उडान नहुँदा कर्णालीका यात्रु नेपालगञ्जमा अलपत्र   


हवाई उडान नहुँदा कर्णालीको दुर्गम जिल्ला जाने यात्रुले विजयादशमी, शुभदिपावली र छठ पर्वमा घर जान सकेका छैनन् । उनीहरु नेपालगञ्जमै अलपत्र परेका छन् ।    
    
हुम्लाको सिमिकोटका लागि एकमात्र यातायातको साधन हवाइयात्रा रहेकाले निजी कम्पनीले काठमाण्डौंमा उडान केन्द्रित गरेपछि यात्रु नेपालगञ्जमै थन्किएका छन् । हाल नेपालगञ्जबाट कर्णालीका हिमाली जिल्लामा उडान भर्न समिट एयरको एक मात्र जहाज छ । समिट एयरको जहाज पर्खिरहेका यात्रु निराश अवस्थामा विमानस्थलमा भेटिन्छन् ।    
    
हुम्लाका लागि टिकट लिन विमानस्थल पुगेका कोही पनि उड्न पाएका छैनन् । विमान कम्पनीका कर्मचारी टिकट पहिला नै प्याक भइसकेको जवाफ दिँदै आएका छन् । एक यात्रुले आक्रोश पोख्दै भने, “भनसुन गर्न सक्ने उडे, हामी फर्कन बाध्य भयौँ ।”   
    
निजी विमान कम्पनीसहित सरकारी कम्पनी नेपाल एयरलाइन्सको विमान पनि नेपालगञ्जमा उपलब्ध छैन । नेपाल एयरलाइन्सको विमानस्थलस्थित काउन्टर बन्द छ । सर्वसाधारण निराश भएर फर्किनु परिरहेको छ । निजी तारा एअरको जहाज काठमाडौँमा रहेकाले झनै सास्ती व्यहोर्नु परिरहेको यात्रुहरु बताउँछन् । रासस

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ असाेज २०७९, आइतबार  १६ : ०२ बजे