इच्छाराज तामाङलाई ५ दिन थुनामा राख्न अदालतको अनुमति, जाहेरी दिने बढ्दै


सिभिल कोअपरेटिभ लिमिटेडमा अर्बौ रुपैंयाको घोटाला प्रकरणमा मुछिएका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई ५ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । तामाङका साथै कोअपरेटिभका बहालवाला अध्यक्ष केशवलाल श्रेष्ठसहित १२ जनालाई ५ दिन थुनामा राख्नका लागि अदालतले म्याद थप गरेको हो । सिभिल ग्रुपका अध्यक्ष तामाङ सिभिल सहकारीका पूर्वअध्यक्ष हुन् ।

पहिलो चरणको अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले ५ दिन थुनामा राख्नका लागि अनुमति दिएको बताइएको छ । सिभिल कोअपरेटिभका निक्षेपकर्ताको ७० करोड रुपैंया हिनामिना गरेको अभियोगमा पक्राउ परेका तामाङ तथा श्रेष्ठ सहितका १२ जनालाई केन्द्रीय अनुसन्धान व्युरोले ठगी मुद्धामा अनुसन्धान गरिरहेको छ ।

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ ४६ करोड ठगीको आरोपमा पक्राउ

७० करोड रुपैंया बराबरका निक्षेपकर्ताहरु मात्र प्रहरीमा पुगे पनि अरु धेरै निक्षेपकर्ताले आफ्नो रकम डुब्ने डरले ठगी मुद्धा दिएका छैनन् । सबै निक्षेपकर्ताको हिसाब गर्दा कम्तीमा पनि ५ अर्ब रुपैंया हिनामिना भएको र त्यसमा आफ्नो पनि ठुलो रकम फसेको एक निक्षेपकर्ताले नोटबजारलाई बताए ।

पछिल्लो २ वर्ष यता आफ्नो निक्षेपको साँवा मात्र फिर्ता गर्न दवाब दिए पनि तामाङले विभिन्न बहानामा रकम फिर्ता नगरेको बताएका उनले मासिक रुपमा भत्ता सरह सानो सानो किस्ता दिएर फर्काउने गरेको बताए । आफ्नो रकम डुब्ने डरमा प्रहरीलाई जाहेरी नदिएको बताएका ति निक्षेपकर्ताले पछिल्लो पटक सामुहिक रुपमा रकम फिर्ता गर्न दवाब दिए पनि सुनुवाई गर्ने पक्षमा सहकारी नपुगेका कारण केही निक्षेपकर्ताले प्रहरीमा जाहेरी दिएको बताए । “सबै निक्षेपकर्ताले जाहेरी दिएका छैनौं, सबैले जाहेरी दिने हो भने करोडको आरोप अर्बमा उक्लिन्छ,” उनले भने ।

उता केन्द्रीय अनुसन्धान व्यूरोले भने हालसम्म १३७ जनाबाट ठगीको विबरण सहित तामाङ र कोअपरेटिभका बिरुद्ध जाहेरी आएको जनाएको छ । जाहेरीकर्तासँगै यो रकम बढ्ने र अनुसन्धान पनि लम्बिन सक्ने बताएको व्युरोले दोस्रो चरणको अनुसन्धानका लागि फेरी म्याद थप हुन सक्ने जनाएको छ । यस्तो भएको खण्डमा २५ दिनसम्म म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गर्न सकिने पनि व्युरोले जनाएको छ ।

कोअपरेटिभका पुर्व अध्यक्ष तामाङ तथा बहालवाला अध्यक्ष श्रेष्ठ सहित पक्राउ पर्नेहरुमा एलिना तुलाधर, बुद्धराज तामाङ, हरिहर लामिछाने, भगवानबहादुर सिंह, विजयविक्रम शाह, मायोनानी महर्जन रहेका छन् । कौस्तुभ केतन ढुंगाना, शंकरप्रसाद पाठक, राकेश महर्जन र संगीत श्रेष्ठ पनि उक्त घोटाला प्रकरणमा प्रहरीको नियन्त्रणमा छन् ।

राजनीतिक आडमा उच्च व्यवस्थापकको चलखेलले बैंकिङ क्षेत्र जोखिममा

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।