्दै आएको जनाएको छ।

प्रकाशित मिति: १ मंसिर २०८३, मंगलबार  ११ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।