१६ जीवन बीमा कम्पनीद्धारा १० लाख ६९ हजार लघु जीवन बीमालेख जारी, कुन कम्पनीको कति ?

0
Shares

जीवन बीमा कम्पनीले गत आवमा १० लाख ६९ हजार ५५८ वटा लघु जीवन बीमालेख जारी गरेका छन् । समितिले उपलब्ध गराएको तथ्यांक अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा १६ वटा जीवन बीमा कम्पनीहरुले सो संख्यामा लघु बीमालेख जारी गरी ५ अर्ब २४ करोड ४७ लाख ४४ हजार रुपैयाँ बीमाशुल्क उठाएका छन् ।

उक्त अवधिमा ३ जीवन बीमा कम्पनीले जीवन बीमालेख जारी गरेका छैनन् । राष्ट्रिय बीमा संस्थान, सन नेपाल लाइफ र ज्योती लाइफ इन्स्योरेन्सले गत आवमा लघु जीवन बीमालेख जारी गरेका छैनन् ।

यस अवधिसम्ममा सबैभन्दा धेरै बीमालेख जारी मेट लाइफ इन्स्योरेन्सले गरेको छ । यस अवधिमा कम्पनीमा ४ लाख ४ हजार ५१० वटा बीमालेख जारी भएका छन् । मेट लाइफ पछि सूर्या लाइफ इन्स्योरेन्सले ३ लाख ३८ हजार १२६ वटा बीमालेख जारी भएको छ ।

प्रभु लाइफ इन्स्योरेन्सले ९८ हजार ६१८, एलआइसीले ४६ हजार ९८०, आईएमई लाइफले ४६ हजार ५१०, सिटिजन लाइफले ४४ हजार १९१, प्राइम लाइफले ३६ हजार ६९० वटा बीमालेख जारी गरेका छन् ।

सबैभन्दा थोरै लघु जीवन बीमालेख जारी गर्ने कम्पनीमा महालक्ष्मी लाइफ इन्स्योरेन्स परेको छ । कम्पनीमा जम्मा ६ वटा बीमालेख जारी भएका छन् । यस्तै, नेशनल लाइफमा ८४ वटा, रिलायन्समा २८६, रिलायबल नेपाल लाइफमा ५९० र गुराँस लाइफमा ७९३ वटा बीमालेख जारी भएका छन् ।

बीमा समितिद्धारा लघु बीमा सम्बन्धी निर्देशिकाका अनुसार जीवन बीमातर्फ सावधिक लघु जीवन बीमा र म्यादी लघु जीवन बीमा गरी दुई प्रकारका छन् । त्यस्तै, निर्जीवन बीमातर्फ व्यक्तिगत दुर्घटना लघु बीमा, गार्हस्थ लघु बीमा र स्वास्थ्य लघु बीमा गरी तीन प्रकारका रहेका छन् ।

५ अर्ब बीमाशुल्क संकलन

१६ जीवन बीमा कम्पनीले गत आवमा ५ अर्ब २४ करोड ४७ लाख ४४ हजार ९० रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा सूर्या लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै बीमाशुल्क संकन गरेको छ । कम्पनीले गत आवको अवधिमा ३ लाख ३८ हजार १२६ लघु जीवन बीमालेख जारी सो बराबरको रकम संकलन गरेको हो । यस्तै, प्रभु लाइफ इन्स्योरेन्सले दुई अर्ब १० करोड १४ लाख २५ हजार ६७० रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । उक्त अवधिमा कम्पनीले ९८ हजार ६१८ वटा बीमालेख जारी गरी उक्त रकम संकलन गरेको हो ।

४ करोड भुक्तानी गर्न बाँकी

बीमा समितिद्धारा जारी लघु बीमालेख सम्बन्धी निर्देशिका बमोजिम कम्पनीहरूले लघु बीमावापत दाबी परेको सात दिनभित्रमा दाबी भुक्तानी गर्नुपर्ने व्यस्था छ । कम्पनीहरुले बीमितले दावी भुक्तानी सम्बन्धी सम्पूर्ण कागजपत्र पेश गरेको सात दिनभित्रमा अनिवार्य रूपमा दाबी भुक्तानी गर्नु पर्ने भए पनि कम्पनीहरुले उक्त निर्देशिका उल्लघन गरेको देखिएको छ ।

उक्त अवधिमा कम्पनीहरुले लघु बीमा दावी वापत ४ करोड ४ लाख ५२ हजार १७६ रुपैयाँ भुक्तानी गर्न बाँकी छ । कम्पनीहरुमा ७ हजार ८२८ बीमा दावीवापत ५१ करोड ९५ लाख ८३ हजार २४७ रुपैयाँको दाबी परेको थियो । कम्पनीहरुले ६ हजार ७७९ वटा बीमा दाबी वापत ४७ करोड ९१ लाख ३१ हजार ७१ रुपैयाँ दाबी भुक्तानी गरेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।