नाडा निर्वाचन : ध्रुव थापालाई गण्डकी प्रदेशको समर्थन, अटो जोन निर्माणमा जोड


नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालको अब आउने नेतृत्वलाई अटो जोन निर्माणमा पहल गर्न व्यवसायीहरुले सुझाव दिएका छन् । अध्यक्षका प्रत्यासी ध्रुव थापालाई समर्थन गर्न भेला भएका गण्डकी प्रदेशका व्यवसायीहरुले थापालाई यस्तो सुझाव दिएका हुन् ।

थापाको टीम पोखराका अटोमोवाइल व्यवसायीसँग छलफलका लागि पोखरा पुगेका थिए । उक्त समयमा व्यवसायीहरुले नाडाको सुदृढिकरणसँगै व्यवसायीका समस्यालाई केन्द्रमा राख्नु पर्नेमा जोड दिएका थिए ।

थापा र उनको प्यानल सहितको उपस्थितीमा भएको छलफलमा कास्की जिल्लाका पोखरा, लेखनाथ, नयाँबजार क्षेत्रका व्यवसायीको साथै, बाग्लुङ, पर्वत, तनँहु जिल्लाका अटो व्यवसायीहरु सहभागी थिए । उक्त कार्यक्रममा नाडाका सम्पूर्ण पूर्वअध्यक्षहरुको समर्थन धुर्व थापा समूहलाई रहेको जानकारी गराइएको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा अध्यक्षका प्रत्यासी थापाले आफु र आफ्नो टिम नेतृत्वमा आए पछि गरिने नीतिगत सुधारहरु, सचिवालयमा गरिने सुधारहरु, नाडा अटो सो को प्याटेन्ट लिने देखि लिएर मोफोसलमा पनि केन्द्र कै आयोजनामा अटो शो गरिने अवधारणा, सदस्यहरुको क्षमता अभिबृद्धि लगायतमा काम गर्ने बताएका थिए । साथै व्यवसायीले अटोमोबाइल क्षेत्रका जानकारी लिन चाहेमा डाटा व्यवस्थापन गरेर उपलब्ध गराउन डाटा हबको निर्माण गर्ने र संस्थागत रुपमा नाडाका तर्फबाट गरिने समाजिक उत्तरदायित्वका कार्यहरुको बारेमा जानकारी दिएका थिए ।

नाडामा साना, मझौलादेखि लिएर ठूला व्यवसायिक घरानाहरुको समेत सहभागिता रहेकोले सबैलाई समेटेर लैजानु पर्ने आवश्यक्तामा थापाले जोड दिएका थिए ।

व्यवहारीक रुपमा आफु र आफ्नो टीमले निर्वाचन जितिसकेको दाबी गर्दै थापाले भनेका थिए, “चुनाव टेक्नीकल विषय भएकाले मतदाताले दिएको मत गणना नभएसम्म जित मान्ननसकिने हुँदा सबै व्यवसायीलाई नाडाको निर्वाचनमा उपस्थित भएर भोट खसाल्न अपिल गर्छु ।”

कार्यक्रममा सहभागी उम्मेद्वारहरुका अनुसार थापाको प्यानललाई गोल्छा, लक्ष्मी, दुगड, जगदम्बा, आइएमई, खेतान, अग्नी, बिसाल, ज्योति समूह लगायत बैद्य अर्गनाइजेसन, केडिया अर्गनाइजेसन, कन्टिनेन्टल समूह आदि ठूला व्यवसायीहरुको समेत समर्थन रहेको दाबी गरिएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, पोखरा उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष पवन प्रजापति, पश्चिमाञ्चल अटोमोबाइल व्यवसायी संघका अध्यक्ष मोहनबाबु खड्काले नाडामा थापाको नेतृत्व अपरिहार्य रहेको बताएका थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।