आइएमई लाइफका बीमितले अधिकतम ७० रुपैयाँसम्म बोनस पाउने

0
Shares

आइएमई लाइफ इन्स्योरेन्सले कम्पनीमा बीमा गराएका बीमितहरुका लागि अधिकतम ७० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको छ ।

कम्पनीले २०७७ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रति हजार बीमाङ्कमा न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर वितरण गर्ने तालिका सार्वजनिक गरेको हो ।

कम्पनीले उक्त आर्थिक वर्षको वित्तीय विवरण नियामक निकाय बीमा समितिबाट स्वीकृति पाएपछि बीमितहरुले पाउने बोनस दर सार्वजनिक गरेको हो ।

आथिर्क वर्ष २०७६।७७ को लागि कम्पनीले बीमा योजना र अवधिका आधारमा बोनस दर सार्वजनिक गरेको छ । जसअनुसार सावधिक जीवन बीमालेखमा र सावधिकरअग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार ३० रुपैयाँ देखि अधिकतम ७० रुपैयाँ बोनस दिने भएको छ ।

यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा ३० रुपैयाँ देखि ७० रुपैयाँसम्म, र वार्षिक अग्रिम भुक्तानी (सावधिक धन सरिता) अन्तर्गतका सबै अविधमा बीमालेखमा २० रूपैयाँ बोनसदर बीमितले पाउनेछन् ।

उल्लेखित बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जनाएको छ ।

के हो बोनस दर ?

जीवन बीमा कम्पनीले बीमितहरूलाई भुक्तान गर्ने प्रतिफललाई बोनसदर भनिन्छ । बीमा कम्पनीहरूले आर्जन गरेको मुनाफाको आधारमा प्रतिवर्ष बोनसदर निर्धारण गरिन्छ  । यस्तो बोनसदर कम्पनीले जारी गर्ने हरेक बीमा योजनामा फरक–फरक हुन्छ  ।

बीमा कम्पनीको चुक्ता पूँजी, जगेडा कोष तथा लगानीको क्षेत्र, खर्च, आम्दानी लगायतलाई हेरी बोनसदर निर्धारण गरिन्छ ।

बीमा जोखिम हस्तान्तरणका लागि गर्ने गरिन्छ । भविष्यमा आइपर्नसक्ने भवितव्य जोखिमलाई सामाना गर्न सजिलो होस् भन्नाका लागि जीवन बीमा योजना खरीद गरिन्छ ।

जीवन बीमा गर्नुको मूख्य उद्देश्य जोखिम हस्तान्तरण गर्नु हो । जोखिम हस्तान्तरण गर्नुको साथसाथै उक्त बीमा योजनाले दिने बोनस पनि हो । त्यसैले जीवन बीमा योजना खरिद गर्नुपूर्व कम्पनीले दिने बोनसदरका बारेमा पनि अध्ययन गर्न जरुरी हुन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।