जीवन बीमा कम्पनीहरुद्धारा पौने ३६ अर्ब बीमाशुल्क संकलन, एलआईसीलाई टक्कर दिँदै नेशनल लाइफ

0
Shares

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म (साउन–असोज) मा ३५ अर्ब ७७ करोड ६८ लाख ५७ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।  बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार १ करोड ३८ लाख ८३ हजार २५६ वटा बीमालेख जारी गरेर उक्त रकम संकलन गरेका हुन् ।

पहिलो त्रैमासमा नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक बीमाशुल्क संकलन गर्दा महालक्ष्मी लाइफ इन्स्योरेन्स सबैभन्दा पुछारमा रहेको छ । तथ्याङ्क अनुसार नेपाल लाइफले १० अर्ब ४ करोड ८८ लाख ९ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गर्दा सबैभन्दा कम संकलन गरेको महालक्ष्मीले ४० करोड ५२ लाख ९२ हजार रुपैयाँ संकलन गरेको छ ।

दोस्रो ठूलो बीमाशुल्क लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले संकलन गरेको छ । एलआईसीले असोजसम्म ४ अर्ब ५१ करोड ७४ लाख ७४ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । तेस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले पहिलो त्रैमासमा ४ अर्ब ३८ करोड ४ लाख ८ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । चालु आवको पहिलो त्रैमासमा नेशनल लाइफले एलआईसीलाई टक्कर दिँदै अगाडि बढेको छ । नेशनल बीमशुल्कका आधारमा नेशनल लाइफभन्दा १३ करोड ७० लाख मात्र पछाडि छ ।

यस्तै धेरै बीमा व्यवसाय गर्ने अन्य कम्पनीहरुमा युनियन लाइफ, एशियन लाइफ, सिटिजन्स लाइफ, सूर्या लाइफ, मेट लाइफ, प्राइम लाइफ, राष्ट्रिय बीमा संस्थान र सन नेपाल लाइफ रहेका छन् । यी आठ कम्पनीहरुले चालु आवको पहिलो तीन महिनामा एक अर्बभन्दा धेरै बीमाशुल्क संकलन गरेका छन् ।

तथ्याङ्कअनुसार युनियन लाइफले १ अर्ब ९१ करोड ४२ लाख ९९ हजार रुपैयाँ, एशियन लाइफले १ अर्ब ७४ करोड ३४ लाख ६९ हजार रुपैयाँ, सिटिजन्स लाइफले १ अर्ब ४७ करोड ११ लाख १ हजार रुपैयाँ, सूर्या लाइफले १ अर्ब ३२ करोड ४४ लाख ८२ हजार रुपैयाँ, मेट लाइफले १ अर्ब ३१ करोड १ लाख ७९ हजार रुपैयाँ, प्राइम लाइफले १ अर्ब १६ करोड १४ लाख ४४ हजार रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले १ अर्ब ११ करोड ६७ लाख २९ हजार रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब ८१ लाख १ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

थप आठ जीवन बीमा कम्पनीको कुल बीमाशुल्क संकलन एक अर्बभन्दा कम रहेको छ । प्राधिकरणका अनुसार बाह्रौ ठूलो बीमाशुल्क उठाएको ज्योति लाइफले ९५ करोड १८ लाख ७६ हजार रुपैयाँ, रिलायबल नेपाल लाइफले ८९ करोड ३१ लाख ७९ हजार रुपैयाँ, आईएमई लाइफले ८७ करोड १४ लाख ५९ हजार रुपैयाँ, रिलायन्स लाइफले ७८ करोड ८० लाख १६ हजार रुपैयाँ र गुराँस लाइफको कुल बीमाशुल्क संकलन रकम ७५ करोड ७ लाख ७ हजार रुपैयाँ रहेको छ ।

यस्तै साउनदेखि असोजसम्ममा सानिमा लाइफले ५८ करोड २५ लाख ६७ हजार रुपैयाँ, प्रभु लाइफले ५३ करोड ७२ लाख ६६ हजार रुपैयाँ र महालक्ष्मी लाइफले ४० करोड ५२ लाख ९२ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको बीमा प्राधिरकणले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।