रेमिट्यान्सलाई दुई वर्षसम्म बैंकिङ प्रणालीमा राख्न सके ब्यापार घाटा कम हुने


रेमिट्यान्सलाई बैंक तथा वित्तीय संस्थामा २ वर्ष भन्दा बढी ‘होल्ड’ गर्न सकेको खण्डमा ब्यापार घाटा कम गर्न सकिने देखिएको छ । रेमिट्यान्सलाई बैंक वित्तीय संस्थामा होल्ड गरेर कर्जामा परिणत गरी उत्पादन बढाउन परिचालन गरी ब्यापार घाटा कम गर्न सकिने सकिने भएको हो । 

नेपाल वित्तीय संस्था परिसंघको अनुरोधमा त्रिभुवन विश्व विद्यालयको अर्थशास्त्र केन्द्रिय विभागले गरेको अध्ययनले रेमिट्यान्समा वृद्धि हुँदा ब्यापार घाटा झनै बढ्ने देखाएको हो । विभागले रेमिट्यान्स, निजी क्षेत्रको कर्जा र ब्यापार घाटाको विषयमा गरेको अध्ययनले रेमिट्यान्सलाई बैंकमा अड्काउने खालको नीति अवलम्बन गर्न नीति निर्मातालाई सुझाएको छ । 

अध्ययन प्रतिवेदन अनुसार रेमिट्यान्सले व्यापार घाटामा महत्वपूर्ण सकारात्मक प्रभाव पार्ने देखाएको छ । “रेमिट्यान्स र व्यापार घाटा बीचको सम्बन्ध ७० प्रतिशतभन्दा बढी रहेको छ,” अध्ययन प्रतिवेदनमा उल्लेख छ, “एक वर्षभन्दा बढी समयमा रेमिट्यान्समा आएको कमीले व्यापार घाटालाई बढाएको देखिन्छ ।”

त्यसैगरी अध्ययनले निजी क्षेत्रलाई बैंकले प्रवाह गर्ने ऋणको पनि व्यापार घाटासँग बलियो सम्बन्ध रहेको औंल्याएको छ । “यी दुई बीचको सम्बन्ध लगभग ८५ प्रतिशत रहेको छ,” प्रतिवेदनमा भनिएको छ, “यसको मतलब निजी क्षेत्रमा गएको बैंक कर्जामा एक सय रुपैयाँ वृद्धि हुँदा लामो अवधिमा व्यापार घाटा झण्डै ५० रुपैयाँले बढ्छ । छोटो अवधिमा यसको खासै प्रभाव नदेखिएता पनि दीर्घकालमा नकारात्मक एक चौथाईदेखि सकारात्मक एक चौथाईसम्म यसको प्रभाव पर्छ ।”

निजी क्षेत्रमा प्रवाह भएको अधिकांश ऋण अनुत्पादक क्षेत्रमा समाहित हुँदा यस्तो असर देखिएको अध्ययनको निष्कर्ष छ । निजी क्षेत्रमा प्रवाह गरिएको ऋणको करिब एक पाँचौं अंश थोक र खुद्रा सेवाहरूमा परिचालित भएको छ भने बाँकी अन्य सेवा क्षेत्रहरूमा परिचालित भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

सिडी रेसियो ९५ प्रतिशत गराउन सिविफिनको सुझाव

हाल करिब साढे १५ खर्बको हाराहारीमा रहेको ब्यापार घाटा न्यूनीकरणका लागि रेमिट्यान्स प्रवाहलाई सीमित नबनाई अनिवार्य बचत र लगानीका प्रावधानहरू विकास गरी निर्यात बढाउन सक्ने उपयुक्त नीतिको विकास हुन आवश्यक रहेको सुझाव अध्ययनमा छ । रेमिट्यान्स आप्रवाहमा भएको वृद्धिले दीर्घकालमा व्यापार घाटा बढाउने समेत अध्ययनले देखाएको छ । यसका लागि रेमिट्यान्सलाई उत्पादनशील व्यवसायमा परिचालन गर्न समेत अध्ययनले सुझाएको छ । 

रेमिट्यान्स आप्रवाहको एक अंश बचत गर्न र उत्पादनशील क्षेत्रमा लगानी गर्न घरपरिवारलाई उत्प्रेरित गर्ने किसिमका योजनाहरू विकास गर्न समेत अध्ययनले सुझाएको छ । प्रत्येक रेमिट्यान्स प्राप्त गर्ने परिवारलाई उद्यमी बन्न उत्प्रेरित गर्ने तथा बचत गर्ने बानीको विकास गर्नु पर्ने समेत अध्ययनमा उल्लेख छ । त्यसका लागि आप्रवासी कामदारहरूलाई औपचारिक माध्यम प्रयोग गरी पैसा पठाउन प्रेरित गर्ने तथा प्रोत्साहनका लागि अतिरिक्त ब्याज वा विनिमय दरमा ५ देखि १० प्रतिशतसम्मको छुट, बीमा सुविधा, सामाजिक सुरक्षा लगायतका थप सुविधाहरु दिनु पर्ने अध्ययनले देखाएको छ । 

औपचारीक माध्यमबाट नियमित रेमिट्यान्स पठाउनेलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउन पनि अध्ययनले सुझाव दिएको छ । त्यसैगरी बैंक खातामा दुई वर्षभन्दा बढी समयसम्म रेमिट्यान्स बचत गर्नेहरूका लागि त्यस्तै खालका आकर्षक सुविधाहरु व्यवस्था गर्नु पर्ने प्रतिवेदनमा छ, “यो रकम बैंकिङ क्षेत्रको कर्जायोग्य कोषमा परिणत हुनेछ । तिनीहरूको मुद्दती निक्षेप दरमा वृद्धि गर्नु उत्प्रेरणाको कारक हुन सक्छन् । बैंकमा पैसा पठाउने र बचत गर्नेहरूलाई ऋणका केही विशेष प्रावधानहरू बनान उउयुक्त हुन सक्छ ।” 

अध्ययनले उद्योगका साथै कृषि, आतिथ्य, मेसिनरी र उपकरणका प्रकार, स्वास्थ्य सेवा र सरसफाई, साना तथा मझौला उद्योग जस्ता पूँजीगत वस्तुको आयातमा यस्ता प्रकारका ऋण प्रवाहलाई विशेष रूपमा ध्यान दिन सुझाएको छ । यसले निर्यात बढाउन र आयात नियन्त्रण गर्न मद्दत पुग्ने समेत अध्ययनको निष्कर्ष छ । 

आन्तरिक उत्पादन वृद्धि गरी निर्यात विस्तार र आयात घटाउनका लागि उत्पादकहरूले लिने ऋणमा सहुलियत दरको प्रावधान गर्न आवश्यक रहेको अध्ययनको सुझाव छ । उत्पादन क्षेत्रमा लगानी गर्ने बैंक तथा वित्तीय संस्थाहरूलाई पुरस्कृत गर्ने तथा कृषि र साना तथा मझौला उद्योगलाई जोड्दै ठूला स्वदेशी उत्पादन उद्योग तथा बहुराष्ट्रिय कम्पनीहरूलाई छुट्टाछुट्टै वित्तिय व्यवस्था गर्न आवश्यक रहेको अध्ययनको ठहर छ ।

स्वदेशी ठूला उद्योगहरूलाई बहुराष्ट्रिय कम्पनीहरूको व्यवसाय सुरु गर्न र ब्रान्डेड कम्पनीहरूको उत्पादन साझेदारी नेटवर्कमा लिङ्क गर्न उत्प्रेरित गर्न समेत अध्ययनले सुझाएको छ । त्यसैगरी अध्ययनले व्यापार घाटालाई निर्यात बढाएर र आयात घटाएर कम गर्न सकिने उल्लेख गरेको छ । अध्ययनले दुबै पक्षको एकैसाथ अभ्यास गर्न समेत सुझाएको छ । 

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ असार २०७९, बिहिबार  १८ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।