४० नकटी नेपालमै बसेर रमाउने दिन ल्याउनु पर्दछः जिफन्ट अध्यक्ष श्रेष्ठ

0
Shares

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)  का अध्यक्ष विनोद श्रेष्ठले नेपाली युवाले ४० बर्ष नकटी मुलुकभित्रै रमाउने दिन ल्याउनु पर्नेमा जोड दिएका छन् । उनले स्वदेशमा नै श्रम र सीप खर्च गरिएमा मुलुकको विकास हुने भन्दै यसतर्फ ध्यान पुग्नुपर्ने धारणा राखेका छन् ।

बैदेशिक रोजगारमा जाने नेपालीलाई सूसुचित गर्ने उद्धेश्यले आइएलओ, अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ (आइटीयूसी) सँगको सहकार्यमा जिफन्टले सञ्चालन गरिरहेको www.recruitmentadvisor.org/ne वेभसाइटका बारेमा जानकारी दिन काठमाडौंमा आयोजित कार्यक्रममा जिफन्ट अध्यक्ष श्रेष्ठले वैदेशिक रोजगारले मुलुकमा निम्त्याएको सामाजिक, साँस्कृतिक विचलनका बारेमा पनि उत्तिकै छलफल हुनु आवश्यक रहेको धारणा राखे ।

यसैगरी उनले बैदेशिक रोजगारका नाममा नेपालीले नै नेपालीलाई ठग्ने काम रोकिनु पर्ने बताए । उनले यो जिफन्टको चासोको विषय रहेको भन्दै गन्तव्य मुलुकमा पुगेपछि त्यहाँ नेपाली श्रमिकको अधिकार रक्षा अर्को महत्वपूर्ण चासोको विषय भएको बताए ।  जिफन्ट अध्यक्ष श्रेष्ठले यसैगरी वैदेशिक रोजगारबाट फर्केकाहरुले ल्याउने सीप र पुँजीलाई कसरी मुलुकमा सदुपयोग गर्न सकिन्छ र स्वदेशमा गरिने कामलाई कसरी मर्या्दित बनाउन सकिन्छ भनेर यूनियनले प्राथमिकताका साथ काम गर्न धारणा राखे ।

www.recruitmentadvisor.org/ne ले ठगि गर्ने मेनपावर कम्पनीहरुलाई निरुत्साहित गर्ने लक्ष्य राखेको जानकारी गराए । उनले वैदेशिक रोजगारसँग सम्वन्धीत समस्या शुन्य बनाउन मुस्किल रहेपनि त्यसलाई कमगर्न सकिन्छ भन्दै त्यसका लागि जिफन्टले विभिन्न देशका ट्रेड यूनियनहरुँग सहकार्य गरिरहेको जानकारी दिए । उनले हङकङ, दक्षिण कोरिया, मलेसिया, जोर्डन लगायतका मुलुकका स्थानीय ट्रेड यूनियनहरुसँगको सहकार्यमा नेपाली श्रमिकको अधिकार रक्षाका लागि गरिएका पहलका बारेमा सो अवसरमा जानकारी दिए ।

कतिपय नेपालीले सुचनाको अभावमा दुःख पाइरहेको भन्दै वैदेशिक रोजगारका बारेमा जानकारी दिने वेभसाइट उपयुक्त थलो रहेको धारणा राखे । उनले विभिन्न क्षेत्रसँगको सहकार्यमा जिफन्टले बढीभन्दा बढी नेपालीलाई सो वेभसाइटका बारेमा जानकारी दिने लक्ष्य राखेको भन्दै सहयोगका लागि आग्रह पनि गरे ।

कार्यक्रममा कतार, युएई, बहराइन, कुवेत, साउदी अरेविया, मलेसिया, अफगानिस्तान लगाउयका मुलुकमा रोजगारी फर्केकाहरु तथा हाल पनि त्यहाँ कार्यरत ५० जनाभन्दा बढी श्रमिकको सहभागिता रहेको थियो ।

जिफन्टले सन् २०१६ देखि सो वेभसाइटमा नेपालबाट सहकार्य गर्दै आएको छ । सो वेभसाइटमा नेपाल लगायत ईण्डोनेशिया तथा फिलिपिन्सका मेनपावर कम्पनीहरुको सूचि राखिएको छ जसको स्वयं ति संस्थाबाट सेवा लिएका श्रमिकले नै समिक्षा गर्ने गर्दछन् जसका आधारमा ति मेनपावर कम्पनीहरुको स्तर निर्धारण (स्टार रेटिङ)  हुने गर्दछ ।