सिटिजन्स सुपर ५० म्युचुअल फण्डको इकाई निष्काशन खुला


काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको बन्दमुखी सामूहिक लगानी कोष योजना ‘सिटिजन्स सुपर ५०’ को इकाई निष्काशन तथा बिक्री खुला भएको छ। योजनाको इकाई निष्काशन २०८३ मंसिर २ गतेदेखि सुरु भएको हो।

नेपाल धितोपत्र बोर्डबाट २०८३ असोज ७ गते स्वीकृति प्राप्त यस योजनाको अवधि १० वर्ष रहेको छ। योजनाको प्रारम्भिक आकार १ अर्ब रुपैयाँ तोकिएको छ। माग तथा आवेदनको अवस्थाअनुसार योजनाको आकार अधिकतम १ अर्ब २५ करोड रुपैयाँसम्म कायम गर्न सकिने व्यवस्था रहेको सिटिजन्स क्यापिटलले जनाएको छ।

योजनाको इकाई निष्काशन छिटोमा २०८३ मंसिर ७ गते र ढिलोमा मंसिर १६ गतेसम्म खुला रहनेछ। योजनाको कायम आकारको १५ प्रतिशत रकम कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बीज पुँजीका रूपमा लगानी गर्नेछ।

सिटिजन्स सुपर ५० म्युचुअल फण्डको मुख्य विशेषता उत्कृष्ट तथा लगानीयोग्य ५० वटा कम्पनी छनोट गरी तिनका शेयरमा लगानी केन्द्रित गर्नु रहेको कम्पनीले जनाएको छ। योजनाले छनोट गरिएका कम्पनीहरूमा लगानी गर्दै विविधीकृत लगानी पोर्टफोलियो निर्माण गर्ने र व्यावसायिक लगानी व्यवस्थापनमार्फत दीर्घकालीन प्रतिफल अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।

विभिन्न कम्पनीको अध्ययन, छनोट र लगानी व्यवस्थापन गर्न कठिनाइ हुने लगानीकर्ताले समेत विशेषज्ञ योजना व्यवस्थापकमार्फत छनोट गरिएका कम्पनीहरूको पोर्टफोलियोमा सामूहिक रूपमा लगानी गर्ने अवसर पाउनेछन्।

यस योजनामा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताले आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले मेरो शेयर तथा आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत इकाई खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। इकाई बाँडफाँडपछि योजना नेपाल स्टक एक्सचेन्जमा सूचीकृत हुनेछ र दोस्रो बजारमार्फत कारोबार गर्न सकिनेछ।

सिटिजन्स क्यापिटलले सामूहिक लगानी कोष व्यवस्थापनमा हासिल गरेको अनुभव तथा संस्थागत क्षमताका आधारमा इक्रा नेपाल लिमिटेडबाट ‘एएमसी क्वालिटी थ्री प्लस’ रेटिङ प्राप्त गरेको छ। यसअघि कम्पनीले व्यवस्थापन गरेका बन्दमुखी योजनाहरू सिटिजन्स म्युचुअल फण्ड–१ र सिटिजन्स म्युचुअल फण्ड–२ मार्फत क्रमशः औसत वार्षिक १२ प्रतिशत र १०.४० प्रतिशत प्रतिफल प्रदान गरेको थियो।

विगतका योजनाबाट प्राप्त अनुभव, लगानी अनुशासन तथा इकाईधनीको हित संरक्षणलाई प्राथमिकतामा राख्दै नयाँ योजनालाई पनि व्यावसायिक र व्यवस्थित ढंगले सञ्चालन गर्ने कम्पनीको लक्ष्य रहेको छ।

सामूहिक लगानी कोष व्यवस्थापनका अतिरिक्त सिटिजन्स क्यापिटलले लगानी व्यवस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिस्ट्रार, धितोपत्र प्रत्याभूति तथा संस्थागत परामर्शलगायतका मर्चेन्ट बैंकिङ तथा पुँजी बजारसम्बन्धी सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित मिति: ३ मंसिर २०८३, बिहिबार  १० : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।