संसदमा उठेका विषयलाई सरकारले गम्भीर रुपमा लिएन – नवराज सिलवाल


प्रतिनिधिसभा सदस्य नवराज सिलवालले संसदमा उठेका र छलफलमा आएका विषयमा सरकार गम्भीर बन्न नसकेको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सिलवालले निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेजहरुले धान्न नसकिने महंगी बढाएको बताए ।

निजी मेडिकल कलेजले लिने चर्को शुल्कलाई नियन्त्रण गर्ने उपायका सम्बन्धमा उनले जिज्ञासा राखेका थिए । निजी अस्पतालहरुले १० प्रतिशत शैय्यामा निशुल्क उपचार गराउने भनी सरकारसँग गरेको सम्झौता कार्यान्वयन नभएका कारण कसैले पनि निशुल्क उपचार नपाएको बताए ।

यस सम्बन्धमा अनुगमनमा जाने स्वास्थ्य मन्त्रालयका प्रतिनिधि खुसी भएर फर्किने गरेका कारण निजी अस्पतालको नाफा कमाउने उद्धेश्यका अघि सामाजिक उत्तरदायित्व पछि परेको उनको भनाई थियो ।

यो अवस्थाको अन्त्य गर्नका लागि निजी अस्पतालमा प्रभावकारी अनुगमन गर्न उनले सभामुख मार्फत सरकारसँग आग्रह गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।