रुसी विमानद्वारा जापानी हवाई क्षेत्र उल्लंघन


काठमाडौँ । दुई संदिग्ध रुसी सैन्य विमानले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेपछि जापानले लडाकू विमान परिचालन गर्दै रुससँग कडा विरोध जनाएको छ ।

जापान सरकारका प्रवक्ता मिनोरु किहाराका अनुसार मङ्गलबार बिहान फुकुओकाको दक्षिणपश्चिममा पर्ने ओकिनोसिमा टापुनजिकै रुसी विमान जापानी हवाई क्षेत्रमा प्रवेश गरेका थिए । त्यसपछि जापानको आत्मरक्षा बलले ती विमानलाई चेतावनी दिन लडाकू जेट परिचालन गरेको थियो ।

किहाराले हवाई क्षेत्रको उल्लङ्घन जापानको सार्वभौमिकता र सुरक्षामाथिको गम्भीर खतरा भएको बताउँदै यस्तो गतिविधि अस्वीकार्य रहेको उल्लेख गरे। उनले कूटनीतिक माध्यमबाट रुससँग कडा विरोध जनाइएको र घटना नदोहोर्‍याउन माग गरिएको जानकारी दिए।

यसैबीच, दक्षिण कोरियाले पनि आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रुसी विमानको निगरानीका लागि लडाकू जेट परिचालन गरेको जनाएको छ । यद्यपि, रुसी विमानले दक्षिण कोरियाको सार्वभौम हवाई क्षेत्र उल्लङ्घन नगरेको सियोलले स्पष्ट पारेको छ ।

जापान र रुसबीच प्रशान्त महासागरका विवादित टापुको स्वामित्वलाई लिएर दशकौँदेखि तनाव रहँदै आएको छ । युक्रेन युद्धपछि जापानले रुसविरुद्ध अन्तर्राष्ट्रिय प्रतिबन्धमा सहभागिता जनाएसँगै सम्बन्ध थप बिग्रिएको हो । गत अगस्टमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विवादित कुरिल टापुको भ्रमण गरेको तथा त्यहाँबाट क्षेप्यास्त्र परीक्षण गर्ने रुसको घोषणाप्रति पनि जापानले विरोध जनाएको थियो ।

प्रकाशित मिति: १ मंसिर २०८३, मंगलबार  १० : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।