चाडपर्वका लागि भित्रिएको रेमिट्यान्सले दुई सातामा बैंकहरुको निक्षेप ६० अर्ब बढ्यो

0
Shares

दशैंँ तिहार र छठ लगायतका ठूला चाडपर्वहरु नजिकिएसँगै वाणिज्य बैंकहरुको निक्षेपमा उल्लेखीय सुधार आएको छ । असोजको पहिलो र दोस्रो सातमा मात्रै वाणिज्य बैंकहरुमा ६० अर्ब निक्षेप थपिएको छ ।

विदेशमा रहेका नेपालीहरुले आफ्ना आफन्तहरुलाई दशैं तिहार खर्च वापत रेमिट्यान्स पठाउँदा वाणिज्य बैंकको निक्षेपमा असोज पहिलो र दोस्रो साता सुधार देखिएको हो। असोजको पहिलो साता २० अर्ब निक्षेप थपिएको थियो भने दोस्रो साता वाणिज्य बैंकहरुमा ४० अर्ब निक्षेप बढेको नेपाल बैकर्स संघले जनाएको छ ।

असोज १० गतेसम्म वाणिज्य बैंकहरुमा कुल निक्षेप २९ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकहरुले कुल २५ खर्ब ९७ अर्ब कर्जा प्रवाह गरेका छन् ।

दशैंँ तिहार र छठ लगायतका ठूला चाडपर्वहरु नजिकिँदै गर्दा बैंकहरुको कर्जा प्रवाहको आकार पनि बढ्दै गएको छ। असोज पहिलो साता वाणिज्य बैंकहरुले ११ अर्ब रुपैयाँ बराबरले कर्जा प्रवाह गरेकोमा दोस्रो सातमा ३६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

दशैं तिहार जस्ता ठूला चाडमा सवारी सहित अन्य कर्जा प्रवाह हुने हुँदा निक्षेप वृद्धिसँगै कर्जाको माग पनि बढी हुने गरेको छ । बढ्दो रेमिट्यान्स आप्रवाहले बैंकहरुको कर्जा प्रवाहलाई थोरै भएपनि राहत प्रदान गरेको छ।

चालु आर्थिक वर्ष सुरु भएयता बैंकको निक्षेप ४८ अर्बले बढेको छ। ऋण बिस्तार १०० अर्बले बढेको छ । निक्षेप संकलको तुलनामा कर्जा विस्तार दोब्बर भएपछि बैंकहरुमा तरलता अभाव देखिन थालिसकेको छ।