क्लियरिङ हाउसको आइपिएस प्रणाली दैनिक ३ बजेसम्म सञ्चालन हुने


नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले सञ्चालन गरेको अन्तरबैंक भुक्तानी प्रणाली (एनसीएचएल आईपिएस) प्रणाली सञ्चालनको अवधि थप भएको छ । क्लियरिङ हाउसले बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म यो सेवा सञ्चालन गर्न सुरु गरिएको जनाएको छ । आईपिएस प्रणालीबाट हुने भुक्तानी तथा कारोबार बढे पछि क्लियरिङ हाउसल यो प्रणाली मार्फत गरिने बैकका ग्राहकहरुको कारोबार, नेपाल सरकार, पूँजी बजार, अर्ध सरकारी संस्थाहरु लगायतका विभिन्न कारोबारलाई अझ प्रभावकारी र सहज गर्न अवधि थप गरिएको जनाएको छ ।

नयाँ व्यवस्था अनुसार आइतबारदेखि बिहीबारसम्म आईपिएस प्रणाली बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ । यस अघि १० बजेदेखि दिउँसो १ बजेसम्म मात्र यो सेवा सञ्चालन हुँदै आएको थियो । ३ घण्टा मात्र सञ्चालन हुँदै आएको सेवालाई दैनिक ६ घण्टा पुर्याइएको क्लियरिङ हायसले जनाएको छ ।

विदेशी मुद्रामा हुने आईपिएस कारोबारहरु भने सोमबारदेखि बिहिबार सम्म कारोबार दिनमा नै फर्छौट हुने व्यवस्था २०७८ असोज ४ गते सोमबारदेखि कार्यान्वयनमा ल्याइएको एनसीएचएलले जनाएको छ । यस अघि बिहान १० बजे देखि दिनको १ बजेसम्म प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमा फर्छौट हुने गरेकोमा समय सीमा बृद्धीपछि प्रणालीमा आएका कारोबारहरु अर्को दिनमा फर्छौट हुने व्यवस्था यथावत् रहने छ । त्यसै गरी दिनको ३स्३० बजेसम्म प्राप्त भएका बैकको ट्रेजरी पेमेन्ट सम्बन्धी भुक्तानी आदेशहरु सोही दिनमा फर्छौट हुने छन् । शुक्रबार १२ः३० बजे सम्म प्राप्त भएका भुक्तानी आदेशहरु पनि सोही दिनमा फर्छौट हुने व्यवस्था मिलाईएको छ ।

हाल नगद तथा कागजमा आधारित भुक्तानीहरु भन्दा डिजिटल भुक्तानीको लोकप्रियता बढेसँगै एनसीएचएल आईपिएसमा बृद्धी भएको समय सीमाले ग्राहकहरुलाई थप सुविधा हुने विश्वास क्लियरिङ हाउसले लिएको छ । यो प्रणाली मार्फत तलब भत्ता, केन्द्रिय तथा स्थानीयसरकारी भुक्तानीहरु, सप्लायर/पार्टी पेमेन्टहरु, कस्टमर फण्ड ट्रान्स्फर, डिभिडेण्ड लगायतका विभिन्न भुक्तानीहरु नगद वा चेक बिना सिधै खाताबाटै रकमान्तर गर्न सकिन्छ ।

यस प्रणालीमा ५९ बैंक वित्तिय संस्थाहरु आबद्ध रहेका छन् ।

यस प्रणाली मार्फत प्रति कारोबार २० करोड रुपैंयासम्मको भुक्तानी गर्न सकिन्छ भने सरकारी भुक्तानी ३० करोड सम्म, ट्रेजरी पेमेन्ट सम्बन्धी भुक्तानी ५० करोडसम्म र सरकारी भुक्तानी २ अर्बसम्म गर्न सकिन्छ । हाल यो प्रणाली मार्फत मार्फत भुक्तानी कारोबारहरु बैंक⁄वित्तिय संस्थाको शाखा, कर्पोरेट⁄बिजनेस च्यानल, कर्पोरेट पे प्रणाली तथा नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) लगायतका च्यानलहरु मार्फत गर्न सकिन्छ ।

यो प्रणालीबाट कारोबार गर्दा २ रुपैंयादेखि देखि १० रुपैंयासम्म शुल्क लाग्ने क्लियरिङ हाउसले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।