काठमाडौँ । बेलायतले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजामा आवेदन दिने विद्यार्थीहरूका लागि नयाँ आर्थिक मापदण्ड लगाउने भएको छ । बेलायतले पढ्न आउने अन्तराष्ट्रिय विद्यार्थीहरुका लागि मेन्टेनेन्स रिक्वारमेन्ट फण्ड (जीवनयापन खर्च) ३६९ पाउण्डले बढाएको हो ।
हाल लन्डनमा अध्ययनरत विद्यार्थीले १ हजार ५ सय २९ अधिकतम नौ महिनासम्म (प्रतिमहिना) देखाउनुपर्छ । तर, नोभेम्बर ३० देखि बढेर १ हजार ५ सय ७० (प्रतिमहिना) देखाउनु पर्ने छ ।
नयाँ आर्थिक मापदण्ड ३० नोभेम्बर भन्दा पछि भिसा आवेदन दिने विद्यार्थीमा लागु हुनेछ । यस्तै, आवश्यक पर्ने सम्पूर्ण रकम बैंक खातामा निरन्तर कम्तीमा २८ दिनसम्म कायम रहेको हुनुपर्छ र बैंक स्टेटमेन्ट अनलाइन आवेदन दिएको मितिभन्दा ३१ दिनभित्रको हुनुपर्छ ।
यस्तै, नोभेम्बर ३० देखि नौ महिना वा सोभन्दा बढी समयसम्म चल्ने कोर्सका लागि अधिकतम रकम १३ हजार ७ सय ६१ पाउण्डबाट बढेर १४ हजार एकसय ३० पाउण्ड हुनेछ ।
लन्डन बाहिर अध्ययनरत विद्यार्थीहरूलाई हाल प्रति महिना १ हजार १७१ पाउण्ड आवश्यक छ । यो अब प्रति महिना एक हजार २ सय ३ सम्म बढ्नेछ जसले गर्दा अधिकतम नौ महिनाका लागि आवश्यक रकम १० हजार ५ सय ३९ बाट १० हजार ८ सय २७ पाउण्ड पुग्नेछ ।
हाल बेलायतमा करिब २.८६ मिलियन विद्यार्थी अध्ययनरत रहेको र तीमध्ये करिब ७ लाख अन्तरराष्ट्रिय विद्यार्थी रहेका छन् ।
बेलायती उच्च शिक्षा तथ्यांक निकाय (HESA) को तथ्यांकअनुसार शैक्षिक सत्र २०२४/२५ मा बेलायतका विश्वविद्यालयहरूमा २४ हजार ४३५ जना नेपाली विद्यार्थी भर्ना भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ९२ प्रतिशतले बढी हो ।
ब्रिटिस युनिभर्सिटिज इन्टरनेशनल लाइजन एसोसिएसन (BUILA) को सर्वेक्षणअनुसार बेलायतका कडा भिसा नियमहरूका कारण शैक्षिक सत्र २०२५÷२६ मा समग्र अन्तर्राष्ट्रिय विद्यार्थी भर्नामा केही गिरावट आएको देखिएको छ ।
‘सस्तो विश्वविद्यालय छान्नुको विकल्प छैन’
पछिल्लो समय विभिन्न देशले विद्यार्थी भिसामा कडाइ गरिरहेका बेला बेलायतले पनि शुल्क बढाएको स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) का सचिव राजकुमार ढकाल (आर.के ढकाल)ले बताए ।
’अहिले विभिन्न देशले भिसा नीतिमा कडाइ गरिरहेका छन् । यस्तो अवस्थामा महँगो भए पनि नेपाली विद्यार्थीले बेलायतलाई प्राथमिकतामा राख्ने गरेका छन्,’ ढकालले भने, ।
मेन्टेनेन्स फन्ड बढेको अवस्थामा विद्यार्थीलाई तुलनात्मक रूपमा कम शुल्क भएका विश्वविद्यालय छनोट गर्न सुझाव दिनुपर्ने ढकालले बताए । विद्यार्थीको शैक्षिक योग्यता र अंग्रेजी भाषाको दक्षता सुधारमा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ ।
’सकेसम्म कम शुल्क भएका विश्वविद्यालयलाई प्राथमिकता दिनुपर्छ । साथै विद्यार्थीले आफ्नो शैक्षिक योग्यता र अंग्रेजी भाषाको दक्षता पनि सुधार गर्दै जानुपर्छ,’ उनले भने ।
बेलायतको पढाई उत्कृष्ट तीनमध्ये एक भएकोले नेपालीहरुको रोजाइमा बेलायत पर्न गएको उनले बताए । अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त डिग्री, गुणस्तरीय शिक्षा र अध्ययनपछिका अवसरका कारण नेपाली विद्यार्थी बेलायतप्रति आकर्षित हुने गरेका छन् । उनले भने, ‘बेलायतको शिक्षा पनि राम्रो छ । प्रतिस्पर्धात्मक रूपमा हेर्दा विश्वका उत्कृष्ट तीनभित्रै पर्छ भन्न सकिन्छ ।’
तर, बेलायतले विद्यार्थी भिसाका लागि आवश्यक आर्थिक मापदण्ड बढाउँदै लैजाँदा त्यहाँ अध्ययन गर्न चाहने नेपाली विद्यार्थी थप आर्थिक दबाबमा पर्ने देखिएको उनी बताउँछन् । विशेषगरी सीमित आर्थिक स्रोत भएका विद्यार्थीका लागि बढ्दो खर्च र आर्थिक मापदण्ड पूरा गर्नु चुनौतीपूर्ण बन्ने उनको बुझाई छ ।
शुल्क बढाएपनि विद्यार्थी भिसामा गएर काम गर्छु भन्नेलाई सजग हुन सुझाव
बेलायतमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीले कामलाई भन्दा पढाइलाई प्राथमिकता दिनुपर्ने ढकालको सुझाव छ ।
‘पछिल्लो समय बेलायत जान्छु शुल्क जति भएपनि तिर्छु भन्दै जाने बढेका छन् । तर, अहिले बेलायतमा विद्यार्थीहरुको समय नमिल्ने भएकोले पनि काम पाउन मुस्किल छ ।’ उनले भने,‘उता गएर काम खोज्ने भन्दा पनि नेपनलबाटै पढ्ने शुल्कदेखि बस्नेसम्मको व्यवस्था गरेर जान आग्रह छ ।’
विद्यार्थीहरू अध्ययनका लागि जाने भएकाले कामलाई मुख्य उद्देश्य बनाएर विदेश जान नहुने उनले बताए ।
’विद्यार्थी पढ्नका लागि जाने हो, कामका लागि होइन । काम पाइएन भनेर गुनासो गर्नुभन्दा आफ्नो मुख्य उद्देश्य अध्ययन हो भन्ने बुझ्नुपर्छ,’ उनले भने, ’काम पाइने अवस्था भए पनि आफूले अपेक्षा गरेजस्तो सहज भने छैन ।’
उनका अनुसार विद्यार्थीले अध्ययन पूरा गरेपछि आफ्नो शैक्षिक योग्यता र कोर्सअनुसार अगाडि बढ्ने अवसर प्राप्त गर्न सक्छन् । त्यसैले विद्यार्थी तथा अभिभावकले बेलायत जानुअघि नै अध्ययनको उद्देश्य, विश्वविद्यालयको शुल्क र आफ्नो आर्थिक क्षमताबारे स्पष्ट हुनुपर्ने उनको सुझाव छ ।
एनओसी लिने र बाहिरिने रकममा तीव्र वृद्धि
आर्थिक वर्ष २०५१/०५२ मा नेपालबाट वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीहरुको संख्या ९७८ जना थियो । त्यसपछिको एक दशकमा पनि यो संख्यामा धेरै वृद्धि भएको थिएन । आव २०६०\०६१ मा नेपालबाट २ हजार ८२३ जना विदेश अध्ययनका लागि गएका थिए ।
आर्थिक वर्ष २०८२/८३ मा १ लाख १४ हजार ९२४ वटा वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) जारी भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पछिल्लो तथ्यांक (साउन र भदौ महिनाको विवरण) अनुसार उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीहरूले दुई महिनामै २९ अर्ब ५५ करोड रुपैयाँ विदेशी मुद्रा बाहिर लगेका छन् ।
अघिल्लो आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा यस वर्ष शिक्षा शीर्षकमा बाहिरिने रकममा ९.८ प्रतिशतले कमी आएपनि बेलायत र अन्य देशको विद्यार्थी भिसाको कडाई र शुल्क वृद्धिले शैक्षिक क्षेत्रका बाहिरिने रकम बढ्ने देखाएको छ ।
२०८३ साउन र भदौ महिनामा अध्ययनका लागि मात्रै २९ अर्ब ५५ करोड रुपैयाँ बाहिरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ३२ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै शिक्षा शीर्षकमा १० अर्ब ८० करोड रुपैयाँ बाहिरिएको थियो । अघिल्लो वर्षको साउनमा यो रकम १४ अर्ब ३१ करोड रुपैयाँ थियो ।
भदौ महिनामा मात्रै विद्यार्थीहरूले थप १८ अर्ब ७५ करोड रुपैयाँ विदेश लगेका छन् । दुई महिनामा नेपालबाट कुल ४१ अर्ब १० करोड रुपैयाँ भ्रमण व्यय बापत बाहिरिएको छ । जसमध्ये करिब ७१.९ प्रतिशत हिस्सा वैदेशिक अध्ययनमा मात्र खर्च भएको देखिन्छ ।







