५२ अंकको अन्तरमा चलेको बजार २३ अंकले सुधारियो, बीमा कम्पनीमा आकर्षण


मंगलबार शेयर बजारमा ५२ अंक बढीको उतारचढाव आएको छ । बिहान बजार खुलेदेखि क्रमिक रुपमा ओरालो लागेको बजार झण्डै ३० अंकले घटेको थियो । बजार खुलेको १ घण्टाभन्दा बढी समयसम्म ओरालो लागेर २७९१ अंकसम्म ओर्लिएकोमा त्यस पछि क्रमिक रुपमा सुधारिएको थियो । बजार बन्द हुँदा समग्र बजार परिसुचक नेप्से २३.७६ अंकले बढेर २८४३.६२ अंकमा उक्लिएको छ ।

बजारमा सुधार आएसँगै १३१ कम्पनीको शेयर मूल्य बढेको छ भने ४५ कम्पनीको शेयर मूल्य घट्दा १२ कम्पनीको शेयर मूल्य स्थिर भएको छ । २३० कम्पनीका ९९ लाख ७७ हजार ४८३ कित्ता शेयर ५९ हजार ८८१ पटक किनबेच हुँदा ६ अर्ब ८८७ करोड ३७ लाख रुपैंयाको शेयर किनबेच भएको छ । कारोबार रकम सोमबार ७ अर्ब रुपैंयाभन्दा बढी थियो ।

मंगलबार साहस उर्जाको शेयर मूल्य सबैभन्दा धेरै अर्थात १० प्रतिशतले बढेर ५३९ रुपैंया पुगेको बजारमा गूडविल फाइनान्सको शेयर मूल्य पनि १० प्रतिशतले नै बढेको छ । नेपाल पुनर्बीमा कम्पनी, कालिका पावर र रिडिी हाइड्रोको शेयर पनि धेरै मूल्य बढ्ने कम्पनीको सूचीमा परेका छन् । बिशाल बजार कम्पनी, नेपाल बंगलादेश बैंक, आरएमडिसी लघुवित्त, सामुदायिक लघुवित्त लगायतका कम्पनीको शेयरमूल्य धेरै घटेको छ ।

महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, नेपाल पुनर्बीमा कम्पनी, नबिल बैंक र लुम्बिनी विकास बैंकको अधिक शेयर कारोबार भएको बजारमा बैंकिङ, व्यापार र लगानी उपसमुहमा गिरावट आएको छ । अरु सबै समुहमा सुधार आएको बजारमा निर्जीवन बीमा, जीवन बीमा र विकास बैंकमा सबैभन्दा धेरै सुधार देखिएको छ ।

बजारमा आएको सुधारसँगै समग्र बजार पूँजीकरण पनि बढेर ३९ खर्ब ९८ अर्ब रुपैंया पुगेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।