अर्बौंको इन्धन आयात रोक्न विद्युतीय सवारी साधनको प्रोत्साहनमा अर्थमन्त्री पौडेलको आग्रह


उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारी साधनको प्रयोग बढाउन उपभोक्ता तथा व्यवसायीलाई आग्रह गरेका छन् । अहिले अर्बौ रुैियाँको इन्धन आयात भईरहेको भन्दै त्यसको न्युनीकरणका लागि विद्युतीय सवारी साधनको प्रयोगमा मन्त्री पौडेलले जोड दिएका हुन् ।

नाडा अटोमाबाइल्स एशोसिएसनको ४६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले सवारी सानको प्रयोग विलासिता नभई अत्यावश्यक भएको बताएका हुन् ।

नाडाका अध्यक्ष ध्रुब थापाले सरकारले अटोमोबाइलका साधनहरुलाई विलासिताको साधनका रुमा लिइँदै आएको भन्ने भनाईको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले विद्युतीय सवारीको उपभोग बढाउनुपर्ने र यसका लागि धेरै ठाउँमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याईने बताए । इन्धनको लागि विदेशिने ठूलो परिमाणको विदेशी मुद्रा नेपालमा नै रोक्न विद्युतीय सवारी साधनको प्रयोग अपरिहार्य रहेको उनको भनाई थियो ।

कुनै समय मोबाइल फोनलाई पनि विलासिताको बस्तु मानिएको उदाहरण दिँदै अहिले मोबाइल सबैैको अनिवार्य बने जसरी समयक्रम अनुसार एक पटकको विलासी वस्तु सधैंको विलासी नहुने मन्त्री पौडेलको भनाई थियो ।

आर्थिक समृद्धिको लागि अटोमोबाइल क्षेत्रको भूमिका महत्वपूर्ण हुने र यस क्षेत्रमा व्यवसायीहरुबाट हुँदै आएको प्रयास सार्थक भएको उनको भनाई थियो । व्यवसायीका सुझाव सम्बोधन गर्न प्रयासरत रहने समेत पौडेले बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र सङ्कुचित हुँदै गएको बताउँदै यसबाट राजस्व खुम्चिने र रोजगारी घट्ने तर्क प्रस्तुत गरेका थिए । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धबार्षिक समिक्षामा केही सकारात्मक विषयहरु समेटेको बताउँदै अध्यक्ष गोल्छाले अहिलेका अर्थतन्त्रका केही सूचकहरु सकारात्मक देखिएको र भावी अर्थतन्त्रलाई बलियो बनाउन राज्यले पनि केही जोखिम लिनुपर्ने धारणा राखेका थिए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकार र निजी क्षेत्र सँगसँगै मिलेर जान सकेको खण्डमा मात्र समृद्धिको लक्ष्य पूरा हुन सक्ने बताएका थिए । अहिले सरकारलाइ धेरै निकायमा विभिन्न शिर्षकमा कर तिर्नु पर्ने स्थितिले व्यवसायीलाइ सास्ती भएको भन्दै उनले एकद्वार प्रणालीबाट सेवा सञ्चालन गर्नु पर्ने माग गरेका थिए ।

नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष राजेशकुमार अग्रवालले सरकारले व्यवसायीहरुको मनोबल उच्च बनाउने खालका कार्यक्रमहरु ल्याउनु पर्ने माग गर्दै अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको नेपालको अटोमोवाइल क्षेत्र अघि बढन नसके देश अघि बढन नसक्ने बताएका थिए ।

नाडाका अध्यक्ष ध्रुव थापाले अटोमोबाइल व्यवसाय अहिले ईतिहासकै कमजोर अवस्थामा रहेको र स्थिति अझै सुधार हुन नसकेको बताएका थिए । थापाले सरकारको बुझाईमा अझै पनि अटोमोबाइल क्षेत्र विलासिताको क्षेत्र हुने गरेकोे भए पनि पछिल्ला बर्षहरुमा नेपालमा नै सवारी साधनहरुको एसेम्बलिङ उद्योग खोल्ने कार्यको समेत शुरुवात भईसकेको, ब्याट्री र टायर ट्युव लगायतका सामानहरु नेपाल मै उत्पादन भईरहेको बताउदै अटोमोवाइल स्पेयर पार्टस र एसेसरिजहरु उत्पादनको राम्रो सम्भावना रहेको स्मरण गराएका थिए । राज्यले दीर्घकालीन नीति ल्याउन सकेको खण्डमा छिमेकी ठूला मुलुकहरु भारत र चीनमा हाम्रो लागि उत्पादित सामान बजारीकरणको लागि नयाँ बजार बन्न सक्ने उल्लेख गर्दै यस क्षेत्रबाट ठूलो मात्रामा राजस्व र रोजगारी पनि सिर्जना गर्न सकिने थापाले बताएका थिए ।

अटोमोबाइल क्षेत्रमा झण्डै १ खर्ब बढी लगानी भइसकेको बताउँदै थापाले पारदर्शी रुपमा कर तिर्ने व्यवसाय पनि अटोमोवाइल नै रहेको बताए । नेपालमा औद्योगिक विकास र समृद्धिको लागि समेत यातायातको भुमिका महत्वपूर्ण हुने भन्दै उनले कृषि, पर्यटन, जलविद्युत लगायतका प्राथमिकता प्राप्त क्षेत्रको विकासका लागि पनि यातायात क्षेत्रको गुणात्मक विकास अपरिहार्य रहने बताए । थापाले भारत लगायतका ठूला मुलुकको बाह्य लगानी ल्याउनको लागि व्यवस्थित सेज स्थापनाको माग समेत गरेका छन ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं बस्तुगत परिसदका सभापति अन्जन श्रेष्ठले नेपालको अर्थतन्त्र एवं अटोमोबाइल क्षेत्रको भूमिकालाई बुझेर समाधानको प्रयास गर्न सरकार तयार नहुने अवस्थाप्रति गुनासो गरेका थिए ।

साधारण सभाको अवसरमा नाडाले राजधानीको ट्राफिक व्यवस्थापनमा उत्कृष्ट योगदान दिने ४ जना ट्राफिक प्रहरीहरुलाई कदरपत्रबाट सम्मानित गरेको थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।