विश्व बैंकका उपाध्यक्ष भन्छन्, ‘पूर्वाधार विकासको आधार शेयर बजार’

0
Shares

विश्व बैंकका उपाध्यक्ष चिङतोङ हुआले पुर्वाधारमा लगानी बढाउन शेयर बजारको विकास अपरिहार्य रहेको बताएका छन ।

नेपाल पूर्वाधार सम्मेलनको उद्घाटनका क्रममा उनले अमेरिका, चीन, दक्षिण कोरिया र मलेसियाले पूँजीबजारबाट लगानी जुटाएर पुर्वाधारमा लगानी गरेको उल्लेख गर्दै यसतर्फ ध्यानदिन नेपाललाई सुझाब समेत दिए । 

उपाध्यक्ष चिङतोङ हुआले भने, ‘पूँजीबजार पूर्वाधारमा लगानी जुटाउन एक महत्वपूर्ण वित्तीय औजार हो, जति पूँजी बजारको विकास भयो त्यत्ति नै पुर्वाधारमा लगानी जुटाउन सहज हुन्छ, यसलै पूँजीबजारको विकासमा ध्यान दिनुस् ।’ 

वित्तीय तथा पूँजी बजारको विकासमा विश्व बैंक अन्तर्गतको अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी) ले सहयोग गरिरहेको जानकारी दिँदै पूँजीगत औजारका माध्यामद्वारा नै पूर्वाधार विकास गर्न सकिनेमा जोड दिए ।ऋणपत्र र इक्विटीबाट पूर्वाधार विकासमा लगानी जुटाउन सकिने उनको भनाई छ ।

अमेरिकाले उद्यमशीलता विकास, नियामकीय प्रभावकारीता र धितोपत्र बजारका माध्यमद्वारा विकासको मार्ग प्रशस्त गरेको छ । यसैगरी चीन, दक्षिण कोरिया र मलेसियाजस्ता मुलुकले पनि ऋणपत्र बजारको विस्तार गरेर विकासको गति समातेको छ । ऋणपत्रको विस्तारद्वारा दीर्घकालिन पूर्वाधारका लागि पूँजी निर्माण गर्न सकिन्छ । उनले भने ।

हुआले नेपालमा निजी क्षेत्र उन्मुख आर्थिक वृद्धि, समावेशीकरण र विविधीकरणका लागि विश्व बैंकले उल्लेखनीय योगदान गरेको बताए । हाल विश्व बैंकद्वारा सञ्चालित २५ भन्दा बढी परियोजनाले सक्रीय रुपमा काम गरिरहेको भन्दै उनले नेपालमा २.६ अर्ब अमेरिकी डलर बराबरको परियोजना बैंकले अघि बढाएको बताए।