प्राविधिकका कारण पुनर्निर्माणमा असर नपर्ने


 

काठमाडौं, वैशाख १६

पुनर्निर्मणमा संलग्न प्राविधिकका कारण काम नरोकिने भएको छ । कार्यरत प्राविधिकहरु काममा फर्कन सहमत पुनर्निमाणको काम सुचारु हुने भएको हो ।
नेपाल इन्जिनयर्स एशोसियसनको मध्यस्थातामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र प्राधिकरणमा कार्यरत प्राविधिकहरुबीच भएको छलफलमा प्राविधिकहरुले आफूहरुका माग सम्बोधन भइसकेकाले तत्काल काममा फर्कने भएका हुन ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपीडित जनताको संवेदनशीलता र पुनर्निर्माणको महत्वलाई विशेष ध्यान दिइ काममा लाग्न र गाउँपालिका तथा नगरपालिकाहरुमा पुनर्निर्माण कार्यको नेतृत्व लिन प्राविधिकहरुलाई निर्देशन दिए ।

काममा नगइ व्यवसायिक मूल्य मान्यता कायम गर्न नसकेको भेटिए राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विभागीय कारवाही समेत गर्ने भएको छ । ’प्राविधिकहरुका माग सम्बोधन भैसकेको अवस्थामा सम्पूर्ण प्राविधिक साथीहरु प्रतिबद्ध भइ काममा लाग्नेछन् । यदि आगामी दिनमा काममा नगई व्यवसायिक मूल्य मान्यता कायम गर्न नसकेको भेटियो भने त्यस्ता प्राविधिकहरुलाई राष्ट्रिय पुर्निर्माण प्राविधिकरणले विभागीय कार्वाही गर्न सक्ने निर्णय नै गरीएको छ ।

नेपाल इन्जिनियर्स एशोसियसनका महासचिव छविराज पोख्रेलले इन्जिनियरिङ पेशाको गरिमालाई बढाउने गरी काम गर्न आग्रह गर्दै पुनर्निर्माणको कार्यलाई ढिला गर्न र अल्झाउन प्राविधिकहरुलाई छुट नभएको बताए ।

प्राविधिक अविनाश अमरले मागहरु पूरा भएकोमा सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्व र नेपाल इन्जिनियर्स एशोसियसनका पदाधिकारीहरुलाई धन्यवाद दिउका थिए ।

प्राविधिकहरुले अतिरिक्त भत्ता र सुविधाको माग राखी आन्दोलन गर्दै आएकोमा गत हप्ता बसेको मन्त्रिपरिषद्को बैठकले पुनर्निर्माणमा कार्यरत प्राविधिकहरुलाई अतिरिक्त भत्ता र सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो ।

नेपाल इन्जिनयर्स एशोसियसनको मध्यस्थातामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र प्राधिकरणमा कार्यरत प्राविधिकहरुबीच भएका छलफल तथा निर्णयहरु यहाँ संलग्न गरिएको छ ।