मोरंग व्यापार संघमा नयाँ नेतृत्व सर्वसम्मत, नवीन रिजाल अध्यक्ष


मोरंग व्यापार संघमा नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ । बिहीबार सम्पन्न संघको ३३ औं कार्यकारिणी समितिको पदाधिकारी निर्वाचन एवं कार्यसमिति गठन कार्यक्रमले सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

संघको ३२ औं कार्यसमितिका अध्यक्ष प्रकाश मून्दडाको अध्यक्षतामा संघको नयाँ नेतृत्वको निर्वाचन कार्यक्रम राखिए पनि मतदान गर्नु नपरेको हो ।

संघको अध्यक्षमा नवीन रिजाल निर्विरोध निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्षमा अनुपम राठी, उपाध्यक्षमा वाणिज्यतर्फ अनिल कुमार साह र उद्योगतर्फ विकाश कुमार बेगवानी निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरि महासचिवमा अनिल सारडा, सचिवमा संजय श्रेष्ठ, कोषाध्यक्षमा राजेश अग्रवाल र प्रवक्तामा विनित सिंघानियां पनि निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै, कार्यसमिति सदस्य पदमा क्रमशः आशिष जाजू, दिपेश सुवेदी, अमित सारडा, पवन राठी, देवाशिष गोल्छा, मनिष मारु, श्याम राठी सुशिल सुराना निर्वाचित भएका छन् ।
संघको नियमावलीको व्यवस्था अनुरुप ३३ औं कार्यसमितिले सम्बद्ध वस्तुगत क्षेत्रबाट अरविन्द अग्रवाल र गोपाल अग्रवाललाई र संघका शाखाहरुबाट चन्द्र बहादुर भट्टराईलाई मनोनित गरेको छ ।

नवनिर्वाचित अध्यक्ष नवीन रिजालले अमित राठी र विवेक अग्रवाललाई कार्यकारिणी सदस्यको रुपमा मनोनित गरेका छन् । रिजालले संघको महिला उद्यम समितिको अध्यक्ष एवं ३३ औं कार्यसमितिको आमन्त्रित सदस्यको रुपमा बन्दना जैन र युवा उद्यमी समितिको अध्यक्ष एवं ३३ औं कार्यसमितिको आमन्त्रित सदस्यको रुपमा ओम प्रकाश शर्मालाई नियुक्त गरेका छन् ।

नयाँ नेतृत्व चयन भए लगत्तै अध्यक्ष नवीन रिजालसहित नवनिर्वाचित पदाधिकारीहरुले आ–आफ्नो पदभार ग्रहण गरेका छन् । पूर्व अध्यक्षज्यूहरु र सञ्चारकर्मीहरुको उपस्थितीमा अध्यक्ष रिजालले आफ्नो कार्यसमितिको भावी योजनाहरु प्रस्तुत गरेका थिए । जसमा आफ्नो कार्यकालमा सरकार समक्ष विकास निर्माणका कार्यहरुलाई त्रैमासिक रुपमा खर्च गर्ने नीतिका लागि पहल गर्ने, मौद्रिक नीतिको स्वस्फूर्त कार्यान्वयनका लागि पहल गर्ने, तिव्र औद्योगिकरणका लागि जोड दिँदै तरलता अभाव, अस्थिर व्याजदर, चर्को विद्युत महशुल, ढुवानी खर्च आदि न्यूनीकरणका लागि पहल गर्ने तथा अस्वभाविक नीतिहरुको निराकरणका लागि पहल गर्ने रिजालले बताएका थिए ।

संघद्वारा संचालित ‘मेरो देश, मेरै उत्पादन’ अभियान अन्तर्गत व्यापार घाटा न्यूनिकरण तथा रोजगारी अभिवृद्धि सम्बन्धी कार्य योजना अघि बढाउने, विराटनगर नाका जोड्ने भारतको मीरगंज पुलका समस्याहरु यथाशिघ्र निराकरण गर्न जोडदार पहल गर्नुका साथै प्रदेशस्तरीय प्रदर्शनी स्थल निर्माण कार्य थालनी गर्न पहल गरिने रिजालले बताएका थिए । औद्योगिक क्षेत्रको स्थापनाका लागि संघबाट समन्वयात्मक भूमिका निर्वाह हुने, क्षेत्रीय विमानस्थल निर्माणका लागि पहल गरिने, प्रदेश १ मा धार्मिक, मेडिकल एवं खेलकुद पर्यटन तथा कृषि क्षेत्रको प्रवद्र्धनका लागि प्रदेश सरकारसँग पहल गरिने, ऐतिहासिक विराटनगर शहरमा शान्ति सुरक्षाको प्रत्याभूति गराउन सिसिटिभीको समुचित व्यवस्थापन तथा शहरको सौन्दर्यीकरण एवं ग्रिन कन्सेप्टका लागि पहल गर्ने, स्थानीय बजार प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु संचालन तथा स्टार्टअप प्रवद्र्धनार्थ कार्यहरु गर्ने योजना संघका अध्यक्ष रिजालले अघि सारेका छन् ।

त्यसै गरी, सीमा क्षेत्र सहित अन्तर्राष्ट्रिय उद्योग वाणिज्य संघहरुसँग समन्वय गर्नुका साथै कोभिड खोपको सहज उपलब्धता एवं निरन्तरताका लागि पहल गर्ने, संघका शाखाहरुको सुदृढिकरण गर्दै क्रियाशिल बनाउने, संचार माध्यमसँग सहकार्य गरी औद्योगिक प्रवद्र्धन तथा नीतिगत सुधारका लागि विशेष कार्यक्रमहरु ल्याउने, केन्द्रीय एवं प्रदेश सरकारका सम्बन्धित मन्त्रालयका मन्त्री तथा उच्च पदाधिकारीसँग मासिक रुपमा भेटवार्ता गरी समसामयिक समस्याहरुको तत्कालिक एवं दीर्घकालिन समाधानको बाटो खोज्ने रिजालको योजना छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।