रोजगारी खोजिरहेकाहरुलाई लक्षित गर्दै कात्तिकमा रोजगार तथा सीप मेला आयोजना हुने


आगामी कात्तिक १७ देखि २० गतेसम्म सिएनआई रोजगार तथा सीप मेला २०७९ आयोजना हुने भएको छ । राजधानीको भृकुटीमण्डपस्थीत प्रदर्शनीस्थलमा मेला आयोजना हुन लागेको हो ।

विभिन्न कम्पनी तथा कामको खोजिमा रहेकाहरुलाई एकै ठाउँमा आवद्ध गर्न पुलको काम गर्ने उद्देश्य सहित नेपाल उद्योग परिसंघको शिक्षा परिषद् र रोजगारदाता परिषद्को संयोजनमा मेला आयोजना गर्न लागिएको सिएनआईले जनाएको छ ।

मुलुकमा हरेक वर्ष न्यूनतम ५ लाख व्यक्तिहरु रोजगारीको खोजिमा हुन्छन् । चालकदेखि व्यवस्थापन तहसम्मका लागि विभिन्न कम्पनीहरुले कर्मचारीहरु माग गरिरहेको पनि देखिन्छ । तर, एकातर्फ आवश्कता अनुसार कम्पनीहरुले कर्मचारी पाउन सकिरहेका छैनन् भने अर्कोतर्फ रोजगारीको खोजिमा रहेका व्यक्तिहरु आवेदन दिन र सम्बन्धित कम्पनीको सम्पर्कमा जान नसकिरहेको अवस्थालाई मेलाले पुलको रुपमा काम गर्ने बताइएको छ ।

कर्मचारी पाउने तर सीपयुक्त कर्मचारी पाउन नसक्ने अवस्थाका साथै रोजगारदाता र सम्भावित कर्मचारीबीच सामन्जस्यता हुन नसक्नुको कारण र निजी क्षेत्र, सरकारी निकायहरुको भूमिकाका सम्बन्धमा केन्द्रित रहेर सम्बन्धित पक्षका बिचमा अन्तरकृया तथा छलफल पनि मेलामा आयोजना हुनेछ । रोजगारदाताको आवश्यकता, सीपयुक्त कर्मचारीको मागको परिपूर्ती कसरी गर्न सकिन्छ भन्ने विषयमा हुने छलफल लाभदायक हुने अपेक्षा गरिएको छ ।

बजारमा सीपको उपलब्धता र सीपको आवश्यकता बीचको अन्तर बुझ्दै सम्भावित कर्मचारी र रोजगारदाताबीचको खाडल कम गर्न मेलाले टेवा पुर्याउने अपेक्षा गरिएको छ । त्यस्तै सरकार तथा अन्य सरोकारवालाहरूलाई रोजगारदाता र रोजगारीको खोजिमा रहेकाहरुको आवश्यकतामा नतिजा प्राप्त हुनेछ भने नेपालमा विश्वस्तरीय जनशक्ति सिर्जना गर्न नीति र पाठ्यक्रमको आवश्यकताहरूको पहिचान हुने अपेक्षा सिएनआईले गरेको छ ।

मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुको सहभागिता हुनेछ भने सीप विकास सम्बन्धी विभिन्न विषयमा वृहद छलफल, सीपको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुबाट प्रस्तुती, आफ्नो क्षमता अनुसारको कामका लागि कम्पनीहरुसँग सम्पर्क तथा छलफल गर्न सकिने छ ।

तीन दिनसम्म चल्ने मेलामा मेलामा २०० भन्दा बढी कम्पनीहरुको सहभागिता रहने आयोजकको अपेक्षा छ । कर्पोरेट हाउस, नवप्रवर्तन, शैक्षिक संस्थाका विद्यार्थीहरु, सेवा तथा उत्पादनमुलक उद्योगहरु, निजी, सार्वजनिक तथा सरकारी अधिकारीहरुसमेत गरी ५० हजार भन्दा बढी व्यक्तिहरुले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।