काठमाडौँ । मुलुकको बाह्य अर्थतन्त्रका सूचकमा सुधार देखिए पनि त्यसको प्रभाव आन्तरिक अर्थतन्त्रमा देखिन सकेको छैन । विदेशी विनिमय सञ्चिति बढेको छ, चालु खाता र शोधनान्तर स्थिति बचतमा छन् भने बैंकिङ प्रणालीमा पर्याप्त तरलता र घट्दो ब्याजदर छ ।
तर, व्यवसायीको आम्दानी र ऋण तिर्ने क्षमता भने कमजोर बन्दै गएको छ । जसको सङ्केत एक वर्षमै कालोसूचीमा पर्ने ऋणीको संख्या ४० हजार ८१९ ले बढ्नुले गरेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनअनुसार २०८३ असार मसान्तसम्म कालोसूचीमा सूचीकृत ऋणीको संख्या १ लाख ७० हजार ७९३ पुगेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तमा यस्तो संख्या १ लाख २९ हजार ९७४ रहेको थियो । यसरी एक वर्षमा कालोसूचीमा सूचीकृत ऋणीको संख्या ३१.४ प्रतिशतले बढेको हो ।
यसै अवधिमा मुलुकको विदेशी विनिमय सञ्चिति ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । चालु खाता ९ खर्ब २३ अर्ब ५६ करोड रुपैयाँ र शोधनान्तर स्थिति १ हजार २७ अर्ब ४ करोड रुपैयाँ बचतमा रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्र बैंकको तथ्याङ्कले मुलुकको बाह्य क्षेत्रको अवस्था सबल रहेको देखाउँछ । तर, बाह्य क्षेत्रका सूचकमा देखिएको सुधारअनुसार आन्तरिक आर्थिक गतिविधि भने चलायमान हुन सकेको छैन । बजारमा माग सुस्त रहेको छ भने व्यवसायको आम्दानी र नगद प्रवाह हुन सकेको छैन । त्यसको असर व्यवसायीको कर्जा भुक्तानी क्षमता परेको छ ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा पटक–पटक गरी कुल ४२ खर्ब ५१ अर्ब ६२ करोड ५० लाख रुपैयाँ तरलता प्रशोचन गरिएको छ । यस अवधिमा बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि कर्जाको माग अपेक्षाकृत रुपमा बढ्न सकेको छैन । वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदरसमेत २०८३ असारमा ६.५५ प्रतिशतमा झरेको छ । तर, ऋणीको भुक्तानी क्षमतामा भने सुधार हुन सकेको छैन । जसको कारण ऋणीहरू कालोसुचीमा पर्नेको संख्यामा उल्लेख्य वृद्धि हुँदै गएको छ ।
राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार कालोसूचीमा पर्ने ऋणीको संख्या बढ्नुमा आर्थिक गतिविधिमा आएको सुस्तता प्रमुख कारणमध्ये एक हो । पछिल्लो समय आर्थिक गतिविधि सुस्त हुनु र बैंक तथा वित्तीय संस्थाबाट कर्जाको माग अपेक्षाकृत बढ्न नसक्नुले व्यवसायीको आर्थिक अवस्था प्रभावित भएको उनको भनाई छ ।
पौडेलले कालोसूचीमा पर्नेहरूको संख्या मात्रै हेरेर निष्कर्ष निकाल्नुभन्दा त्यसको प्रकृति र कारणसमेत विश्लेषण गर्नुपर्ने बताए । उनका अनुसार चेक अनादरका कारण कालोसूचीमा परेका, कर्जा भुक्तानी नगरेका ऋणी, जमानतकर्ता तथा धितो मूल्याङ्कनकर्ताको संख्यालाई छुट्टाछुट्टै विश्लेषण गर्न आवश्यक छ ।
पछिल्लो समय आर्थिक गतिविधिमा आएको सुस्तताले व्यवसायीको कारोबार प्रभावित भएको र तोकिएको समयमा वित्तीय दायित्व पूरा गर्न नसक्ने अवस्था सिर्जना भएको उनले बताए । यसले पनि कालोसूचीमा पर्नेहरूको संख्या बढाएको उनको भनाइ छ ।
पौडेलका अनुसार नेपालमा कालोसूचीसम्बन्धी प्रावधान अन्य देशको तुलनामा केही कडा छन् । त्यसैले पनि कालोसूचीमा पर्नेहरूको संख्या तुलनात्मक रूपमा बढी देखिएको हुन सक्ने उनको बुझाई छ ।
कालोसूचीसम्बन्धी विद्यमान व्यवस्थामा आवश्यक परिमार्जन गर्न राष्ट्र बैंकले गृहकार्य गरिरहेको पनि पौडेलले बताए । राष्ट्र बैंकले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको मौद्रिक नीतिमा समेत यससम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने विषय समेटेको उनले जानकारी दिए ।
यता, हिमालयन बैंकका सूचना अधिकारी सुनील गोर्खाली पनि बजारमा माग घट्दा व्यवसायीको नगद प्रवाह कमजोर भएको बताउँछन् । व्यापार व्यवसायबाट आम्दानी हुन नसकेपछि ब्याजदर घटे पनि ऋणको साँवा ब्याज तिर्न कठिन भएको उनको भनाइ छ । “व्यापार नै भएन, सबैतिर माग नै छैन । खाद्यान्नकै बिक्री कम छ भन्ने सुनिन्छ । बिजनेस नै नभइसकेपछि ब्याज घटेर पनि व्यापारको साँवा–ब्याज तिर्ने भनेको त क्यास फ्लोबाट हो नि,” गोर्खालीले भने ।
उनका अनुसार धेरैजसो उद्योगका उत्पादन युनिट बन्द भइसकेका छन् । यसको असर साना, मझौला र ठूला सबै प्रकारका व्यवसायमा परेको छ । वैकल्पिक आम्दानीको स्रोत नहुने भएकाले साना तथा मझौला व्यवसायी बढी जोखिममा रहेको उनको भनाई छ । “कालोसूचीमा पर्नेहरू साना तथा मझौला धेरै छन्, तर ठूला व्यवसायी पनि छन् । साना तथा मझौलाको अर्को अतिरिक्त क्यास फ्लो हुँदैन, त्यही व्यवसायबाट हुने हो” उनले भने “तर ठूला घरानाका तीन–चारवटा उद्योग हुन्छन् । एउटा युनिट समस्यामा पर्दा अर्को युनिटबाट सहयोग भइरहेको हुन्छ ।”
उनका अनुसार अहिले घिउ उद्योगले तुलनात्मक रूपमा राम्रो गरिरहेको भए पनि सिमेन्ट, डन्डी र स्टिल उद्योगले राम्रो गर्न सकेका छैनन् । विगतमा सिमेन्ट उद्योगले राम्रो गर्दा घिउ उद्योगको अवस्था कमजोर रहेको थियो । त्यतिबेला ठूला व्यवसायीसँग एउटा उद्योगको आम्दानीबाट अर्को उद्योगको समस्या व्यवस्थापन गर्ने विकल्प हुने गरेको उनको भनाइ छ ।
सानो उद्योग वा व्यवसायमा समस्या आउँदा २०–२५ लाख रुपैयाँ कर्जा लिएका व्यवसायीसमेत आर्थिक दबाबमा पर्ने गरेको उनले बताए ।
कालोसूचीमा पर्ने ऋणीको संख्या बढ्दै जाँदा बैंक तथा वित्तीय संस्थाको कर्जा असुली र जोखिम व्यवस्थापनमा चुनौती थपिन सक्छ । कालोसूचीमा परेका ऋणीलाई औपचारिक बैंकिङ प्रणालीबाट नयाँ कर्जा लिन कठिन हुने भएकाले उनीहरूको व्यवसाय विस्तार र आर्थिक गतिविधिमा समेत थप दबाब पर्न सरोकारवालाहरू बताउँछन् ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य सर्वसाधारणको घट्दै गएको बताउँछन् । “नागरिकसँग खर्च गर्ने क्षमता नै घटेको अवस्थामा बजार कसरी चल्छ ? व्यापार बढ्नका लागि मानिससँग खर्च गर्ने क्षमता हुनुपर्छ,” उनले भने । पूँजीगत खर्च लक्ष्यअनुसार हुन नसक्दा पनि बजारमा आर्थिक गतिविधि विस्तार हुन नसकेको उनको भनाई छ । जसले कालोसुचीमा पर्ने संख्या बढ्दै गएको उनको भनाई छ ।









