मुल्य, मान्यता र सिद्धान्त अनुसार नचल्दा सहकारीमा समस्या : मन्त्री श्रेष्ठ


भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीहरु मुल्य, मान्यता, सिद्धान्त अनुसार चल्नु पर्नेमा जोड दिएका छन् ।

काभ्रेको धुलिखेलमा आयोजित सुशासन प्रवद्र्धन र व्यवस्थापन विषयक राष्ट्रिय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सहकारीहरु मुल्य, मान्यता र सिद्धान्त भन्दा बाहिर गएकाले समस्या उत्पन्न भइरहेको बताए ।

मन्त्री श्रेष्ठले सहकारीलाई प्रभावकारी रुपमा अगाडी बढाउने क्रममा नीतिगत, कानुनी र व्यवहारिक रुपमा काम गर्दा आएको कठिनाई हटाउन मन्त्रालय तयार रहेको भन्दै सहकारी अभियानलाई अगाडी बढ्न परिरहेको अप्ठेराको गाँठोे फुकाउन ऐन परिमार्जनको तयारीमा रहेको पनि जानकारी दिए ।

संविधानमा सहकारीलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिएको र आर्थिक विकास र समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने भन्दै उनले सहकारीहरुलाई सदस्य केन्द्रित भइ व्यवसायिक बनाउनु पर्नेमा जोड दिए ।

सहकारी क्षेत्रभित्र देखिएका खराव क्रियाकलाप नियन्त्रण गर्न नियामक निकायहरुको भूमिका प्रभावकारी हुन नसकेको हो की भन्ने प्रश्न उठिरहेको भन्दै यसका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वयकारी ढंगबाट अगाडी लानुको विकल्प नभएको पनि मन्त्री श्रेष्ठको भनाई थियो ।

संविधान अनुसार भूमिहिनलाई भूमिपति बनाउन, सहकारी अभियानलाई प्रभावकारी बनाई सुुशासन प्रवद्र्धन गर्न मन्त्रालय सधै लागिरहेको उनले बताए ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचीव रामप्रसाद थपलियाले सहकारी अभियानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न मन्त्रालय दृढ भएर लागेको बताएका थिए ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले समस्याग्रस्त सहकारीको संख्या बढ्न नदिन कानुन, नीति र व्यवहारमा सुधार गर्दै स्वनियमनमा जानु पर्नेमा जोड दिए ।

कार्यक्रममा सहकारी विभागका रजिष्टार रुद्रप्रसाद पण्डितले सहकारी संघसंस्थामा सुशासन र प्रवद्र्धनको लागि एकिकृत निर्देशिका, २०७९ जारी गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।