जापानमा मूल्यवृद्धि दर आठ वर्ष यताकै उच्च, अझै बढ्ने संकेत


जापानको मूल्यवृद्धि दर आठ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ । अगस्ट महिनामा जापानको मूल्यवृद्धि आठ वर्ष यताकै उच्च बनेको हो । विश्लेषकहरुको प्रक्षेपणलाई पनि उछिन्दै अगस्ट महिनाको मुद्रास्फीति दर २.८ प्रतिशत कायम भएको हो ।

योसँगै जापानी केन्द्रीय बैंक, बैंक अफ जापानको मुद्रास्फीति दर २ प्रतिशतभन्दा तल राख्ने योजना विफल भएको छ । अगस्ट महिनामा मुद्रास्फीति बढेसँगै विश्लेषकहरुले अक्टोबर महिनामा पनि मुद्रास्फीति दर बढेर ३ प्रतिशत पुग्ने अनुमान गरेका छन् ।

मुद्रास्फीति दर वृद्धि भए पनि बैंक अफ जापानले विस्तारकारी मौद्रिक नीति नै अवलम्बन गरेको छ । बढ्दै गएको मुद्रास्फीति दरले बैंक अफ जापानले अनुमान गरेको समय भन्दा लामो समयसम्म महंगी कायम रहीरहने सूचना प्रवाह गरेको अर्थशास्त्रीहरुले बताएका छन् ।

यसै सन्दर्भमा नोरिनचुकिन रिजर्च संस्थानका प्रमुख अर्थशास्त्री टाकेसी मिनामीले कमजोर हुँदै गएको येनले जापानमा महंगी बढाएको र अक्टोबर महिनासम्ममा महंगी दर बढेर ३ प्रतिशत पुग्ने बताएका छन् । आगामी वर्ष पनि मुद्रास्फीति दर २ प्रतिशतभन्दा माथि नै रहने भएपछि बैंक अफ जापानले मूल्यवृद्धिलाई लिएर बनाएको धारणा परिवर्तन हुने उनको भनाई छ ।

जुलाई महिनामा २.४ प्रतिशत रहेको मुद्रास्फीति दर अगस्ट महिनमा बढेर २.८ प्रतिशतमा उक्लिएको हो । सन् २०१४ को अक्टोबर महिना पछि यो अनुपातमा मूल्यवृद्धि नभए पनि बढ्दै गएको खाद्यान्न तथा इन्धनको मूल्यले मूल्यवृद्धि दर बढाउन भूमिका खेलेको बताइएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।